आईओसीको प्रतिबन्ध नेपाललाई पाठ

आईओसीको प्रतिबन्ध नेपाललाई पाठ


भारतीय खेलकुदमा ठूलो धक्का अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी
(आईओसीे)ले गत साता इन्डियन ओलम्पिक एसोसिएसन (आईओए) माथि प्रतिबन्ध लगाएको छ । आईओसीले ओलम्पिक चार्टरबमोजिम निर्वाचन नगरेको र आईओएमाथि सरकारी हस्तक्षेप गरेका कारण प्रतिबन्ध लगाएको हो । नोभेम्बर २५ का हुने भनिएको आईओएको निर्वाचनअघि नै सरकारले हस्तक्षेप गरी अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्षमा सरकारी व्यक्तिहरूलाई निर्विरोध निर्वाचित गरेको थियो । भारतीय खेल ऐनअनुसार भएको उक्त निर्वाचनप्रति आईओसीले असहमति जनाउँदै ओलम्पिक चार्टरबमोजिम निर्वाचन गर्न पत्रमार्फत सुझाव दिएको थियो । यसपछि ५ डिसेम्बरमा आईओएको निर्वाचन तोकिए पनि सरकारले आफ्नो निर्णयमा कुनै फेरबदल नगर्दा आईओसीले प्रतिबन्ध लगाएको हो । यो प्रतिबन्धपश्चात् अब भारतले ओलम्पिक, एसियन, कमनवेल्थ र दक्षिण एसियाली खेलकुद (साग) जस्ता प्रतिष्ठित प्रतियोगिता खेल्न पाउने छैन । त्यस्तै भारतीय खेलकुदको विकासका लागि आउने सम्पूर्ण आर्थिक सहयोग बन्द हुनेछ । जसले गर्दा यो घटनालाई भारतीय खेलकुद पदाधिकारीले ‘ठूलो धक्का’ भएको बताएका छन् ।
ओलम्पिक चार्टरअनुसार नचलेको र सरकारी हस्तक्षेप गरेका कारण आईओसीले भारतमाथि प्रतिबन्ध लगाएपछि अहिले नेपालमा यो घटनाले निकै चर्चा पाएको छ । राष्ट्रिय खेलकुद परिषद्ले ओलम्पिक विवादको समाधान ‘निर्वाचन’ मात्र भएको निष्कर्ष निकालिरहेको अवस्थामा आईओसीले भारत सरकारले गरेको निर्वाचनलाई धोती लगाइदिएको छ । यो कुराले ओलम्पिक चार्टरबमोजिम निर्वाचन नभए त्यसको कुनै अस्तित्व नहुने प्रस्ट देखिएको छ । यदि सरकारले शक्तिका दुरुपयोग गर्दै हस्तक्षेप गरी जबर्जस्ती निर्वाचन गराए त्यसले प्रतिबन्धको भागीदार हुनुपर्ने भारतमाथि लागेको प्रतिबन्धले स्पष्ट पारेको छ । ओलम्पिक गतिविधिमा सरकारी हस्तक्षेपको सदा विरोध गर्दै आएको आईओसीले पटक–पटक पत्राचार गरेर भारत सरकारलाई यो कुराको जानकारी गराउँदै आएको थियो । तर, त्यहाँको सरकारले आईओसीको चेतावनीलाई बेवास्ता गर्दा अहिले प्रतिबन्धको सिकार हुनुपरेको छ । जसले गर्दा ओलम्पिक खेलकुदमा नयाँ शक्तिको रूपमा उदाउँदै गरेको भारतलाई नराम्रो झट्का लागेको छ ।
ओलम्पिक विवादकै कारण भारतमाथि प्रतिबन्ध लागेपछि नेपालमा पनि यसको तरङ्ग फैलिएको छ । विगत लामो समयदेखि ओलम्पिक कमिटीको विवादले अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो साख गुमाउँदै आएको नेपालले यो पाठलाई आत्मसात् गरेन भने जुन बेला पनि अप्रिय समाचार आउन सक्छ । भारतजस्तो शक्तिशाली र खेलकुदको हस्ती राष्ट्रलाई प्रतिबन्ध लगाउन सक्ने आईओसीले नेपालतर्फ पनि निशाना साँध्यो भने त्यो निकै दुर्भाग्यपूर्ण हुनेछ । यतिबेला ओलम्पिक चार्टरबमोजिम आफ्नो कार्य अगाडि बढाइरहेको ध्रुवबहादुर प्रधान अध्यक्ष रहेको ओलम्पिक कमिटीमाथि सरकारी हस्तक्षेपका बादल मडारिरहेका छन् । तसर्थ सरकारले कुनै पनि कदम चाल्नुअघि आफ्नो विवेक प्रयोग गर्नुपर्ने प्रस्ट देखिएको छ । अन्यथा नेपालमाथि प्रतिबन्ध लाग्यो भने त्यो अनौठो मानिने छैन । जुन नेपाली खेलकुदका लागि दुर्भाग्य सावित हुनेछ । साथै यसको जिम्मेवारी खुद सरकारले लिनुपर्नेछ ।
