ओलम्पिक चार्टर—नेपालले अनुशरण गर्नैपर्ने सत्यता

ओलम्पिक चार्टर—नेपालले अनुशरण गर्नैपर्ने सत्यता


इन्डियन ओलम्पिक एसोसिएसन (आईओए)को निर्वाचनको परिदृश्यलाई हेर्दा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)को धारणा प्रस्ट रूपमा आवरणमा देखिएको छ । इन्डियन ओलम्पिक एसोसिएसनको २५ नोभेम्बरमा हुने भनिएको निर्वाचन ओलम्पिक चार्टरबमोजिम नभए त्यसलाई मान्यता नदिने भनी आईओसीले पत्राचार गरेपछि उक्त निर्वाचन डिसेम्बर ५ तारिखका लागि सारणी भएको छ । आईओसीले आईओएलाई त्यसरी पत्राचार गरेपछि सो निर्वाचनमा अध्यक्षका लागि उम्मेदवारी दिएका तीनजनामध्ये राजा रणधीर सिंह र अजय चोटालाले उम्मेदवारी फिर्ता लिएका थिए । स्मरणीय छ, यी दुवै आईओसीका कार्यसमितिका सदस्य हुन् । त्यसपछि भारत सरकारले अध्यक्षमा अभयसिंह चोटाला, महासचिवमा ललित भनोंट, उपाध्यक्षमा बीरेन्द्र नानावटी र कोषाध्यक्षमा एन रामाचन्द्रनलाई चयन गरेको छ । आईओएको निर्वाचन आज डिसेम्बर ५ तारिखमा हुने भए तापनि सरकारले यी पदाधिकारीहरूको विवादास्पद रूपमा पहिल्यै चयनको गरेको हो । यी पदाधिकारीको चयनको बारेमा अहिलेसम्म आईओसीले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
इन्डियन ओलम्पिक एसोसिएसनका अध्यक्ष सुरेश कलमाडीले आफू आईएओको अध्यक्ष पदमा नबस्ने भनी केही समय पहिले आफ्नो पदबाट राजीनामा दिएका थिए । कलमाडीको राजीनामासँगै आईओसीले आईओएका सिनियर भाइस प्रेसिडेन्ड विजय मलहोत्रालाई कार्यवाहक अध्यक्ष बनाएको थियो । यसरी रिक्त भएको अध्यक्ष पदका लागि इन्डियन ओलम्पिक एसोसिएसनले आफूखुसी अर्थात् भारतीय खेल ऐनअनुसार निर्वाचन गरेको थियो । उक्त कुराप्रति आईओसीले असहमति जनाउँदै ओलम्पिक चार्टरबमोजिम निर्वाचन गर्न पत्रमार्फत सुझाव दिएको थियो । साथै आईओसीले ओलम्पिक चार्टरबमोजिम निर्वाचन नगरे आईओएलाई निलम्बित गर्ने चेतावनीसमेत दिएको थियो । यो कुराको भारतीय खेल जगत्मा व्यापक विरोध भए पनि अन्त्यमा आईओसीको निर्णयको अगाडि सबैले नतमस्तक हुनुपरेको छ । अब ओलम्पिक चार्टरअनुसार संशोधन गरिएको मितिमै आईओएको निर्वाचन हुने पक्का भएको छ ।
यो कुराले के प्रस्ट हुन्छ भने ओलम्पिकसँग सम्बन्धित जुनसुकै विवादको समाधान ओलम्पिक चार्टरबिना हुन सक्तैन अर्थात् आईओसीलाई नजरअन्दाज गरेर जान मिल्दैन । तर, विडम्बना नेपालमा यसको ठीक विपरीत कार्य भइरहेको छ । वास्तविकता बुझेर पनि बुझपचाउने कार्य भएको छ । सम्बन्धित राष्ट्रिय खेलकुद परिषद्ले ओलम्पिक विवादको समाधानका लागि आईओसीसँग हातेमालो गर्नुको साटो सरकारसमक्ष गुहार मागिरहेको छ । जुन असम्भवप्राय: निश्चित छ । सरकारले