प्रतिनिधिसभा सदस्यद्वारा शपथ ग्रहण

प्रतिनिधिसभा सदस्यद्वारा शपथ ग्रहण


संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सांसदहरुलाई आज अपराह्न संघीय संसद भवन, नयाँ बानेश्वरस्थित प्रतिनिधिसभाको सभाहलमा शपथ गराएका हुन् ।

शपथपछि सबै सांसदले संघीय संसद सचिवालयबाट प्राप्त सांसदको लोगो लगाएका थिए । यसलगत्तै सांसदहरु सचिवालयद्वारा आयोजित जलपान कार्यक्रममा सहभागी भएका थिए। शपथ लिन सांसदहरु राष्ट्रिय तथा आफ्ना पहिचान झल्कने पोशाकमा आएका थिए ।

नेपालको संविधानको धारा ८४ मा प्रतिनिधिसभा गठनबारे व्यवस्था छ । प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिकतर्फ ११० गरी २७५ सदस्य छन् । संसदको पहिलो बैठकमा सहभागी हुनुअघि उनीहरुले आज शपथ लिएका हुन् ।

राष्ट्रपति भण्डारीबाट नेपालको संविधानबमोजिम सरकारको सिफारिशमा भोलि फागनु २१ गते संघीय संसदको पहिलो बैठक आह्वान गरिएको छ । निर्धारित कार्यक्रम बमोजिम फागुन २१ गते अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदनको पहिलो बैठक एकै समयमा आ–आफ्ना सभाहलमा बस्दैछ ।

प्रतिनिधिसभामा नेकपा एमालेका १२१, नेपाली कांग्रेसका ६३, नेकपा (माओवादी केन्द्र) ५३, संघीय समाजवादी फोरम नेपालका १७, राष्ट्रिय जनता पार्टी नेपालका १६ तथा नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक-एक र स्वतन्त्र एक सांसद छन् ।

प्रतिनिधिसभाका ३८ सदस्यले आफ्नो मातृभाषा (भोजपुरी, मैथिली, अवधि, तामाङ, थारु, मगर र हिन्दी)मा शपथ लिएका राससले जनाएको छ । प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको थियो ।

केही कानुनी अड्चनका कारण निर्वाचन भएको तीन महिनापछि मात्र प्रतिनिधिसभाका सदस्यलाई शपथ ख्वाउने काम भएको छ । दुबै सदनमा प्रत्येक दलबाट कम्तीमा एक तिहाई महिला सदस्य हुनुपर्ने कानुनी बाध्यताका कारण राष्ट्रियसभाको निर्वाचनपछि मात्र निर्वाचन आयोगले प्रतिनिधिसभाको अन्तिम मतपरिणाम सार्वजनिक गरेको हो । उनन्साठी सदस्यीय राष्ट्रियसभाको निर्वाचन गत माघ २४ गते सम्पन्न भएको थियो ।

तस्बिर रासस