मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अनपेक्षित परिणम ब्यहोरेपछि निर्वाचन परिणामको विषयलाई लिएर नेपाली कांग्रेसमा आरोप प्रत्यारोप जारी छ । यसै सिलसिलामा अनेक तह र तप्काका भेला पनि निकै आयोजना भएका छन् भने गुटगत भेलाको क्रम जारी नै छ ।
यही क्रममा कांग्रेसको १३ औँ महाधिवेशनबाट अस्तित्वमा देखिएको सिटौला समूहको भेला काठमाडौंमा आयोजना भएको छ । सो भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसको पूर्वमहामन्त्री समेत रहेका कृष्णप्रसाद सिटौलाले पार्टीमा गलत प्रवृत्ति हाबी हुँदै गएकोले आमूल परिवर्तनको आवश्यकता रहेको धारणा अघिसारेका छन् । उनको समूहको यो धारणा गगन थापामार्फत् सार्वजनिक हुँदलै आएको थियो । आफूपक्षधर नेता कार्यकर्ता भेलामा सिटौलाले निर्वाचनपछिको अवस्थामा कांग्रेसले नयाँ मार्गचित्रका साथ अघि बढ्नुको विकल्प नभएकोमा जोड दिए ।
उनले भने, ‘पार्टीभित्र अहिले पनि सामन्ती संस्कार कायम रहेको छ । यसलाई हटाउन पार्टीमा व्यावहारिक रुपमा लोकतान्त्रिक संस्कार निर्माण गर्नु जरुरी छ ।’ वर्तमान सरकारबाट सर्वसत्तावाद लागू गर्ने संकेत देखिन थालेको आशंका व्यक्त गर्दै उनले त्यसलाई रोक्न सशक्त र बलियो कांग्रेस चाहिने तर्क गरे ।
सोही कार्यक्रममा गगन थापाले पार्टी सुधारका लागि जोखिम मोलेर भए पनि बोल्नुपर्ने र दबाब दिने बेला आएको, यति गर्न नसके पार्टीले थप मूल्य चुकाउनुपर्ने बताए । निर्वाचनमा कांग्रेसले हार व्यहोरे पनि नयाँ संविधानमार्फत मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गरेर राजनीतिक मुद्दा जितेको जिकीर उनको थियो ।
पछिल्लो चरणमा सिटौलालाई साथ दिँदै आएका केन्द्रीय सदस्य उमाकान्त चौधरीले चाहिँ पार्टीको टिकट वितरणमा पैसावाल र व्यापारी हाबी भएको भन्दै चिन्ता व्यक्त गरे । पार्टीमा योगदान गरेका र दुःख पाएका कार्यकर्ता कहाँ जाने ? उनी प्रश्न गर्दै थिए ।
प्रतिक्रिया