मुख्यमन्त्री पोखरेलाई दुई तिहाई मत

मुख्यमन्त्री पोखरेलाई दुई तिहाई मत


– चन्द्रकान्त खनाल

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश राजधानीलाई सबैको पायक पर्ने स्थानमा राख्नुपर्ने अभिव्यक्ति दिएका छन् । प्रदेशसभा ५ को पाँचौँ बैठकलाइ एक घण्टा लामो सम्बोधन गर्दै उनले भने, ‘सबैलाइ पायक पर्ने गरि राजधानी बनाउनुपर्ने र सहमतिका आधारमा सफलतापूर्वक समाधान गर्नुपर्छ ।’ उनको यस अभिव्यक्तिलाई बुटवलबाट राजधानी सार्ने प्रयत्नका रूपमा लिइएको छ ।

‘अहिलेको अबस्थामा यहाँ पर्याप्त संरचना अभाव छ, काम गर्न असहज भएको छ’ उनले गुनासो गरे । लामो सम्बोधनमा पटक–पटक ‘पर्याप्त संरचना अभाव रहेको’, काम गर्न असहज भएको उनले जिकीर गरे ।

प्रदेश सरकार बजेट निर्माणको अवस्थामा रहेको बताउँदै मुख्यमन्त्री पोखरेलले आर्थिक विधेयक पास गरेपछि बल्ल बजेटको बारेमा काम थाल्ने जानकारी दिए । अहिलेसम्म पुर्वाधारको कामले अलमल परेको बताउँदै उनले स्थानीय निकायको सहयोगमा सबै मन्त्रालय र मन्त्रीको ब्यवस्थापन भएको दाबी गरे । ७ बटा प्रदेशमध्ये ४ नंम्बरमा रहेको ५ नं प्रदेशलाई पहिलो बनाउने तरिकाले काम गर्ने प्रतिबद्धता उनको थियो ।

मुख्यमन्त्री पोखरेलले पहाडका ६ र तराइका ६ जिल्ला गरि १२ जिल्ला रहेको ५ नम्बर प्रदेशमा धेरै किसिमको विविधता रहेको बताए । उनले मानव विकास सूचकांकमा पाल्पा अग्रणी, अर्घाखाँची र रुपन्देही केही पछाडी र रोल्पा–रुकुम धेरै पछाडि छन्, यसलाई समान गराउने चुनौतीपूर्ण रहेको धारणा राखे ।
प्रदेश ५ को गरिबी, साक्षरता, औषत आयुका बारेमा चर्चा गर्दै उनले ३० प्रतिशत जनता निरपेक्ष गरिबीको रेखामुनि रहेको जानकारी गराए भने अस्पतालदेखि सडकसम्म स्तरउन्नति गर्ने सरकारको लक्ष्य रहेको जानकारी दिए ।

हासिल गरे दुई तिहाई मत
मुख्यमन्त्री पोखरेलले विश्वासको मत पाएका छन् । उनको पक्षमा ६६ मत परेको छ । प्रदेशसभा ५ को पाचौँ बैठकमा पोखरेलले विश्वासको मत मागेका थिए । उनको विपक्षमा नेपाली कांग्रेसका १८ मत परे । सत्तारुढ एमाले र माओवादी केन्द्रसंगै राष्ट्रिय जनमोर्चा, फोरमले पोखरेललाई समर्थन गरे । प्रदेश नं ५ मा ८७ जना सांसद रहेका छन् भने राजपाका एकले सपथ लिन पाएका छैनन् ।