वैशाखअगावै पार्टी एकता हुने प्रधानमन्त्री ओलीको दाबी

वैशाखअगावै पार्टी एकता हुने प्रधानमन्त्री ओलीको दाबी


प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखअगावै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता हुनसक्ने बताएका छन् । सरकारलाई समर्थन गर्ने संघीय संसद् र प्रदेशसभाका सदस्यका लागि आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित जलपान कार्यक्रममा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले समयको माग र जनताको चाहानाबमोजिम चाँडै पार्टी एकता हुन लागेको बताए ।

आगामी वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका दिन दुबै पार्टीबीचको एकता घोषणा गर्न सुझाव दिए पनि त्यसअघि नै गृहकार्य पूरा भएमा एकता हुनसक्ने बताउँदै उनले भने- ‘वर्तमान सरकार मुलुकमा शान्ति, स्थायित्व, विकास, समृद्धि र राष्ट्रिय एकताको प्रवर्धनका लागि प्रभावकारी रुपमा अघि बढ्न सक्षम छ ।’

प्रधानमन्त्री ओलीले राष्ट्रपतिको निर्वाचन र प्रधानमन्त्रीको विश्वासको मतमा साथ दिएकोमा सदस्यहरुलाई धन्यवाद दिँदै न्यायालयमा देखिएको विवादबारे चिन्ता व्यक्त गरे ।

अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले समयको माग, जनताको चाहाना र देशको हितका पक्षमा संविधान संशोधन गर्न आफूहरु सधैं तत्पर रहेको प्रष्ट्याए ।

तस्बिर रासस