चाहेर पनि यस विषयमा केही गर्न सक्तैन । सरकारको अन्तिम अस्त्र भनेको आईओसीसँग गुहार माग्नु मात्रै हो । विश्वका जुनसुकै राष्ट्रमा ओलम्पिक गतिविधि ओलम्पिक चार्टरबमोजिम चल्ने भएकाले राज्यको कुनै पनि हस्तक्षेप प्रभावकारी हुँदैन । नेपालमा सर्वोच्च अदालतको फैसला कार्यान्वयन नहुनुको कारण पनि यही हो । तसर्थ सर्वोच्चको फैसलाको सम्मान र ओलम्पिक चार्टरको मर्मलाई आत्मसात् गर्दै अगाडि नबढे ओलम्पिकको विवाद समाधान हुने देखिँदैन । यसका लागि राष्ट्रियस्तरमा मान्यता पाएको रुक्मशमशेर राणाको ओलम्पिक कमिटीले प्रधान ओलम्पिक कमिटीको अगाडि हतियार बिसाउनुको अर्को विकल्प छैन । जुन शाश्वत सत्य हो । जसलाई राणाले राम्रोसँग मात्र नभई पोलिस लगाएर बुझेका छन् ।
साँचो अर्थमा भन्ने हो भने ओलम्पिक कमिटीको विवाद एक मिनेटमै समाधान हुनसक्छ । जसका लागि दुवै पक्ष लचिलो हुनुको साथै त्याग गर्न सक्नुपर्छ । यसको अर्थ सर्वोच्चको फैसलालाई च्याँखेदाउ बनाउनुभन्दा त्यही फैसलालाई सम्मान दिने कार्य गर्नुपर्छ । झिँगेदाउ लगाएर सिङ्गो मुलुकको खेलकुदलाई अस्तव्यस्त गर्नुको साटो वास्तविकतालाई बुझेर मार्गप्रशस्त गर्नुपर्छ । राणाले समग्र खेलकुदको हित र विकासका लागि सर्वोच्चको फैसलालाई मेलमिलापको वातावरणमा बदल्न सक्नुपर्छ । नेपाल ओलम्पिक कमिटीप्रति आफ्नो कुनै चासो नरहेको प्रस्ट पारिसकेका राणाले चम्चे र भरौटेहरूको कुरामा लागेर ओलम्पिक चार्टरको मर्मलाई कदापि बिर्सन मिल्दैन । राणालाई सबै कुरा ज्ञात भएर पनि अहिलेसम्म किन मौनधारण गरेका छन् त्यो बुझ्न सकिएको छैन । राणा आईओसीको विरुद्धमा जान सक्तैनन् त्यो सबैले जानेको–बुझेको कुरा हो । तर, विडम्बना चम्चे र भरौटेहरूको साख जोगाउन उनले किन तिकडम गरिरहेका छन् त्यो बुझिनसक्नु भएको छ ।
ध्रुवसत्य के हो भने नेपाल ओलम्पिक कमिटीबाट ध्रुव प्रधानलाई कसैले हटाउन सक्तैन । जसले जस्तोसुखै सकुनी, शिखण्डी चाल चले पनि त्यो निस्तेज हुनेमा सायदै दुईमत होला । सरकारले प्रधानको ओलम्पिक कमिटीलाई निलम्बित गरे त्यसको प्रभाव प्रधानलाई होइन नेपालको खेलकुदमा पर्नेछ । प्रधानको वैधानिकता नेपालमा नरहे पनि अन्तर्राष्ट्रियस्तरमा कायमै रहनेछ । यसको अर्थ प्रधान नै सर्वेसर्वा । अनि सरकारको कारबाहीको के अर्थ ? जसले पुन: प्रधानलाई नै सर्वेसर्वा बनाउँछ भने । साँचो रूपमा भन्ने हो भने जबसम्म अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको समर्थन प्रधानको ओलम्पिक कमिटीलाई रहन्छ तबसम्म जसले जतिपटक टाउको फुटाए पनि केही हुनेवाला छैन । यदि त्यसो हुने थियो भने आज सर्वोच्चले फैसला सुनाएको पनि यति लामो समय बितिसक्यो त्यो किन कार्यान्वयन हुन सकेको छैन ? यसैबाट अनुमान लगाउन सकिन्छ ।
