इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा भोलि सोमबार अपराह्न राजधानी आउँदै छन् । पूर्वनिर्धारित कार्यक्रमअनुसार सोमबार २ बजेतिर प्रधानमन्त्री अब्बासीको काठमाडौं आगमन हुनेछ ।
भ्रमणका क्रममा पाकिस्तानी प्रधानमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नुका साथै प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग समेत भेटघाट गर्ने भएका छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पाकिस्तानी समकक्षीसँग सोमबार नै पारस्परिक हित र चासोका द्विपक्षीय विषयमा विचारविमर्श गर्नेछन् भने प्रधानमन्त्री अब्बासीको सम्मानमा रात्रिभोजको आयोजना पनि सोही दिन गरिने कार्यक्रम तय गरिएको छ ।
प्रधानमन्त्री ओलीलाई प्रत्यक्ष भेटेर बधाई दिने भन्दै प्रधानमन्त्री अब्बासी नेपाल आउन लागेका हुन् । पाकिस्तानी प्रधानमन्त्रीको आकस्मिक प्रकृतिको यस भ्रमणलाई रहश्यमयी मानिएको छ । भ्रमण पूरा गरी फागुन २२ गते ११ बजे स्वदेश प्रस्थान गर्नुअघि अब्बासीले प्रचण्डसँग पनि उनले भेटवार्ता गर्नेछन् ।
प्रतिक्रिया