सशंकित नहुन राजपालाई मन्त्री साहको आग्रह

सशंकित नहुन राजपालाई मन्त्री साहको आग्रह


– हेमशंकर सिंह

सप्तरी । प्रदेश नम्बर २ सरकारका कृषि सहकारी तथा भुमि व्यवस्थापन मन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेश नम्बर २ का सत्ता–साझेदार दल राजपालाई फोरमप्रति सशंकित नहुन आग्रह गरेका छन् । केन्द्र सरकारमा फोरम नेपाल जाने स्थिति बन्दै गएका बेला प्रदेश नम्बर २ को सत्ता समीकरण फेरिने हो कि भन्ने स्थिति उत्पन्न भइरहेको बेला मन्त्री साहको यस्तो अभिव्यक्ति आएको हो ।

राजपालाई सशंकीत नहुन आग्रह गर्दै मन्त्री साहले भने– ‘हाम्रो चुनावी गठबन्धन थियो तर फोरम केन्द्र सरकारमा गएपनि २ नम्बर प्रदेशमा सहकार्य जारी रहने छ ।’

नेपाल पत्रकार महासंघ शाखा सप्तरीले आइतबार राजविराजमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै मन्त्री साहले प्रदेश नम्बर २ मा राजपासँग सहकार्य जारी रहने बताए । पूर्णता पाउन लागेको वामगठबन्धनको सरकारमा सहभागी हुन आज फोरम र वाम गठबन्धनबीच काठमाडौंमा निर्णायक वार्ता भइरहेको जानकारी दिँदै मन्त्री साहले संविधान संशोधनमा सहमति जुटे फोरम केन्द्र सरकारमा सहभागी हुने दाबी गर्नुभयो ।

बाल्यकालदेखि नै आफूले देश कृषि प्रधान रहेको सन्दै आएको विगतका सरकारले कृषिमा लगानी नगरेको आरोप लगाउँदै मन्त्री साहले मधेशमा कृषि क्रान्तिबाटै आर्थिक समृद्धि हुने भएकाले कृषिलाई सम्मानित पेशाको रुपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे । मधेशको ८० प्रतिशत भन्दा बढी उब्जाउ जमिनमा सिँचाई नपुगेको दाबी गर्दे मन्त्री साहले सशासन, विकास, सिँचाई, सडक र मधेशको समृद्धि प्रदेश सरकारको प्राथमिकता रहेको जानकारी दिए ।

मधेश आन्दोलनको जगबाट संघीयता स्थापित भएको दाबी गर्दै मन्त्री साहले संघीयताको सफलता र असफलता २ नम्बर प्रदेशमै निर्भर रहेको बताए । उनले भने, ‘राष्ट्र र अन्तर्राष्ट्रिय जगतको आँखा प्रदेश नम्बर २ मै रहेको छ, तर संघीयता सफल र असफल २ नम्बर प्रदशेबाटै किन हुने त्यसको कारण चाहि उहाँले खुलाउनु भएनन् ।’

केही समय आफू पनि पत्रकारितामा रहेकाले मोफसलका पत्रकारको समस्यासँग आफू परिचित रहेको र यी समस्यालाई प्रदेश सरकारले गम्भीरतापूर्वक लिई समाधान गर्दै आश्वासन पनि उनले दिए । संघीय समाजवादी फोरम नेपालको राजनीतिक समितिका सदस्य रहेका मन्त्री साह नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सदस्य समेत हुन् ।