‘ओलम्पिक विवाद’ सदाका लागि समाप्त गर्न सरकारको पहलकदमी नै रामवाण हुने प्राय! निश्चित छ । जसका लागि सरकारले यथाशीघ्र कदम चाल्नुपर्ने आवश्यकता भइसकेको छ । यसका लागि सरकारले सर्वोच्चको फैसलालाई सम्मान गर्दै उचित वातावरणको व्यवस्था गरिदिए पुग्छ । सरकारले दुवै पक्षलाई एक ठाउँमा राखी राखेपलाई अभिभावकको भूमिकामा उतार्नुपर्छ । यो राष्ट्रको प्रतिष्ठासँग गाँसिएको मुद्दा भएकोले दुवै पक्षलाई हदैसम्म लचिलो र त्याग गराउन सरकारले सक्नुपर्छ । एकले हामी मिल्यौँ भनेर सर्वोच्च फैसलाको सम्मान गर्नुपर्छ भने अर्कोले उनीहरूको त्यागको बदलामा ओलम्पिक कमिटीमा अटाउने वातावरण बनाउनुपर्छ । खेलकुदलाई निकास दिन आफ्ना व्यक्तिगत माग र स्वार्थभन्दा माथि उठेर सोच्नुपर्छ । यो नेपाल ओलम्पिक कमिटीको विवादको समाधानको उपाय भए पनि अहिलेसम्म यसतर्फ सरकारको ध्यान गएको छैन । तसर्थ सरकारले एनओसीको विवादलाई समाधान गर्न सर्वोच्चको फैसला र ओलम्पिक चार्टरलाई ध्यानमा राखेर उचित कदम उठाउनुपर्छ । जुन नेपाली खेलकुद र खेलाडीको पक्षमा हुनुपर्छ ।
सर्वोच्चको फैसलालाई च्याँखेदाउ बनाएर ओलम्पिकमाथि कब्जा जमाउने सपना देख्दै आएकाको धारणा के हो ? त्यो सरकारले मोटो चस्मा लगाएर बुझ्नुपर्ने भइसकेको छ । जसको खेलकुदमा धरातल छैन, जो राजनीतिक शक्तिलाई हतियार बनाएर खेलकुदमा भाँडभैलो र उद्दण्डता मच्चाउन चाहन्छन्, त्यस्तालाई सरकारले प्रश्रय दिनुको साटो नजिकबाट चिन्नु आवश्यक भइसकेको छ । को सही छ, को गलत ? यसकोे छिनोफानो हुन आवश्यक भएकोले सरकार ओलम्पिक विवादसँग गम्भीर हुन जरुरी भइसकेको छ । प्रधानमन्त्री बाबुराम भट्टराई खेलकुदको संरक्षक भएका नाताले पनि उहाँले छिनोफानो गर्नैपर्छ । अझ ओलम्पिक विवादलाई सुल्झाउन राखेप र खेलाडीले विभिन्न समयमा ज्ञापनपत्र बुझाएकाले पनि यसलाई सकारात्मक दृष्टिले हेर्नुपर्छ । प्रधानमन्त्री स्वयम्ले ओलम्पिक विवादलाई क्यान्सरको संज्ञा दिँदै त्यसको उपचार गर्नुपर्ने धारणा व्यक्त गरेको लामो समय बितिसक्दा पनि समाधानका लागि कुनै पहल नगर्नु दुर्भाग्य भएको छ । प्रधानमन्त्री भट्टराईले राजनीतिक निर्णयका कारणले सिर्जना भएको ओलम्पिक विवादलाई राजनीतिक निर्णय गरेर समाधान गर्नुपर्ने देखिएको छ । यसका लागि भट्टराईले राजनीतिक आग्रह, पूर्वाग्रहभन्दा माथि उठेर अर्थात् खेलकुद र खेलाडीको हितलाई दृष्टिगत गर्न सक्नुपर्छ । जसको साक्षीको रूपमा ओलम्पिक चार्टरको सर्वमान्यतालाई आत्मसात् गरे पुग्छ । त्यो सर्वपक्षीय हित र कल्याणकारी हुनेमा सायदै कसैको दुईमत होला ।
ओलम्पिक कमिटीको विवादलाई मुद्दा बनाएर अहिले झिङे र च्याँखेदाउ थाप्नेको निकै बिगबिगी बढेको छ । जो रुक्मशमशेर राणा र ध्रुवबहादुर प्रधानलाई सदाका लागि एनओसीबाट विस्थापित गर्न अग्रसर देखिएका छन् । उनीहरूको औकात खेलकुद सङ्घको सदस्य बन्नेजत्तिको नभए पनि राजनीतिक शक्तिको आडमा राखेप र ओलम्पिक कमिटीमा आफ्नो हुकुमत चलाउन चाहन्छन् । उनीहरूको त्यो अभीष्ट पूरा हुन नदिन र खेलकुदलाई राजनीतिको फोहोरी खेलबाट बचाउन ओलम्पिकको विवाद यथाशीघ्र समाधान गर्नुपर्ने देखिएको छ । मुलुकको सङ्क्रमणकालीन अवस्थाको फाइदा उठाउँदै आफ्नो दुनो सोझ्याउन उद्यत यस्ता व्यक्तिबाट खेलकुदलाई जोगाउन समयमै सही मार्गमा डोर्‍याउन सकिएन भने भोलि यसले अझ विकराल रूप धारण गर्ने प्राय! निश्चित छ । तसर्थ सरकारले समयमै बुद्धि पुर्‍याई दूधको दूध पानीको पानी छुट्याउनेतर्फ लाग्नुपर्छ । खेलकुदलाई राजनीतिक कार्यकर्ताको नभई खेलाडीको पेवा बनाउनुपर्छ । आशा गरौँ, बुद्धिमान प्रधानमन्त्रीले बुद्धिमानी काम अवश्य गर्नेछन् ।

