कांग्रेस संसदीय दलका नेताको निर्वाचन : १ बजेपछि मतगणना

कांग्रेस संसदीय दलका नेताको निर्वाचन : १ बजेपछि मतगणना


सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा नेपाली कांग्रेस संसदीय दलको नेता छनोटका लागि मतदान जारी छ । बिहान १० बजेदेखि शुरु भएको मतदान अहिले १ बजेसम्म जारी रहने छ ।

उक्त निर्वाचनमा सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य प्रकाशमान सिंहबीच प्रतिस्पर्धा रहेको छ । देउवाको प्रस्तावकमा पार्टी नेता विजयकुमार गच्छदार छन् भने समर्थकमा मानबहादुर विश्वकर्मा रहेका छन् ।

त्यस्तै सिंहको प्रस्तावकमा सीतादेवी यादव छिन् भने समर्थकमा सञ्जय गौतम रहेका छन् । नेपाली कांग्रेसको प्रतिनिधिसभामा प्रत्यक्षतर्फ २३ र समानुपातिक तर्फबाट ४० जना सदस्य रहेका छन् ।

मतदान समाप्त भएलगत्तै मतगणना शुरु हुने निर्वाचन समिति संयोजक चिनकाजी श्रेष्ठले जनाएका छन् । दलको नेतामा सभापति देउवाको विजय निश्चितजस्तै मानिए पनि प्रकाशमानको उम्मेदवारीलाई देउवालाई चुनौती भन्दा पनि एक स्वस्थ प्रजातान्त्रिक अभ्यासको रुपमा हेरिएको छ ।