तीन मनोनित सदस्य मतदानबाट वञ्चित

तीन मनोनित सदस्य मतदानबाट वञ्चित


राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा तीन सदस्य भोट हाल्नबाट बञ्चित हुने भएका छन् । एमाले माओवादी सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिबाट मनोनित भएका डा. युवराज खतिवडा, रामनारायण विडारी र डा. विमला पौडेल राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा भोट हाल्नबाट बञ्चित भएका हुन् ।

निर्वाचन आयोगका अनुसार तीनै जना सदस्यको शपथअघि नै मतदाताहरुको अन्तिम नामावली सार्वजनिक भइसकेकाले भोट हाल्न नपाउने भएका हुन् । निर्बाचन आयोगले मतदाता नामावली बुधबार नै प्रकाशित भइसकेकोले अबमतदाताको संख्या थपघट गर्न नमिल्ने जनाएको छ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मतदाता नामावली सम्बन्धी ऐनमा अन्तिम मतदाता नामावलीमा अब कुनै प्रकारबाट हेरफेर, थपघट गर्न वा सच्याउन नसकिने उल्लेख छ ।

देउवा नेतृत्वको सरकारले सिफारिस गरेको नामावलीलाई उल्टाएर ओली सरकारले नयाँ नामावली पठाएपछि देउवा सरकारको सिफारिसमा परेकाहरुले सर्बोच्चमा रिट दायर गरेका थिए । सो विवादका कारण खतिवडा, बिडारी र पौडेलले बिहीबारमात्रै शपथ ग्रहण गरेका थिए ।

कुल ५९ सांसद रहेको राष्ट्रिय सभामा एमालेको २७, कांग्रेसको १३, माओवादीको १२ सांसद रहेका छन्े भने संघीय समाजवादी फोरम र राजपाबाट २-२ जना सांसद रहेको आयोगले जनाएको छ ।

एमाले र माओवादीको सहमति अनुसार एमालेको भागमा राष्ट्रिय सभा अध्यक्ष परेको छ ।