अन्तिम सत्य के हो भने यदि ओलम्पिकको गतिविधिमा यसरी नै प्रहार हुने हो भने भविष्यमा नेपालमाथि आईओसीले प्रतिबन्ध लगाउन सक्छ । कोही छ यसका लागि तयार ? सस्तो लोकप्रियता कमाउन मुखले जे बोले पनि प्रतिबन्धको प्रहार सहन सक्ने कसैमा आँट र साहस छैन । खेलकुदका जिम्मेवार पदाधिकारीले ओलम्पिक खेलेर कत्रो नै बाघ मारेका छौ, नखेलेर के नै हुन्छ ? लागोस् आठ–दश वर्ष प्रतिबन्ध भनेर बेलाबेलामा खोके पनि त्यसको नकारात्मक असर खेलकुद र खेलाडीमाथि कत्तिको पर्छ त्यो राम्रोसँग बुझेका छन् । त्यसैले वर्तमान अवस्थामा राज्यशक्तिका सम्पूर्ण अङ्ग परिचालन गरे पनि ओलम्पिक विवादको समाधान निस्कनेवाला छैन । बरु यसले विराट र विकृतिको रूप मात्रै धारण गर्नेछ । तसर्थ भविष्यमा जस्तै विषम परिस्थितिको सिर्जना भए पनि ध्रुव प्रधान र जीवनराम श्रेष्ठले ओलम्पिकलाई झोलामा राखेर चलाउन सक्छन् । उनीहरूले नै अन्तर्राष्ट्रिय मान्यता र वैधानिकता पाउनेछन् । यस्तो अवस्थामा खेलकुद र खेलाडीको भविष्य के होला कल्पनासमेत गर्न सकिँदैन ।
तसर्थ अब ओलम्पिक विवादको जुहारीमा सदाका लागि पूर्णविराम लगाउनु नै बुद्धिमानी ठहरिनेछ । यसैमा समग्र खेलकुद र खेलाडीको कल्याण हुनेछ । भारतजस्तो शक्तिशाली राष्ट्रले समेत खेलकुदको विकास र विस्तारलाई आत्मसात् गर्दै ओलम्पिक चार्टरसमक्ष नतमस्तक भएको अवस्थामा नेपालले पनि त्यसको अनुशरण गरे कसो होला ? बूढापाकाहरूको अर्ती नै छ– राम्रो कुरा अनुशरण गर्नू, नराम्रो कुराको नजिकै नपर्नू । यदि हाम्रा खेलकुद पदाधिकारीहरूको पनि यस्तै सद्बुद्धि पलायो भने नेपाली खेलकुदले पनि फल्ने, फुल्ने र फक्रने मौका अवश्य पाउनेछ । जय होस् ।

करातेकी उदीयमान खेलाडी मल्लिका
उनी खेलाडी बन्नेभन्दा पनि अभ्यासका लागि कराते खेल्न थालेकी थिइन् । घरनजिकैको बालाजु डोजो उनका लागि पानीपँधेरोजस्तै थियो । आफूहरूजस्तै उमेरका अरूहरूले बालाजु डोजोमा करातेको प्रशिक्षण लिएको देखेपछि उनलाई पनि कराते खेल्न मन लागेको थियो ।
सात वर्षको कलिलो उमेरमा करातेमा हामफाल्दा उनको उद्देश्य र गन्तव्यको कुनै अत्तोपत्तो थिएन । उनी सिक्नका लागि मात्र कराते खेल्न थालेकी थिइन् । तर, यो कुरा भावीलाई मन्जुर थिएन । सिक्नका लागि कराते खेल्न थाले पनि उनको करातेप्रतिको लगाव र उत्कृष्ट प्रदर्शनले बालाजु डोजोका मुख्य प्रशिक्षक ध्रुवविक्रम मल्लको मन जितेको थियो । यही कुरालाई आत्मसात् गर्दै मल्लले उनलाई विशेष रेखदेखमा राखेर प्रशिक्षण दिन थालेका थिए । मल्लकै निगरानीमा अझ उत्कृष्ट प्रदर्शन गरेपछि उनी सात वर्षकै उमेरमा चर्चित कराते खेलाडी बन्न पुगेकी थिइन् । यसरी सौखको रूपमा कराते खेललाई आत्मसात् गरे पनि अहिले उनी नेपालकै चर्चित खेलाडीको रूपमा आवरणमा देखिएकी छिन् । उनी हुन्– करातेकी उदीयमान खेलाडी मल्लिका थापा ।
