बगनासकाली गाउँपालिकामा खरको छानो भएकालाई जस्तापाता

बगनासकाली गाउँपालिकामा खरको छानो भएकालाई जस्तापाता


पाल्पाको बगनासकाली गाउँपालिकामा खरको छानोरहित घर निर्माण कार्य शुरु भएको छ ।

गाउँपालिकाले खरको छानो भएका घरधुरीलाई जस्तापाता अनुदानमा वितरण कार्य गरेपछि खरको छानो भएका घरमा जस्तापाता लगाउने कार्य भइरहेको छ ।

गाउँपालिकामा आव २०७४-०७५ लागि रु १५ लाख रकम वितरण गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए ।‘अबको दुई वर्ष्भित्रमा गाउँपालिकालाई पूर्ण खरको छानोरहित गाउँपालिका घोषणा गर्ने गरी यस वर्ष ५५ घरधुरीलाई छनोट गरेर अनुदानस्वरुप जस्तापाता उपलब्ध गराएका छौँ’ उनले भने ।

गाउँपालिकाको वडा नं १ मा सात घर, २ मा सात घर, ३ मा दुई घर, ४ मा १४ घर, ५ मा आठ घर, ७ मा सात घर, ८ मा सात घर र ९ मा तीन घरधुरी गरी जम्मा ५५ घरधुरीलाई प्रतिघरधुरी तीन बण्डल जस्तापाता वितरण गरिएको अध्यक्ष बस्यालले बताए ।

गाउँपालिकाभित्र खरका छाना भएका २५५ घरधुरीलाई जस्तापाता अनुदानका लागि छनोट गरिएको छ । आगामी आवमा गाउँपालिकाले रु ५० हजार रकम विनियोजन गरेर गाउँपालिकालाई पूर्ण खरको छानोरहित गराउने गरी विशेष प्राथमिकताका साथ लागेको जनप्रतिनिधिले बताएका छन् ।

यस वर्ष छनोटमा परेका घरधुरीले अनुदानबापत जस्तापाता बुझेको एक महिनाभित्रमा घरमा जस्तापाताले छाउनुपर्ने नियम रहेको गाउँपालिकाले जनाएको छ । साथै, जस्तापाता ढुवानीसमेत गाउँपालिकाले आफँै गरेपछि स्थानीयवासीलाई सजिलो भएको छ ।