उत्तरभेगीय राष्ट्रिय बक्सिङको तयारी पूरा
काठमाडौंको उत्तरभेगीय परिवारको अयोजनामा हुन गइरहेको प्रथम राष्ट्रव्यापी खुला बक्सिङ प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिता मङ्सिर २७ देखि चार दिनसम्म बुढानीलकण्ठको गाम्चामा हुनेछ । प्रतियोगितामा विभिन्न जिल्ला, क्लब र तीन विभागीय टोलीका एक सय ५० खेलाडीको सहभागिता रहनेछ ।
सहभागी हुने उपत्यकाबाहिरका खेलाडीलाई खाना, बसोबासका साथै भत्ताको समेत व्यवस्था गरिएको आयोजक उत्तरभेगीय परिवारका कोषाध्यक्ष प्रकाश श्रेष्ठले बताए । प्रतियोगिता उत्तरी भेगको प्रतिष्ठा अभिवृद्धिसँगै पुरातात्विक महत्वको चिनारीका लागि कोसेढुङ्गा सावित हुने कोषाध्यक्ष श्रेष्ठले बताए । प्रतियोगिता आयोजना गर्न करिब २० लाख रुपैयाँ खर्च हुने र हालसम्म स्थानीय, विभिन्न दाताहरूबाट करिब तीन लाख सङ्कलन भएको कोषाध्यक्ष श्रेष्ठले जानकारी गराए । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले पनि सक्दो सहयोग प्रदान गर्ने वचनबद्धता प्रकट गरेको र अपुग रकम आयोजक समितिबाटै उठाइने कोषाध्यक्ष श्रेष्ठले जानकारी गराएका थिए ।
उत्तरी भेगलाई मजबुत बनाउन र खेलकुदकै माध्यमबाट चिनाउन यो प्रतियोगिता महत्वपूर्ण माध्यम बन्ने हुनाले यस क्षेत्रका सबैको सहयोग र सद्भाव प्राप्त हुने विश्वास लिएको सहकोषाध्यक्ष अच्युतप्रसाद लामिछानेले बताए । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न ३२ सदस्यीय मूल आयोजक समिति गठन गरिएको लामिछानेले जानकारी गराएका छन् ।

राष्ट्रिय कबड्डी पुस अन्तिम साता
अखिल नेपाल कबड्डी सङ्घको आयोजनामा १८औँ पुरुष तथा १३औँ महिला राष्ट्रिय कबड्डी प्रतियोगिता पुस अन्तिम साता हुने भएको छ । प्रतियोगिता पुस २७ देखि २९ गतेसम्म हुने पत्रकार सम्मेलनमा कबड्डी सङ्घका अध्यक्ष लालकुमार लामाले जानकारी गराए ।
प्रतियोगिताको पुरुष र महिला दुवैमा पाँच विकास क्षेत्र तथा विभागीय टिम नेपाल प्रहरी, नेपाली सेना र विश्वविद्यालय गरी समान आठ–आठ टिमको सहभागिता रहने बताइएको छ । आयोजकका अनुसार प्रतियोगिताको अनुमानित बजेट २१ लाख रुपैयाँ रहेको छ । खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछन् । सो अवसरमा अध्यक्ष लामाले सामान्य ज्ञानमा मात्रै राष्ट्रिय खेलका रूपमा उल्लेखित कबड्डी खेललाई औपचारिक रूपमै नेपालको राष्ट्रिय खेलका रूपमा स्थापित गर्न सङ्घले सक्रिय भूमिका खेल्ने बताएका थिए ।
सोही अवसरमा सुदूरपश्चिमाञ्चलमा भएको छैटौँ राष्ट्रिय खेलकुदको स्वर्ण विजेता कबड्डी टोलीका सदस्यलाई राखेपले सङ्घमार्फत प्रदान गरेको नगद पुरस्कार कबड्डी सङ्घले हस्तान्तरण गरेको छ । पुरुषमा मध्यमाञ्चल तथा महिलामा प्रहरी पहिलो भएका थिए । पुरुष र महिलामा समान १२–१२ गरी २४ खेलाडीलाई तीन हजार सात सय ५० रुपैयाँ (करबाहेक) का दरले अध्यक्ष लामाले खेलाडीलाई हस्तान्तरण गरे । कार्यक्रममा अनुपस्थित खेलाडीलाई भने खेलाडीमार्फत नै सम्बन्धित खेलाडीलाई प्रदान गर्ने गरी नगद पुरस्कार बुझाइएको थियो ।