०५८ मा करातेको प्रशिक्षण लिएको ६ महिनापश्चात् नै मल्लिकालाई जुनियर २० केजीतर्फ प्रतिस्पर्धा गर्ने अवसर प्राप्त भएको थियो । विद्यालयस्तरको उक्त पहिलो प्रतिस्पर्धामै मल्लिकाले रजत पदक जितेर आफूलाई उत्कृष्ट खेलाडी भएको सावित गरिन् । पहिलो प्रतिस्पर्धामै दोस्रो स्थान हासिल गरेपछि उनको हौसला निकै बुलन्द भएको थियो । त्यसपछि मल्लिकाले अझ मिहिनेत गर्न थालिन् । फलस्वरूप केही समयपश्चात् नै भएको अर्को विद्यालयस्तरको कराते प्रतियोगितामा उनले स्वर्ण पदक जितेर देखाइदिइन् । यसपछि उनले अहिलेसम्म दोस्रो हुनुपरेको छैन । ०५९ सालदेखि राष्ट्रियस्तरका प्रतियोगितामा प्रतिस्पर्धा गर्न थालेकी मल्लिकाले अहिलेसम्म ४० भन्दा बढी प्रतियोगितामा प्रतिस्पर्धा गरिसकेकी छिन् । ती सबै प्रतियोगितामा स्वर्ण पदक जितेर उनले कीर्तिमानसमेत बनाएकी छिन् । जसले गर्दा अहिले उनको कोठा स्वर्ण पदकले भरिएको छ । छोटो समयमा राष्ट्रियस्तरका प्रतियोगितामा तहल्का मच्चाए पनि उमेर नपुगेका (१८ वर्ष) कारण पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्न नपाएकोमा अहिलेसम्म पछुतो लागेको स्मरण गराइन् । यदि उमेरको हदबन्दी नभएको भए मल्लिकाले उक्त प्रतियोगितामा स्वर्ण पदक जित्ने ग्यारेन्टी भएको प्रशिक्षक मल्लले बताए ।
सफलताले चुम्दै गएपछि ०६४ मा मल्लिकाले पहिलोपटक अन्तर्राष्ट्रिय करातेमा आफ्नो भाग्य अजमाउने मौका पाइन् । भारतमा भएको सार्क कराते च्याम्पियनसिपमा पहिलोपटक सहभागिता जनाएकी मल्लिकाले आफ्नो नामअनुसारको प्रदर्शन गर्दै पहिलो अन्तर्राष्ट्रिय सहभागितामै स्वर्ण पदक जितेर सुखद अध्यायको शुभारम्भ गरेकी थिइन् । उनले उक्त च्याम्पियनसिपमा पाकिस्तानकी खेलाडीलाई पराजित गरेकी थिइन् । यसरी पहिलो अन्तर्राष्ट्रिय सहभागितामै स्वर्ण पदक जितेपछि उनको आत्मबल बढ्नुको साथै अझ राम्रो गर्ने प्रेरणा मिलेको उनले स्मरण गराइन् । यसपछि उनी थुप्रै स्वदेश र विदेशमा आयोजना भएका कराते प्रतियोगितामा सफलताको झण्डा गाड्न सफल भएकी थिइन् । अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने क्रममा सन् २०१० मा मलेसियामा आयोजना भएको चौथो एसियन कोई कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त भएको थियो । एसियाका उत्कृष्ट खेलाडीको सहभागिता रहेको उक्त च्याम्पियनसिपमा मल्लिकाले जादुमय खेलको प्रदर्शन गर्दै तीनवटा कास्य पदक जित्न सफल भएकी थिइन् । मल्लिकाले एज, वेट र कातामा उक्त पदक जितेकी थिइन् । जुन कुनै पनि नेपाली खेलाडीले एसियनस्तरमा जितेको कीर्तिमानी पदक थियो । यो प्रतियोगितामा तीनवटा पदक जितेपछि बालाजु कराते डो एकेडेमीले मल्लिकालाई प्रोत्साहनस्वरूप ३० हजार नगद पुरस्कार प्रदान गरेको थियो ।
