आज कांग्रेसले आफ्नो संसदीय दलको नेता छान्ने भएका छन् । नेता चयनका लागि अहिले बिहान १० बजेदेखि चुनाव शुरु हुँदैछ ।
पार्टी सभापति समेत रहेका शेरबहादुर देउवा र प्रकाशमान सिंहबीचको सहमतिका आधारमा संसदीय दलको नेता छान्ने प्रयास विफल भएपछि कांग्रेसले चुनावमार्फत नेता छान्न लागेको हो ।
सिंहलाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहको समेत समर्थन रहेको छ । कांग्रेस संसदीय दलको कार्यालय परिसर, सिंहदरबारमा अहिले बिहान १० देखि दिनको १ बजेसम्म मतदान हुने संसदीय दलको नेता छान्न गठित निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार मतदान सम्पनन भएसँगै मतगणना सुरु गरिने छ ।
कुल २७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् । संस्थापन पक्षले आफूहरूको बहुमत रहेकाले देउवाले नै जित्ने दावी गरेको छ । तर सिंह समुहले भने सभापति देउवाका कारण अघिल्ला निर्बाचनहरुमा पार्टीले धोका खाएकोले उनलाई दलको नेता दिन नहुने भन्दै लविङ शुरु गरेको बुझिएको छ ।
सिटौलाबाट पनि भीमसेन दास प्रधान खुलेर देउवातिर लाग्दा गगन थापाको समर्थन भने सिंहलाई रहेको छ । यसले पनि भिडन्त अझै रोचक हुने देखिएको छ । काँग्रेसभित्र परिवर्तन खोजिएकाले निर्वाचनमा बेहोरेको हारलाई आत्मसात गर्दै देउवाले ठाउँ खाली गरिदिनुपर्ने तर्क गरिएको थियो ।
त्यसैगरी पाँच वर्षसम्म देउवा पुनः प्रधानमन्त्री बन्ने सम्भावना नभएकाले संसदीय दलको नेतामा अरुलाई ठाउँ दिन आग्रह गरिएको थियो । दलको नेतामा सर्वसम्मत नभएपछि भने महामन्त्री डा सशांक कोइराला ब्याक बसेका छन् ।
प्रतिक्रिया