‘शुक्रबारसम्ममा मन्त्रिमण्डल पूर्ण हुने’

‘शुक्रबारसम्ममा मन्त्रिमण्डल पूर्ण हुने’


आगामी शुक्रबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले जानकारी दिएका छन् । किराती राष्ट्रियमुक्ति मोर्चा र नेपाल लोकतान्त्रिक किरात राई संघद्वारा आज राजधानीमा आयोजित ‘प्रदेश नंं १ का संघीय तथा प्रदेशसभा सदस्यलाई सम्मान तथा बधाई कार्यक्रम’मा उनले बिहीबार वा शुक्रबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउने दाबी गरे ।

मन्त्रिमण्डलले पूर्णता पाएसँगै मुलुक नयाँ दिशामा अगाडि बढ्ने उल्लेख गर्दै प्रचण्डले वाम गठबन्धनले संयुक्त रुपमा जारी गरेको घोषणापत्रको आधारमा सरकार काम गर्ने दाबी पनि गरे ।

प्रदेशको नामकरण जनताको भावनाअनुसार राख्नुपर्नेमा जोड दिँदै उनले भने, ‘प्रदेशको नामकरण प्रदेश नंं ६ को जस्तै जनताको भावना, एतिहासिकता र भूगोललाई समेटेर राख्नुपर्दछ ।’

‘केन्द्रबाट हामीले त्यस्ता नाम राख्नका लागि सहज वातावरण बनाउने छौँ’ भन्दै उनले संविधानबाट नै प्रदेशको नामकरण गर्ने विषयमा धेरै छलफल चले पनि पछि विवाद आउने भएकाले प्रदेशसभालाई सो जिम्मेवारी दिइएको बताए ।