त्यसको ठीक एक वर्षपछि अर्थात् सन् २०११ मा मलेसियामा भएको २०औँ कोबे ओशाका वल्र्डकप कराते च्याम्पियनसिपमा मल्लिकाले उमेर समूहमा खेल्ने अवसर पाएकी थिइन् । विश्वका पचासभन्दा बढी राष्ट्रको सहभागिता रहेको उक्त च्याम्पियनसिपमा आफ्नो सफलता पुन: दोहर्‍याउँदै मल्लिकाले कास्य पदक जितेर नेपालको झण्डा अन्तर्राष्ट्रियस्तरमा फहराउन सफल भएकी थिइन् । त्यस्तै सोही वर्ष मलेसियामा आयोजना भएको चौथो एसएमए कपमा पुन: तेस्रो स्थान हासिल गरेपछि मल्लिकाको खेलजीवनमा चार चाँद लागेको थियो । उनी नेपालकी प्रतिभाशाली उदीयमान खेलाडीको रूपमा देखा परेकी थिइन् । मल्लिकाको उत्कृष्टताले शिखर चुम्दै गएको अवस्थामा उनले सन् २०१२ मा बंगलादेशमा आयोजना भएको अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन् । उनको यो सफलताको कदर गर्दै राष्ट्रिय खेलकुद परिषद्ले १० हजार नगद प्रदान गरेको थियो । आफ्नो प्रतिभालाई सधैं खुकुरीको जस्तै साँध लगाएर राख्ने मल्लिका ग्वान्झाउमा भएको १६ एसियाली खेलकुद प्रतियोगिताका लागि समेत छनोट भएकी थिइन् । तर, दुर्भाग्य १८ वर्ष पुगेका खेलाडीले मात्र खेल्न पाउने नियमले गर्दा उनले छनोट भएर पनि एसियाडमा खेल्ने अवसर गुमाउनुपरेको थियो । मल्लिका त्यसबेला मात्र १६ वर्षकी थिइन् ।
मल्लिका अहिले १८ वर्षकी भइन् । उनी अहिले मिसन सागको प्रशिक्षणमा व्यस्त छिन् । गत वर्ष सुदूरपश्चिमा सम्पन्न छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेपछि उनी सागका लागि छनोट भएकी हुन् । बिहान साढे दुई घन्टा रंगशाला र बेलुका दुई घन्टा बालाजु डोजोमा प्रशिक्षण गरिरहेकी मल्लिका यो प्रशिक्षणले आफ्नो खेलमा निकै सुधार आएको बताउँछिन् । दुवैतर्फ राम्रो प्रशिक्षण भएको बताउने मल्लिकाले रंगशालामा दीपक श्रेष्ठ, अकवर र छोरी डङ्गोल र बालाजुमा ध्रुवविक्रम मल्ल र श्याम राईले प्रशिक्षण दिइरहेको बताइन् । अहिले आफ्नो खेलमा निकै सुधार भएको बताउने मल्लिकाले स्वदेशीसँगै विदेशी प्रशिक्षणको पनि व्यवस्था भएमा अझ राम्रो हुने प्रस्ट पारिन् ।
