प्रधानन्यायाधीश पराजुली नियमित काममा रहने

प्रधानन्यायाधीश पराजुली नियमित काममा रहने


प्रधानन्यायाधीश गोपाल पराजुलीले न्याय परिषदसम्बद्ध एक ब्यक्तिले लहड र स्वार्थवश सूचना जारी गरेर आफूलाई बर्खास्त गर्न नमिल्ने स्पष्ट पार्नुभएको छ ।

उहाँको उमेर हद पूरा भएको ब्यहोरा उल्लेख गरी न्यायपरिषदको नाममा पत्र सार्वजनिक गरिएपछि एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै प्रधानन्यायाधीश गोपाल पराजुलीले भन्नुभयो, ‘न्याय परिषदले कथित सुचना जारी गरेर मलाई पदबाट हटाउन पाउँदैन, मेरो उमेर छर्लङ्ग छ । बैशाख १५ गते त म स्वतः निवृत्त हुने थिएँ । केही तत्वको ग्रान्डडिजाइनले यो भएको हो । त्यसैले म मेरो काम नियमित गर्नेछु । मलाई बदनाम गरेर कसैलाइ फलिफाप गरेर देशले के पाउँछ ? यो घिनलाग्दो अराजकता हो ।’

आजै परीक्षा नियन्त्रक कार्यालयले प्रधानन्यायाधीश पराजुलीको जन्म मिति २०११ बैशाख १३ गते रहेको प्रष्ट्याएको छ । यो आधारमा पराजुलीको उमेर ६३ वर्ष मात्र पुगेको स्पष्ट हुन्छ । तर, केही तत्वको स्वार्थपुर्ति गर्न न्यायपरिषदका सचिव नृपध्वज निरौलाले पत्र जारी गरेर गोपाल पराजुलीको उमेर हद पूरा भइसकेको भन्ने भ्रम फैलाएपछि सामाजिक सञ्जालदेखि विभिन्न मिडियामा निरौलाको विज्ञप्तिको निकै आलोचना भइरहेको छ । न्याय परिषदको पुर्ण बैठकले कुनै पनि निर्णय गर्न पाउँछ र सम्बन्धित ब्यक्तिको विषयमा निर्णय गर्दा सोधपुछ गर्नुपर्ने कानुनतः उल्लेख गरिएको छ । तर, प्रधानन्यायधीश पराजुलीलाई कुनै जानकारी वा सोधपुछ नगरी निकै हतारिएर राष्ट्रपतिको सपथ ग्रहण कार्यक्रमको करिब १५ मिनेटअघि परिषदका सचिव निरौलाले आफूखुशी पत्र जारी गरेका थिए ।