मनाङी दृश्यको उघार हेरेर कहिल्यै थाक्दैनन् आँखा

मनाङी दृश्यको उघार हेरेर कहिल्यै थाक्दैनन् आँखा


– छविलाल बगाले

हिमालपारीको जिल्ला मनाङ नेपालकै सुन्दर मध्येको एक जिल्ला हो । हिमाली काखमा बसेको मनाङलाई प्रदेश नं ४ को प्रमुख पर्यटकिय गन्तब्य हो भन्दा फरक पर्दैन् ।

कुल क्षेत्रफल २,२४६ वर्ग किलोमिटर ओगटेको यस जिल्लाको सिमाना पूर्वमा गोरखा र लमजुङ, पश्चिममा मुस्ताङ र म्याग्दी, दक्षिणमा कास्की र लमजुङ तथा उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ । जिल्लाको भौगोलिक सुन्दरताको वयान गर्दा अति नै लोभ लाग्दा दृश्यहरू, अग्ला भिराला पहाडहरू र उच्च हिमश्रृखलाजस्ता विषेशताहरू भएको यस जिल्लामा पूर्वमा मनास्लु, पश्चिममा दामोदर, दक्षिणमा अन्नपूर्ण र लमजुङ हिमाल पर्दछन् भने उत्तरमा तिब्बतको पेरी र चीन हिमाल पर्दछन् ।

मनाङ जिल्ला थुप्रै स्वदेशी तथा विदेशी पर्यटक र पदयात्रीहरुको गन्तव्य मार्ग, बहुमुल्य जडिबुटी, वन सम्पदा, अपार जलस्रोतको धनी, विश्वको सबभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल तथा कुण्डहरूको बेजोड संगम भएको जिल्ला हो ।

हिमालपारिको जिल्ला मनाङ घुम्ने हो भने अवदेखिका मौसम नै यहाँ जानेहरुका लागि उपयुक्त मौसम मानिन्छ । गर्मीको यो मौसममा शितलतासँगै मनोरम दृश्यहरु अवलोकन गदै चक्कर काट्ने स्वदेशी तथा विदेशी पर्यटकहरु यतिबेला पदमार्गभरी भेटिन्छन् । लमजुङ सदरमुकाम बेसीशहरबाट चामेसम्म सवारी चढेर जाने कि पदैलयात्रा गर्ने यसको निक्र्यौल आफैंले गर्नुपर्छ । सवारीमा जानेलाई सवारीको व्यवस्था पनि छ । बेसीसहरबाट सदरमुकाम चामेसम्म र चामे–माथिल्लो मनाङको खाङ्सारसम्म पनि सिधा यातायातको व्यवस्था छ । अथवा माथिल्लो मनाङ क्षेत्र निकै मनमोहक भएकोले माथिल्लो मनाङसम्म पैदलयात्रा समेत गर्न सकिन्छ ।

लमजुङ सदरमुकाम बेसीसहरदेखि शुरु भएको यात्रा कडा चट्टानी पहाड, हरियाली दृश्य, लमजुङ र मनाङका अधिकांश स्थानमा रहेका मनोरम झरना, नागवेली आकारमा बगेको मस्र्याङ्दी नदिको मनमोहक दृश्यहरु अवलोकन गर्दै मनाङको सदरकुकाम चामे पुग्न सकिन्छ । चारैतिर अग्ला पहाडले घेरेर खोचमा रहेको चामे बजारले पनि छुट्टै विशेषता बोकेको छ । अन्नपूर्ण चक्रिय पदयात्रामा निस्कनेहरु एक दिन चामे बजारमा बाँस नबसी सुखै पाउँदैनन् । यहाँ पर्यटकीय स्तरका सुविधा सम्पन्न होटलहरु रहेका छन् ।

राउन्ड अन्नपुर्ण पदमार्गलाई फेरो लगाउने मुख्य मार्ग मानिने मनाङबाट स्वदेशी हुन् या विदेशी पहिलो पाइला टेकेपछि आनन्दित बन्ने गर्दछन् । प्राकृतिक छटासँगै घुम्नका लागि आकर्षक स्थलहरु रहेकाले पहिलो पटक पुग्नेहरुले आफ्नो बसाई लम्ब्याउँने गर्दछन् । मनाङको सदरमुकाम चामेबाट ढिकुरपोखरी, पिसाङ, हुम्दे, भ्राताङ हुदै मनाङ र टंकी मनाङ अनि खाङसार पुग्दा बाटोमा देखिने दृश्यले स्वर्गकै अनुभूति दिलाउँछ । वास्तविक सौन्दर्यको दृश्य माथिल्लो मनाङ पुगेपछि गर्न सकिन्छ । नजिकै देखिने हिमाल, हिउँले खाएर बनेको पहाड, बुट्यान, खगर, बगर, पुराना गुम्बा अनि बहुमुल्य जडिबुटीले पर्यटक लोभिन्छन् । पदमार्गको आकर्षक विन्दु मानिएको थोराङपास र तिलिचो तालको यात्रा निकै चुनौती पूर्ण रहेपनि यो त्यत्तिकै मनमोहक पनि छ । माथिल्लो मनाङसम्म पुग्ने जो कोही पर्यटकहरु पनि लोभलाग्दा दृश्यहरु आफ्ना मोवाइल र क्यमारामा कैद गर्न ब्यस्त देखिन्छन् ।

