काङ्ग्रेसको सुधार तत्कालका लागि सपना मात्र

काङ्ग्रेसको सुधार तत्कालका लागि सपना मात्र


पार्टीलाई दयनीय अवस्थामा पुऱ्याउन धेरै नेताको भूमिका जिम्मेवार भए पनि त्यस निम्ति पार्टी सभापति देउवाको भूमिकालाई प्रमुख ठानिन्छ । दलको नेतामा देउवाको विजयसँगै काङ्ग्रेसमा सुधार र परिवर्तनको सम्भावनामा विराम लागेको छ ।

नेपाली काङ्ग्रेसमा तत्काल सुधार र परिवर्तनको सम्भावना क्षीण भएको छ । यस वर्ष सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा इतिहासमै सर्वाधिक शर्मनाक पराजय व्यहोर्नुपरेपछि पार्टीको नेतृत्व र नीति परिवर्तन हुनुपर्ने आवाज व्यापक रूपमा उठेको थियो । यसै क्रममा पार्टी सभापति शेरबहादुर देउवाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने मागसमेत काङ्ग्रेसभित्र भएको थियो । प्रधानमन्त्री र पार्टी सभापति दुवै पदमा रहेर आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न नसक्नुभएको भन्दै देउवालाई पार्टी सभापतिको जिम्मेवारीबाट मुक्त गर्नुपर्ने मानसिकता काङ्ग्रेसका अधिकांश नेता तथा कार्यकर्ताले बनाएका थिए । तर, सभापतिबाट नै राजीनामाको अपेक्षा गरिएका शेरबहादुर देउवाले संसदीय दलको नेता पदमा समेत उम्मेदवारी दिनुभयो र सांसदहरूको बहुमतले उहाँलाई ‘पुरस्कृत’ गर्दै विजयी बनाएको छ ।

काङ्ग्रेसका कुल ६३ मध्ये प्रत्यक्ष निर्वाचनका माध्यमबाट विजयी सांसद २३ (तेइस) र समानुपातिक तर्फका ४० (चालीस) छन् । २३ निर्वाचित सांसदमध्ये अधिकांश देउवाको विकल्प खोज्ने पक्षमा भए पनि समानुपातिक सांसदहरूको मतले देउवालाई विजयी तुल्याएको छ । दुई नेताबीचको प्रतिस्पर्धामा देउवाले न्यूनतम ३४ देखि ४१ सम्म मत प्राप्त गर्ने र प्रकाशमान सिंहलाई कम्तीमा २४ मत हासिल हुने विश्वास गरिएको थियो । तर आफ्नो भनिएकाहरूबाट नै धोखा भएपछि देउवाले ४४ मत ल्याउँदा प्रकाशमानलाई १९ मात्र मत प्राप्त हुन पुगेको छ । चालीस समानुपातिक सांसद मनोनीत गर्दा देउवाले दुईतिहाइ सङ्ख्या २७ मा आफूअनुकूलका व्यक्तिहरूको चयन गर्नुभएको थियो ।

त्यति हुँदाहुँदै पनि संसदीय दलको नेता बन्न देउवाले धेरै ठूलो धनराशि खर्च गर्नुभएको बताइन्छ । जसरी भए पनि देउवा संसदीय दलको नेता बन्नुभएको छ र सोही हैसियतमा उहाँले प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा अब राज्यबाट विभिन्न सेवा र सुविधा प्राप्त गर्नुहुने भएको छ । दलको नेतामा देउवाको विजयसँगै काङ्ग्रेसमा सुधार र परिवर्तनको सम्भावनामा विराम लागेको छ । पार्टीलाई दयनीय अवस्थामा पुऱ्याउन धेरै नेताको भूमिका जिम्मेवार भए पनि त्यस निम्ति पार्टी सभापति देउवाको भूमिकालाई प्रमुख ठानिन्छ । राजदूत नियुक्ति र आईजीपी नियुक्ति प्रकरण तथा सञ्चारमाध्यमहरूमा गैरजिम्मेवार ढङ्गका प्रस्तुतिका कारण देउवा देशकै सर्वाधिक अलोकप्रिय ‘नेता’ बन्न पुग्नुभएको थियो । कार्यक्षमता र अभिव्यक्ति क्षमतामा समेत कमजोर मानिनुहुने देउवालाई बदनाम एवम् अलोकप्रिय तुल्याउन उहाँकी पत्नी आरजुको भ्रष्ट क्रियाकलाप पनि जिम्मेवार रहेको ठानिन्छ ।

