राष्ट्रपतिमा भण्डारी कि खनाल ?

राष्ट्रपतिमा भण्डारी कि खनाल ?


आज दिउँसो ४ बजे एमाले स्थायी कमिटी बैठक बस्दैछ । बैठकले फागुन २९ गते हुने राष्ट्रपतिको निर्बाचनमा कसलाई उमेदवार बनाउने भन्ने विषयलाई टुंगोमा पुर्याउनेछ ।

राष्ट्रपतिको विषयलाई लिएर एमालेभित्र ध्रुविकरण शुरु भएको छ । पार्टीभित्र एकाथरी राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई दोहोर्याउन नहुने आवाज निकालेका छन् भने एकाथरी उनैलाई दोहोर्याउने पक्षमा उभिएका छन् ।

तर, एमालेका एक नेताले नाम नबताउने शर्तमा वरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्रपति बनाउन एउटा ठूलो टोली लबिङमा लागीपरेको बताए । उनका अनुसार सार्वजनिक रुपमै खनालले आफू राष्ट्रपतिको उमेद्वार भएको घोषणा गरिसकेकाले कुनैपनि हालतमा सहमति हुन सक्दैन ।

यसै विषयलाई लिएर एमालेमा भित्रभित्रै भुसको आगो सल्किएको छ । नेताहरु राष्ट्रपतिको विषयलाई लिएर गुट र उपगुटमा विभाजन भएका छन् । ति नेताका अनुसार पूर्व प्रधानमन्त्री समेत रहेका खनाललाई वामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, भीम आचार्य, योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, किरङ गुरुङलगायतको साथ रहेको छ भने प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीसँगै ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, सुवास नेम्वाङ, शंकर पोखरेल, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, मुकुन्द न्यौपानेलगायतका नेताहरु भण्डारीलाई पुनः राष्ट्रपतिमा दोहोर्याउने पक्षमा उभिएका छन् ।

यसले गर्दा पार्टीमा ठूलो ध्रुविकरण शुरु भएको नेताहरुले बताएका छन् । उता, पूर्व उपप्रधानमन्त्री माधव नेपाल राष्ट्रपति उम्मेदवारीको विषयमा बाहिरी रुपमा तटस्थ देखिएपनि भित्रि रुपमा खनाललाई समर्थन गर्ने बुझिएको छ । तर नेपालले राष्ट्रपति दोहोर्याउनुभन्दा नयाँ ब्यक्तिलाई स्थान दिनुपर्नेमा जोड दिएको एमाले नेताहरु बताउँछन् ।

उता, राष्ट्रपति भण्डारीले आफैं एकपटक दोहोर्याउने पक्षमा रहेकी छिन् । उनले यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बोलाएर यो पटक राष्ट्रपति र उपराष्ट्रपति पद दोहोर्याउनु पर्ने भन्दै आफ्नै पक्षमा उभिन आग्रह गरेकी थिइन् ।

तर एमालेभित्र भने एउटा ठूलो शक्ति भण्डारीलाई कुनैपनि हालतमा राष्ट्रपति बन्न नदिने खेलमा लागेको बुझिएको छ । उता, माओवादी केन्द्रभित्र पनि उपराष्ट्रपति पदका लागि हानथाप भइरहेको छ ।