आलो मासु नखान सुझाव

आलो मासु नखान सुझाव


आलो मासु खाने भन्दै उपभोक्ताले अस्वस्थ मासु खाने गरेका छन् । मासु काटेपछि फ्रिजमा राखेर पछि खाँदा मात्रै स्वस्थकर हुने जिल्ला पशु विकास कार्यालय (ललितपुर)का प्रमुख मोगलप्रसाद साहले बताउनुभयो । बाह्र घण्टासम्म फ्रिजमा राख्दा त्यसमा भएको कीटाणु मरेर मासु स्वस्थकर हुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘पसलहरुले फ्रिजमा राख्न गाह्रो मान्ने भन्दा पनि उपभोक्ता नै आलो मासु खोज्छन् । यस विषयमा जनचेतना फैलाउन खाँचो छ ।’

नगरका अधिकांश पसलले टेबुलमा बाहिर खुला राखेर मासु बिक्री गर्छन् । कीटाणु भएको मासु लामो समयसम्म खुला राख्दा कीटाणु अझै बढ्छ । मासु पसल सञ्चालन गर्दा फ्रिज राख्नैपर्ने व्यवस्था छ । केही वर्ष पहिलेसम्म नभएकामा अहिले अधिकांस मासु पसलमा फ्रिज छ । फ्रिज भएकाहरुले समेत राख्न नचाहेको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘हामीले स्थानीयस्तरमा समेत जनचेतना फैलाउनु आवश्यक छ ।’ राससका अनुसार ललितपुर महानगरपालिकाभित्र मात्रै तीन सयभन्दा बढी मासु पसल छन् ।