राष्ट्रपतिमा भण्डारीलाई राजपाको समर्थन

राष्ट्रपतिमा भण्डारीलाई राजपाको समर्थन


राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले राष्ट्रपति चुनावमा नेकपा (एमाले)का उम्मेदवार विद्यादेवी भण्डारीलाई समर्थन गर्ने भएको छ ।

राजपा अध्यक्षमण्डलको बैठकले राष्ट्रपति निर्वाचनमा भण्डारीलाई समर्थन गर्ने निर्णय गरेको सो पार्टीका महासचिव केशव झाले जानकारी दिएका हुन् । उनलाई उद्धृत गर्दै राससले जनाएअनुसार वाम गठबन्धन सरकारमा सहभागी हुनेबारे पछिल्ला दिनमा भइरहेको छलफल सकारात्मक बन्दै गएको छ ।

सत्ता नेतृत्वकर्ता एमाले र नेकपा (माओवादी केन्द्र) सँग भइरहेका छलफल र वार्ता सकारात्मक ढंगले अघि बढिरहेकाले पनि राष्ट्रपतिमा राजपाले भण्डारीलाई समर्थन गरेको बताइन्छ ।

महासचिव झाले संविधान संशोधनमा कुरा मिलेपछि सरकारसँग सहकार्य गर्ने गरी छलफल चलिरहेको र सोही आधारमा राष्ट्रपतिमा समर्थन गर्ने निर्णय भएको बताए। राष्ट्रपति भण्डारी र नेपाली कांग्रेसका तर्फबाट लक्ष्मी राईले यही फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनमा प्रतिष्पर्धा गर्दै हुनुुहुन्छ ।