नेताका भाषण नभई विकासको गति नियाल्न गगनको सुझाव

नेताका भाषण नभई विकासको गति नियाल्न गगनको सुझाव


– रेजिना गौतम

झापा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले नेपालमा शिक्षा र स्वास्थ्यमा व्यापक सुधार आवश्यक भएको बताउनुभएको छ । अहिलेको मावि तहको शिक्षाले अबको २० वर्षपछिको नेपालको भविष्य निर्धारण गर्ने उल्लेख थापाले शिक्षा क्षेत्रको सुधार खाँचो औंल्याउनु भएको हो । झापाको धुलाबारीमा पवित्रा–भेषराज खतिवडा स्मृति प्रतिष्ठानद्वारा आज (बिहीबार) आयोजित पुरस्कार वितरण समारोहमा बोल्दै प्रमुख अतिथि थापाले यस्तो बताउनुभएको हो ।

स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्ने बताउने नेताहरु आफ्नो उपचार गर्न विदेशका महँगा अस्पताल पुग्ने गरेको प्रसङ्ग उल्लेख गर्दै नेता थापाले भन्नुभयो, ‘नेपाल अबको १० बर्षपछि कहाँ पुग्छ भन्ने कुरा नेताको भाषणमा नभई विकासको सुचकाङ्कमा भर पर्छ ।’ केन्द्रदेखि स्थानीय तहसम्म स्थिर सरकार बनेको अवस्थामा यो अवसरलाई प्रत्येक क्षेत्रबाट सदुपयोग गर्नुपर्नेमा थापाको जोड थियो ।

कार्यक्रममा विभिन्न विधामा आधा दर्जन बढिलाई सम्मान गरेको छ । प्रतिष्ठानले प्रत्येक बर्ष प्रदान गर्दै आएको उत्कृष्ट विद्यालय सम्मान धुलाबारी माविले प्राप्त गरेको छ भने उत्कृष्ट शिक्षकको रुपमा आदर्श मावि इटाभट्टाका शिक्षिका झनकुमारी गिरी सम्मानित भइन् । त्यसैगरी उत्कृष्ट विषयगत शिक्षकमा सामाजिक विषयका शिक्षक दुर्गानाथ ढकाल, उत्कृष्ट छात्रामा गढिगाँउ मावि बुद्धशान्ती गाँउपालिकाका विद्यार्थी अस्मिता पौडेल, उत्कृष्ट छात्र शहिद दशरथ मावि चारआलीका आयुष आचार्य, लोपोन्मुख जातिका विद्यार्थीहरु मध्ये शान्ती आदर्श माविका सन्तोष लाप्चा र सन्ध्या लाप्चालाई लोपोन्मुख जाति मध्येबाट उत्कृष्ट विद्यार्थीको रुपमा सम्मान गरिएको हो ।

त्यसैगरी खतिवडा परिवारका ज्वाई भरत भुर्तेलको स्मृतिमा प्रतिष्ठानले यसबर्षबाट वितरण सुरु गरेको भरत भूर्तेल स्मृति पत्रकारिता पुरस्कारबाट कान्तिपुर दैनिकका उप—सम्पादक पर्वत पोर्तेललाई नगद सहित पुरस्कृत गरेको छ ।

अग्रज पत्रकार चन्द्र भण्डारीको संयोजकत्वमा निर्माण गरिएको चार सदस्यीय पुरस्कार छनोट समितिले पुरस्कृत व्यक्तीहरुको छनोट गरेको थियो । कार्यक्रममा प्रदेश नम्बर १ का प्रदेशसभा सांसद ओमप्रकाश सरावगी, बुद्धशान्ती गाँउपालिकाका अध्यक्ष रमेश भुजेल, उपाध्यक्ष मिरा भुर्तेल, अग्रज पत्रकार धर्म गौतम लगायतको आतिथ्यता थियो ।

प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडाको सभापतित्वमा सम्पन्न कार्यक्रम शिरोसान्दाइले सञ्चालन गरेका थिए ।