मध्यरातमा अन्तत: विद्याको नाममा सहमति

मध्यरातमा अन्तत: विद्याको नाममा सहमति


सत्ताको नेतृत्व गरिरहेको दल नेकपा (एमाले)ले मुलुकको तेस्रो राष्ट्रपतिमा वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई नै दोहोऱ्याउने भएको छ । एमाले स्थायी कमिटीको मंगलबार मध्यरातसम्म चलेको बैठकपछि विद्यादेवी भण्डारीलाई नै उम्मेदवार बनाउने निर्णय लिएको हो । राष्ट्रपतिको उम्मेदवार छनोटका लागि बसेको उक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा करिव आठ घण्टा चलेको थियो ।

राष्ट्रपतिको उम्मेदवार छनोट गर्ने एउटा एजेण्डालाई निर्णयमा पुऱ्याउनकै लागि यति लामो बैठक गर्नु परेबाटै स्पष्ट हुन्छ कि विद्या भण्डारीको नाममा सहमति जुटाउन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीलाई सहज पक्कै भएन । पछिल्लो समय खुलेरै आफूलाई राष्ट्रपतिको दावेदारको रुपमा नेता झलनाथ खनालले अघि सारेपछि विद्याको बाटोमा अवरोध पैदा भएको ठानिएको थियो ।

बताइएअनुसार बैठकअघि पार्टीका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाललगायतसँग परामर्श गरेका थिए । ओलीको सुझबुझपूर्ण कसरतपछि दावेदार खनालसमेत पछिहटेका बुझिएको छ । साँझ ६ बजेदेखि बसेको स्थायी समिति बैठकले झलनाथलगायतका आकांक्षीहरुको नाम खारेज गर्दै अन्ततः विद्यालाई नै निरन्तरता दिने निर्णयमा एमाले पुगेको हो । एमाले स्रोतका अनुसार खनालका अलावा एमालेका सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्यलगायतको नाममा पनि बैठकमा चर्चा भएको थियो ।

यस निर्णयपछि संघीय संसद्को ठूलो दल एमालेका उम्मेदवार विद्या भण्डारी पुनः मुलुकको राष्ट्रपति बन्नुहुने सुनिश्चित भएको छ । उपराष्ट्रपतिको कोटा नेकपा माओवादी केन्द्रको भागमा परेकोले माओवादी केन्द्रले नै टुंगो लगाउने छ । सम्भवतः वर्तमान उपप्रधानमन्त्री नन्दबहादुर पुनलाई नै माओवादीले उम्मेदवार बनाउने छ ।

राष्ट्रपतिको निर्वाचन प्रक्रिया यही आजबाट (फागुन २३) सुरु भएर यही फागुन २९ गते टुंगिदैछ।