पाकिस्तानी प्रधानमन्त्री र प्रचण्डबीच छलफल

पाकिस्तानी प्रधानमन्त्री र प्रचण्डबीच छलफल


नेपाल भ्रमणमा रहेका पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । आज बिहान होटेल हायातमा नेपाल र पाकिस्तानबीचको दुईपक्षीय सम्बन्धका विषयमा प्रधानमन्त्री अब्बासी र प्रचण्डबीच छलफल भएको हो ।

भेटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुई देशबीचको सम्बन्ध र आपसी चासोका विषयमा आफूहरुबीच छलफल भएको बताए । करिब ४५ मिनेट भएको भेटवार्तामा आर्थिक एवं व्यापारका विषयलाई सुदृढ गरेर लैजाने विषयमा विचारविमर्श भएको उनले जानकारी दिए ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले दुईपक्षीय एवं बहुपक्षीय विषयमा छलफल हुँदा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई गतिशील बनाउन सबै सदस्य राष्ट्रले पहल गर्नुपर्नेमा जोड दिइएको उल्लेख गरे । सार्कको विषयमा ठोस छलफल चाहिँ नभएको भन्दै उनले सार्क शिखर सम्मेलनलाई अगाडि बढाउने सन्दर्भमा पाकिस्तानले निरन्तर पहल गरिरहेको पाकिस्तानी प्रधानमन्त्रीलाई उद्धृत गर्दै प्रचण्डले जनाएका छन् ।

सो बैठकमा अध्यक्ष प्रचण्डसहित माओवादी केन्द्रका नेता एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा तथा जोखबहादुर महराको सहभागिता रहेको बताइएको छ ।

तस्बिर रासस