ओली र प्रचण्डको घरमै ‘वारेन्ट पूर्जी’ टाँस्ने चेतावनी !

ओली र प्रचण्डको घरमै ‘वारेन्ट पूर्जी’ टाँस्ने चेतावनी !


नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड विरूद्ध पक्राउ पूर्जी जारी गरिने चेतावनी दिएको छ। उक्त पार्टीको पोलिटब्युरो बैठकले महासचिव विप्लबविरूद्ध जारी वारेण्ट खारेज गरेको दाबी गर्दै त्यस्तो कार्यमा संलग्न सबैलाई कारबाही गरिने जनाएको छ।

उक्त पार्टीका प्रवक्ता प्रकाण्डद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा उल्लेख गरिएअनुसार आफ्नो विद्यार्थी जीवनदेखि नै क्रान्ति, नेपाल राष्ट्रको स्वाधीनता र नेपाली जनताको राजनीतिक अधिकारका निम्ति समर्पित ‘नेतृत्व’ विप्लवलाई कथित तवरले विष्फोटक पदार्थका मुद्दा लगाई पक्राउ पूर्जी टाँस्ने अदालत र प्रहरी प्रशासनको हर्कतको नेकपा घोर निन्दा र भत्र्सना गर्दछ । उनले झुट, कपोलकल्पित, षडयन्त्रमूलक, हास्यास्पद र राजनैतिक चरित्र हत्या गर्न गरिएको प्रपञ्च यथाशक्य रोक्न ओली सरकार, सो सरकारका अदालत तथा प्रहरी प्रशासनिक निकायलाई चेतावनी दिएका छन् ।

विज्ञप्तिको आरम्भमै भनिएको छ– ‘हाम्रो पार्टीका महासचिव क. विप्लवको नाममा केपी ओली सरकारको भोजपुर जिल्ला अदालतले भोजपुर जिल्ला प्रहरी कार्यालयको जाहेरी प्रतिवेदनको हवाला दिँदै विष्फोटक पदार्थसम्बन्धी अभियोगमा ०७४ पौष ९ गते गिरफ्तार गर्न जारी गरेको वारेन्ट कपिलवस्तु जिल्ला शिवपुरीस्थित उहाँको दाजु चन्द्रबहादुर चन्दको घरमा टाँसिएको छ । हाजिर नभए अंश रोक्का र कब्जा गरिने कथित कानुनी धम्की पनि दिइएको छ । यस प्रकारको पूर्जी टाँस र कानुनी धम्कीको हाम्रो पार्टी पूरै खारेज गर्दछ ।’

जनयुद्धकालीन शासक वर्गलाई नै मात गर्नेगरी ओली–प्रचण्ड गठबन्धन सरकार नेकपा र एकीकृत जनक्रान्तिको विरुद्ध निरङ्कुश, फासिष्ट र जङ्गली दमनको प्रारम्भिक अभ्यास गरिरहेको दाबी गर्दै प्रकाण्डले चेतावनी दिएका छन्, ‘खबरदार ओली–प्रचण्ड गठबन्धनको ओली सरकार ! हत्या, हिंसा, झुट्टा मुद्दा, धरपकड र दमनले श्रमजीवी जनताको क्रान्ति र आन्दोलन कहिल्यै मर्दैन, बरु यो ज्वालामुखीको रूपमा विष्फोट भएर शासकवर्गकै अन्त्यष्टि गर्दैछ ।’

‘जनयुद्धले जन्माएको जनसत्ताको जनअदालत’ अस्तित्वमै रहेको दाबी मात्र नगरी सो ‘जनअदालत’मा १० वर्षे जनयुद्धका विरुद्ध बर्बर दमन गर्ने र हत्या–हिंसाको राज खडा गर्ने काङ्ग्रेस र एमाले सरकारका नेताहरूको नामका देशद्रोही, राष्ट्रघाती, जनहत्यारा, साम्राज्यवादका एजेन्ट, बलात्कारी, गाउँ खरानी बनाउने विध्वंशकारी र जनताको सम्पत्ति लुट्ने लुटेरालगायतका मुद्दाका फायलहरू ज्युँदै रहेको खुलासासमेत प्रकाण्ड–हस्ताक्षरित वक्तव्यमार्फत गरिएको छ । ओली सरकारले चोरलाई चौतारा र साधुलाई सुली गर्ने हो भने जनयुद्धमा अपराधी घोषित भएका जनअपराधीहरूलाई अहिले सञ्चालन भइरहेको जनसत्ताको जनअदालतले कारवाहीको शुरुवात गर्ने उदघोष गर्दै विज्ञप्तिमा अगाडि भनिएको छ– ‘सबैभन्दा पहिला जनअदालतले वारेन्ट पूर्जी केपी ओलीको घरमा टाँस्नेछ । १० वर्षको जनयुद्ध, यसका उपलब्धिहरू, हजारौँ जनयुद्धका शहिदहरूको रगत र नेपाली क्रान्तिका विरुद्ध अपराध गरी दलाल संसदवादको पुच्छर बनेर हाम्रो पार्टी, क्रान्ति र नेपाली जनताका विरुद्ध साम्राज्यवादीहरूको निर्देशनमा दमनमा उत्रिने प्रचण्डको घरमा पनि वारेन्ट पूर्जी टाँसिनेछ ।’

आफूहरू राष्ट्रघाती, देशबेचुवा, दलाल, भ्रष्टाचारी, कमिशनखोर, महिलाबेचुवा केही नभएको दाबी गर्दै प्रश्न गरिएको छ– ‘के ओली–प्रचण्ड गठबन्धन सरकारले हाम्रो बारेमा प्रश्न उठाउन सक्छ ?’ विज्ञप्तिको अन्त्यमा पार्टी महासचिव विप्लवमाथि लगाइएको ‘झुट्टा मुद्दा’ तुरुन्तै खारेज नगरिए दमनका योजनाकार, अदालत एवम् प्रशासनका कारिन्दा, सुराकीविरुद्ध कारवाही बढाइने र त्यसबाट निस्किने भयावह परिणामको कारकतत्व ओली सरकार, प्रचण्ड–ओली गठबन्धन र यो देशका दलाल तत्वहरू नै हुने चेतावनी दिइएको छ ।