महेन्द्र अनुपस्थित हुने भएपछि महन्थबाट सांसदलाई शपथ

महेन्द्र अनुपस्थित हुने भएपछि महन्थबाट सांसदलाई शपथ


प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्षमण्डलका अध्यक्ष महन्थ ठाकुरले ज्येष्ठ सदस्यको हैसियतमा पद तथा गोपनीयताको शपथ गराउने भएका छन् ।

नागरिकताका हिसाबले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राजपाका नेता महेन्द्रराय यादव आजको शपथ कार्यक्रममा उपस्थित हुन नसक्ने भएपछि सांसद ठाकुरलाई यो अवसर जुरेको बताइएको छ । नेता यादवले शपथमा आफू उपस्थित हुन नसक्ने भनी संघीय सचिवालयलाई जानकारी दिएपछि उनपछिका ज्येष्ठ सदस्य ७५ वर्षीय ठाकुरले शपथ गराउने निश्चित भएको सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जनाएका हुन् ।

विश्वस्त सुत्रका अनुसार महेन्द्र राययादवको नागरिताअनुसार उमेरमा विवाद हुने भएपछि उनलाई संसदमा अनुपस्थित गराएर महन्थ ठाकुरबाट शपथ गराइने व्यवस्था मिलाइएको हो ।

अध्यक्ष ठाकुरलाई आजै राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराउने कार्यक्रम छ। सभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने कानूनी प्रावधान छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा भएको थियो । राष्ट्रपति भण्डारीबाट सरकारको सिफारिसमा फागुन २१ गते संघीय संसद्को पहिलो बैठक आह्वान भएको छ। त्यसअघि आज दुवै सदनका सदस्यको शपथ हुन लागेको हो ।