पहिलो पटक पदमार्गमा आउनेहरु यहाँका दृश्यले मोहित बनाएपछि यस्तै हर्षको अनुभव विदेशमा पुगेपछि आफ्ना आफन्तहरुलाई सुनाउने हुँदा पदमार्ग घुम्न आउने पर्यटकहरुको संख्यामा दोब्बरले बृद्धि हुनेगरेको छ । माथिल्लो मनाङमा रहेको गंगापूर्ण ताल, हिमताल, यहाँको प्रमुख आकर्षण हुन् । चिसो मौसममा हिउ जम्ने गरे पनि अन्य समयमा भने यो ताल कञ्चन देखिन्छ । सेताम्मे हिमालमुनि रहेको गंगगापूर्ण तालले मनमा फरक तरंग ल्याउने गर्दछ । अन्नपुर्ण, २, ३ र ४ गंगापुर्ण हिमाल, तिलिचो हिमालजस्ता मनोरम हिमश्रृखलाहरु नजिकैबाट अवलोकन गर्न सकिन्छ ।

त्यस्तै संरक्षित बन्यजन्तुको बाँसस्थान रहेको यस क्षेत्रमा विभिन्न चरा र जीवनन्तुहरुले पर्यटक लोभिन्छन् । यहिबाट संसारकै उचाईमा रहेको तिलिचो ताल पुग्न सकिन्छ । मनाङबाट तीन दिनको पैदल यात्रा गरेपछि पुग्न सकिने तिलिचो जाने उपयुक्त मौसम भने भदौ असोज महिनालाई लिने गरिन्छ । तर पनि सिजन नै नपर्खि पनि पर्यटकहरु यहाँ पुग्ने गर्दछन् ।

अधिकांश पर्यटकहरु तिलिचो ताल र थोराङपास पुग्नका लागि मनाङलाई प्रमुख गन्तव्य बनाउँदै आउने गर्दछन् । ५ हजार ४ सय १६ मिटर उचाइमा रहेको थोराङ भञ्याङ पदमार्गको निकै उचाइमा रहेको स्थान हो । प्रायजसो पर्यटक हाइ अल्टिच्युडबाट बच्नको लागि ४ हजार ८ सय मिटर उचाईमा रहेको हाइक्याम्पमा नै बस्ने गर्दछन् । एकदिन थोराङफेदीमा बास बसेर पदमार्गमा जाने पर्यटकहरुले सजिलैसँग थोराङ पास गर्न सकिन्छ ।

पछिल्लो क्रममा खोलिएको मोटरबाटोले पर्यटक आगमनमा केही असर पुगेको सबैले आभाष गरेपनि मोटरबाटोले केही बिगारेको छैन्, यहाँको पर्यटन ब्यवसाय हराएको छैन् । यहाँका स्थानियले वैकल्पिक मार्गको खोजी समेत गरेका छन् । त्यसले पर्यटक आकर्षण बढाउने अपेक्षा राखिएको छ ।

त्यसो त यहाँ आउने स्वदेशी तथा विदेशी पाहुनालाई स्थानियको आतित्थ्यता र सत्कार पनि राम्रो हुने गरेको छ । जिल्ला पर्यटकीय स्तरका २ सय बढी होटल छन् । चामे, पिसाङ, हुम्दे, मनाङ लगायतका स्थानहरुमा बढी होटल सुविधा छन् । परम्परागत संस्कृति र रहनसहन पनि यो क्षेत्रको अर्को विशेषता हो । तिब्तिय संस्कृति हेर्न नार र फु गाविसमा जान सकिन्छ । वर्षेनी एकलाख बढि स्वदेशी तथा विदेशी पर्यटकहरु यो जिल्ला हुदै अन्नपुर्ण सेरोफेरोको चक्कर लगाउँछन् ।

यहाँको संस्कृति पनि हेरेर कहिल्यै नअघाइने छ । कहिले यार्तुङको रौनक, कहिले थरी थरीका संस्कृती झल्कने नाच त कहिले आर्चरी । विविध संस्कृतीको खानी अनि नौला नौला दृश्यले विश्वविख्यात अन्नपूर्ण चक्रिय पदमार्गको फेरो लगाउन जाने स्वदेशी हुन या विदेशी पर्यटक सबै नतमस्तक हुने गर्दछ । र उनिहरु भन्ने गर्छन्, ‘प्रकतिको नाट्य लिला हेरेर कहिल्यै अघाउन सकिएन ।’