घरपरिवारबाट साथ र प्रोत्साहन पाएकी मल्लिका आफ्नो सफलताको द्योतकको रूपमा बुबा किरण थापा र ध्रुवविक्रम मल्ल भएको बताइन् । गुरुको प्रेरणा र बुबाको आशीर्वादले आफू यहाँसम्म आइपुगेको बताउने मल्लिकाले आफ्नो अविष्मरणीय क्षणको रूपमा ग्वान्झाउ एसियाडलाई चित्रित गरेकी छिन् । आफू एसियाडका लागि छनोट भएर पनि खेल्न नपाएकोमा निकै कुठाराघात भएको उनको ठम्याइ छ । त्यस्तै उनले आफ्नो सुखद क्षणको रूपमा वल्र्डकप खेल्ने अवसर पाउँदा र त्यसमा पदक जित्दाको आनन्दलाई लिएकी छिन् । त्यो क्षण सम्झँदा अहिले पनि उनी निकै रमाउने पनि खुलासा गरेकी छिन् । छोटो समयमा करातेमा लामो फड्को मारिसकेकी मल्लिकाले भविष्यको लक्ष्य रूपमा १२औँ साग र १७ एसियाडलाई बनाएकी छिन् । दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा स्वर्ण पदक जित्ने र एसियाडमा पदक जितेर मुलुकको मान, सम्मान र प्रतिष्ठालाई अन्तराष्ट्रमा पुर्‍याउने सपना देखेकी छिन् । कामना गरौँ, मल्लिकाको यो सपना पूरा होस् ।

सफ्ट टेनिसमा नेपाललाई रजत
चाइनिज ताइपेईको चियायीमा भएको सातौँ एसियाली सफ्ट टेनिस च्याम्पियनसिपअन्तर्गत कोन्सोलेसनतर्फ नेपालले महिला टिम इभेन्टमा रजत जितेको छ । नेपालले मकाउलाई २–१ ले पराजित गरी रजत जितेको टोली प्रशिक्षक नीरा कायस्थले बताइन् । दुई डबल्स र एक सिङ्गल्सको टिम इभेन्टको सेमिफाइनलअन्तर्गत सिङ्गल्समा नेपालकी नीरू कायस्थले मकाउकी नाकाडा नात्सुकीलाई ३–० ले हराइन् भने डबल्समा नेपालका रितु गुरुङ र रेखा तुलाधरको जोडीले मकाउका खेलाडीबाट वाकओभर पाएका थिए । नेपालको अर्को जोडी चन्द्रामाया राई र एलिजा रञ्जितको जोडी कामेयामा काओरी र होइ लोकीलाई ४–१ ले पराजित गरेका थिए । फाइनलमा नेपाली टोली भारतसँग २–१ ले पराजित भएको थियो । प्रतियोगिता नोभेम्बर १४ देखि २१ तारिखसम्म भएको थियो ।

पर्यटन तथा खेलकुद मासिकको प्रारम्भ
नेपाल पर्यटन क्षेत्रको समग्र विकासका लागि सूचना प्रवाहद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्ने उद्देश्यका साथ पर्यटन समाचार मासिकको प्रकाशन प्रारम्भ भएको छ । प्रज्वल थापा सम्पादक रहेको ‘पर्यटन तथा खेलकुद नेपाल’ नामक सो मासिकले नेपालको पर्यटन, पर्यटकीय तथा वातावरणीय विषयका साथै नेपाली कला–संस्कृति, सांस्कृतिक–प्राकृतिक पहिचानका साथै नेपाललाई विश्वमा उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनका साथै साहसिक खेल पर्यटनको उत्कृष्ट गन्तव्यको रूपमा चिनाउने हेतुले पर्यटन एवम् पर्यटनसम्बन्धी गहन समाचार तथा खोजमूलक लेख सामग्रीका साथ प्रत्येक महिना अङ्गे्रजी तथा नेपाली भाषामा प्रकाशित हुनेछ । साथै यस पर्यटन मासिकले प्रत्येक वर्ष पर्यटनसम्बन्धी विधामा कलम चलाउनेमध्ये उत्कृष्ट एकजना एवम् खेलकुद विधामा कलम चलाउने उत्कृष्ट एक पत्रकारलाई ‘पर्यटन तथा खेलकुद सम्मान’ प्रदान गर्ने जनाएको छ ।