आरजु राणाको अति महत्वाकाङ्क्षी स्वभाव–चरित्र र अनुचित ढङ्गबाट नगद सङ्ग्रहमा उहाँले दर्शाउनुभएको अभिरुचिका कारण देउवाको समेत बदनामी हुन पुगेको थियो । वास्तविकता यस्तो हुँदाहुँदै पनि देउवा पत्नी बदल्न सक्ने अवस्थामा हुनुहुन्न, सांसदहरू नेता बदल्ने पक्षमा देखिएनन् र देउवा आफूलाई बदल्ने मानसिकतामा पनि देखिनुहुन्न । त्यसैले तत्काल काङ्ग्रेसमा सुधार या परिवर्तनको सम्भावना क्षीण भएको छ । सभापति र प्रधानमन्त्री दुवै पदीय जिम्मेवारीमा रहँदा काङ्ग्रेसलाई पराजयसमेत ‘सम्मानजनक’ अवस्थाको दिन नसक्ने देउवाबाट अब काङ्ग्रेसलाई कस्तो योगदान पुग्ने ठानेर उहाँलाई सांसदहरूले ‘नेता’ चुनेका हुन्– आश्चर्य र विस्मात्को विषय भएको काङ्ग्रेसका शुभचिन्तकहरूले ठानेका छन् ।

चुनावमा पराजित भएलगत्तै केही युवा नेता पार्टीको नीति र नेतृत्व बदल्ने भन्दै जुर्मुराएका थिए । देउवाले युवाहरूमध्ये कसैलाई ‘के’ त कसैलाई ‘के’ दिएर उनीहरूको अभियानलाई ‘अङ्गभङ्ग’ तुल्याइदिनुभएको छ । सुधारको आवाज बोल्ने युवाहरू यतिबेला दयनीय अवस्थामा पुगेका छन् । गत निर्वाचनमा पराजयपछि रामचन्द्र पौडेल आफ्नो हैसियत स्थापना गर्ने छटपटीमा देखिनुभएको छ भने महामन्त्री डा. शशांक कोइरालाको भूमिका पनि सन्देहास्पद रहेको छ ।

भनिन्छ, कोइरालाहरू शेरबहादुर देउवाभन्दा पछाडि अर्को कुनै व्यक्ति नेता बन्ने स्थितिमा नरहून् भन्ने चाहन्छन् । रामचन्द्र पौडेलको राजनीतिक भविष्य सकिएको ठान्ने कोइराला परिवार देउवाको विकल्प आफूहरूबाहेक कोही बनोस् भन्ने मानसिकतामा नरहेको बुझिन्छ । त्यसैले रामचन्द्र पौडेल र प्रकाशमान सिंहप्रति कोइरालाहरूले एकप्रकारको दूरी कायम गरेको महसुस कोइरालाकै निकटवर्तीहरूले गरेका छन् । ‘युवा’ दाबी गर्ने नेताहरू विशृङ्खलित भएको र पार्टीभित्रको विपक्षी मोर्चा पनि एकजुट नरहेको अवस्थाको लाभ देउवाले उठाउनुभएको छ ।

काङ्ग्रेसको हैसियत खस्काएर भए पनि शेरबहादुर देउवाले आफ्नो हैसियत जोगाउने ‘सफलता’ प्राप्त गर्नुभएको छ । संसदीय दलको नेतामा पराजित भए पनि प्रकाशमान सिंह नेपाली काङ्ग्रेसमा देउवाको विकल्प बन्नुभएको छ । सिंहले आफ्नो दायरा फराकिलो बनाउँदै लैजानुभयो भने देउवापछिको मुख्य नेता बन्ने सफलता प्रकाशमान सिंहलाई प्राप्त हुने देखिएको छ । पार्टीलाई पराजित गराएर पनि पुरस्कृत देउवालाई सही मार्गमा हिँडाउने सफलता भने प्रकाशमानलाई प्राप्त हुने ठानिएको छैन ।

तस्बिर रासस