फागुन २७ गते विश्वासको मत लिँदै प्रम ओली

फागुन २७ गते विश्वासको मत लिँदै प्रम ओली


नियुक्त भएको एक महिनाभित्र संसदबाट विश्वासको मत हासिल गर्नुपर्ने संवैधानिक प्रावधानबमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिको आजको बैठकमा सो मितिमा सहमति भएको संघीय संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिएका छन् ।

प्रधानमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने प्रावधान संविधानको धारा ७६)४) मा व्यवस्था छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेकपा (एमाले)का अध्यक्ष तथा प्रतिनिधिसमाभा नवनिर्वाचित सदस्य ओलीलाई यही फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त गरिएको थियो ।

बैठकले दुवै सदनका सभामुख र उपसभामुख तथा अध्यक्ष र उपाध्यक्षको निर्वाचनको तालिकासमेत स्वीकृत गरेको छ । निर्वाचन तालिकानुसार सभामुखको निर्वाचन फागुन २६, राष्ट्रियसभाका अध्यक्षको निर्वाचन फागुन ३०, उपसभामुखको निर्वाचन आगामी चैत २ र राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत ४ गतेका लागि निर्धारण भएको छ ।