स्थानीय तहका प्रतिनिधिलाई राजीनामा गराउँदै नेकपा

स्थानीय तहका प्रतिनिधिलाई राजीनामा गराउँदै नेकपा


मुलुकमा दुई दशकपछि भएको स्थानीय तहको निर्वाचन र हालै सम्पन्न संघीय संसद र प्रदेशसभाको निर्वाचनलाई पनि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अस्वीकार गर्दै आएको छ । सो पार्टीले संविधानसभाबाट निर्मित संविधानलाई प्रतिगामी चरित्रको भन्दै मान्य नभएको घोषणा गरेको सर्वविदित नै छ ।

यस परिप्रेक्ष्यमा सो पार्टीको भेरी कर्णाली स्वायत्त प्रदेश (जिल्ला जनपरिषद, जाजरकोट)ले स्थानीय बारकोट गाउँपालिकाका प्रमुखलाई तत्काल राजीनामा दिन ‘अनुरोध’ गरेको छ । सो गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहलाई पार्टीको तर्फबाट एक पत्र लेख्दै नेकपा भेरी कर्णाली स्वायत्त प्रदेश प्रमुखले मुलुकभर जनताको सरकार स्थापित गरेर जनताको सेवा, राष्ट्रिय स्वाधीनता र सामाजिक सुरक्षासहितको विकास र समृद्धिको आधार तयार गर्नको लागि पदबाट राजीनामा दिएर ‘जनताको सरकार’लाई सहयोग गर्न भनिएको छ ।

पत्रमा शालिन भाषा प्रयोग गरिएपनि गाउँपालिका प्रमुख शाहमाथि लगाएको आरोप भने गम्भीर प्रकृतिका छन् । ‘आफै सरकार (स्थानीय) प्रमुख, आफैं ठेकेदार, आफैं व्यवसायी तपाईंको चरित्र हो, यो अवस्थामा जनताले राज्यको सेवा–सुविधा पाउनुभन्दा पनि विभिन्न बहानावाजीमा प्रताडित बनाउने काम मात्रै भएको छ’, महेन्द्र शाहलाई लेखिएको पत्रमा भनिएको छ । ‘विनम्रतापूर्वक गरिएको आग्रह उपेक्षा गरी पदबाट राजीनामा नदिए उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम हुनुपर्ने’ सो पत्रमा उल्लेख छ ।

हेरौँ गाउँपालिका प्रमुखलाई नेकपाले लेखेको पत्र–