दक्षिण एसियाली गोजुरियोमा नेपाल पहिलो
नेपालले प्रथम दक्षिण एसियाली गोजुरियो कराते प्रतियोगितामा पहिलो स्थान हात पारेको छ । टिम च्याम्पियन नेपालले ३१ स्वर्ण, २७ रजत १५ कास्य जितेको थियो । दोस्रो भएको भारत ६ स्वर्ण, १० रजत र १८ कास्यमै सीमित भयो । तेस्रो स्थानमा रहेको बंगलादेशले दुई स्वर्ण, २० रजत र ३० कास्य हासिल गरेको थियो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको अन्तिम दिन सिनियरतर्फ पुरुषको ५० केजीमा नेपालका प्रयाग तिरुवा, ६५ केजीमा नेपालका हीरालाल चौधरी तथा ५५ केजीमा रामवृक्ष ठाकुरले स्वर्ण जितेका थिए । सिनियरतर्फ महिलाको ४५ केजीमा नेपालकी गोमा शाही तथा ५० केजीमा नेपालकी सिर्जना सुवेदी पहिलो भए ।
जुनियर महिलाको ४५ केजीमा नेपालकी गोमा शाहीले शीर्ष स्थान हात पारिन् । क्याडेटतर्फ महिला ११ वर्षमुनि दीक्षा राई प्रथम भइन् । नेपाल गोजुरियो कराते डो सङ्घद्वारा आयोजित प्रतियोगिताको पुरुषमा भारतका अशिष पी. खड्का तथा महिलामा नेपालकी सङ्गीता मगर उत्कृष्ट खेलाडी चुनिएका थिए । विजेतालाई राखेप सदस्यसचिव युवराज लामालगायतले पुरस्कार प्रदान गरेका थिए ।

नुवाकोटको तारुकामा गोरु सम्मेलन हुने
नेपाल ओलम्पिक सङ्ग्रहालयको आयोजना तथा माघेसङ्क्रान्ति मेला व्यवस्थापन समितिको व्यवस्थापनमा प्रथम गोरु सम्मेलन नुवाकोटको तारुकामा पुस १ गते हुने भएको छ । गोरुजुधाइ खेलको तयारीका लागि सम्मेलन गर्न लागिएको सङ्ग्रहालयका अध्यक्ष क्षितिज अरुण श्रेष्ठले जानकारी गराएका छन् । सम्मेलनमा ३० गोरु र गोरुमालिकको सहभागिता रहने बताइएको छ । प्रतियोगिता नुवाकोट र काठमाडौंमा हुनेछ । नुवाकोटमा माघ १ गते तथा काठमाडौंमा माघ १९ र २० मा हुनेछ । प्रतियोगितालाई नियमबद्ध र व्यवस्थित गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको हो ।

एसियाली फुलकन्ट्याक्ट टोलीको बिदाइ
भारतको केरलामा हुने १३औँ अल इन्डिया एसियाली पुरुष तथा महिला फुलकन्ट्याक्ट कराते प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीलाई हालै बिदाइ गरियो । पाँच खेलाडीसहित आठ सदस्यीय नेपाल टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले बिदाइ गरेका थिए । पुरुषतर्फ ज्ञानबहादुर तामाङ, भूपेश शाक्य, वीरमान लामा तथा केन्द्रकुमार श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । महिलामा ज्योति लामाले खेल्नेछिन् । टोलीको नेतृत्व ब्रान्च चिफ रामजीप्रसाद बज्राचार्यले गर्नेछन् । प्रशिक्षकमा चन्द्रश्याम डङ्गोल तथा अफिसियलमा प्रभाकर महर्जन छन् । प्रतियोगिता डिसेम्बर ६ देखि ९ तारिखसम्म सञ्चालन हुनेछ ।