नेकपा (माओवादी केन्द्र)का अध्यक्ष ‘प्रचण्ड’ले माओवादी आन्दोलनको मूल प्रवाहबाट बाहिरिएका सबै शक्ति र समूहलाई एकतामा आउन आग्रह गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको चाहनामुताबिक पार्टी एकताको प्रक्रियामा सहभागी हुन आह्वान गरिएको बताए। कम्युनिस्ट आदर्श र विचार नै छाडेर नयाँ शक्ति नेपाल निर्माण गरेका बाबुराम भट्टराईलाई पनि समयको मागअनुसार पुनः मूल घरमा फर्कन उनले आग्रह गरे ।
प्रचण्डले भने, ‘शहीद, बेपत्ता, घाइते योद्धा, नेता तथा कार्यकर्ताको भावनालाई सम्बोधन गर्दै एकता प्रक्रियामा आउनुस् । बिग्रिएको केही छैन । एकतामा आउनुस् । मिलेर समाजवादको यात्रा तय गरौँ ।’ उनले मोहन वैद्य र नेत्रविक्रम चन्दलाई समेत एकतामा आउन आग्रह गरे । संविधानले समृद्धिको मार्ग प्रशस्त गरेकाले सोहीअनुसार अगाडि बढ्नुपर्ने उनको जिकीर थियो ।
कार्यक्रममा नयाँ शक्ति नेपाल गोरखाका जिल्लास्तरीय नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
प्रतिक्रिया