चुनौती दिने प्रकाशमानले दिए देउवालाई बधाई

चुनौती दिने प्रकाशमानले दिए देउवालाई बधाई


नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रकाशमान सिंहले आफ्नो पराजय स्वीकार गर्दै बधाई दिएका छन् भने देउवाद्वारा मत दिने सबैप्रति आभार व्यक्त गरिएको छ ।

कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा आज सम्पन्न मतदानमा सभापति देउवा कूल ६३ मतमध्ये ४४ मत प्राप्त गरी विजयी भएका थिए भने उनका प्रतिद्वन्द्वी पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहले १९ मत प्राप्त गरे ।

चार पटक प्रधानमन्त्री भइसकेका सभापति देउवा यो निर्वाचनपछि पुनः पार्टी संसदीय दलको नेता भउका छन्, उता नेता सिंह भने पार्टीको आन्तरिक निर्वाचनमा पहिलो पटक पराजित भएका हुन् ।

कांग्रेसका संस्थापक नेता महामानव विपी कोइरालालाई आफ्नो राजनीतिक प्रेरणाको स्रोत मान्ने सभापति देउवाले विगतमा नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष हुँदै पार्टीका विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालीसकेका छन् ।

यसैगरी, कांग्रेसका संस्थापक नेता लौहपुरुष गणेशमान सिंहका सुपुत्र नेता प्रकाशमान सिंह यसअघि पार्टीको जिल्ला सभापति, केन्द्रीय उपसभापति, महामन्त्री हुँदै सरकारका उपप्रधानमन्त्री भइसकेका छन् । पार्टीको १३ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित देउवा यसअघि पनि संसदीय दलको नेता थिए भने नेता सिंह १३ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

निर्वाचनपछि सभापति देउवाले निर्वाचनमा मतदान गर्ने सबैलाई धन्यवाद दिँदै लोकतान्त्रिक पार्टीमा लोकतन्त्रको जति बढी अभ्यास ग¥यो त्यति नै लोकतन्त्र बलियो हुन्छ भन्नेमा आफूले विश्वास लिएको अभिव्यक्ति दिए ।

यस्तै, मतदानपछि कुरा गर्दै नेता सिंहले पार्टीमा नेता कार्यकर्ताले नेतृत्व परिवर्तनको चाहना गरेबमोजिम आफूले उम्मेदवारी दिएको बताउँदै मतदान गर्ने सबैलाई धन्यवाद दिए ।

निर्वाचनपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सभापति देउवालाई बधाई तथा शुभकामना दिएका छन् । साथै, उनले नेता सिंहलाई प्रजातान्त्रिक प्रक्रियाअनुरुप निर्वाचनमा प्रतिस्पर्धा गर्नुभएको भन्दै धन्यवाद दिएका छन् ।

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् । पार्टीको संसदीय दलको विधानअनुसार संसदीय दल कार्यसमिति २६ सदस्यीय हुनेछ । संसदीय दलको नेताको निर्वाचनपछि मात्र संसदीय दल कार्यसमितिको निर्वाचन हुने सो पार्टी कार्यालयले जनाएको छ ।

राष्ट्रियसभा दलको नेता प्रतिनिधिसभाको संसदीय दलको नेताले नै तोक्ने काँग्रेस संसदीय दलको विधानमा उल्लेख छ । त्यस्तै, राष्ट्रियसभाका प्रमुख सचेतक प्रतिनिधिसभाको प्रमुख सचेतकको सिफारिशमा संसदीय दलको नेताले नै चयन गर्ने व्यवस्था रहेको छ । उनन्साठी सदस्यीय राष्ट्रियसभामा कांग्रेसका १३ सांसद छन् ।

तस्बिर रासस