सेन्टजेभियर्स गोदावरीद्वारा उपाधि रक्षा
साविक विजेता आयोजक सेन्टजेभियर्स स्कुल, गोदावरीले १७औँ फादर मोरान स्मृति आमन्त्रण अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
गोदावरीस्थित घरेलु मैदानमा भएको उपाधि भिडन्तमा सेन्टजेभियर्सले लिटिल एन्जल्स (एलए) लाई १–० ले पराजित गरी उपाधि रक्षा गरेको हो । विजेताका मौसम श्रेष्ठले निर्णायक गोल गरेका थिए । उनले पेनाल्टी अवसरलाई सदुपयोग गरेका थिए । त्यस्तै सेन्टजेभियर्स स्कुल, जावलाखेलले नेपाल एपीएफ स्कुललाई सडन डेथमा पराजित गरी तेस्रो स्थानमा चित्त बुझायो ।
एपीएफका वीरेन्द्र बुढा उत्कृष्ट खेलाडीका साथै सर्वाधिक गोलकर्ता बने । प्रतियोगिताभर उनले १० गोल गरे । सेन्टजेभियर्स, गोदावरीका राजेश जिमी ‘मोस्ट प्रोमिसिङ प्लेयर’ चुनिए । त्यस्तै गोलरक्षकमा एलएका मन्जिल मानन्धर, डिफेन्समा सेन्टजेभियर्स, गोदावरीका असीम खड्का तथा प्रशिक्षकमा सेन्टजेभियर्स, गोदावरीका डम्बरबहादुर स्याङतान उत्कृष्ट ठहरिए । ‘फेयर प्ले’को उपाधि एपीएफले हात पार्‍यो ।

डिसकस थ्रोमा हिरण चौधरीको कीर्तिमान
मिसन साग– २०१३ को दोस्रो चरणको खुला एथलेटिक्स छनोट प्रतियोगिताको महिला डिसकस थ्रोमा नेपाल प्रहरीकी हिरण चौधरीले ३२.२९ मिटर फालेर नयाँ राष्ट्रिय रेकर्ड कायम गरेकी छिन् । यस इभेन्टमा सन् १९८९ मा सुजाता सुब्बाको ३१.५९ मिटरको थियो । चौधरी एथलेटिक्सकी उदीयमान खेलाडी हुन् ।

अन्तर्राष्ट्रिय ह्यान्डबलमा १२ टिम
नेपालमा हुने आईएचएफ ट्रफी अन्तर्राष्ट्रिय ह्यान्डबल प्रतियोगितामा १२ टिमले सहभागिता जनाउने भएका छन् । त्यसमा पुरुष र महिला गरी समान ६–६ टिम रहेको आयोजक नेपाल ह्यान्डबल सङ्घले जनाएको छ । पुरुषको समूह ‘ए’ मा नेपालसहित पाकिस्तान र अफ्गानिस्तान छन् भने समूह ‘बी’मा भारत, यमन र बंगलादेश रहेका छन् । त्यस्तै महिलाको समूह ‘ए’मा भारत, पाकिस्तान र बंगलादेश छन् । नेपालसँगै अफ्गानिस्तान र यमन समूह ‘बी’मा रहेका छन् । अन्तर्राष्ट्रिय ह्यान्डबल सङ्घको मुख्य कार्यक्रमका रूपमा रहेको दक्षिण–मध्यएसियाली क्षेत्रको यो प्रतियोगिता मङ्सिर २७ देखि पुस ३ गतेसम्म हुनेछ । खेल ललितपुरको लगनखेलस्थित नेपाली सेनाको स्पोर्टस् कम्प्लेक्समा हुनेछन् । प्रतियोगितामा पहिलो र दोस्रो हुने टिम दोस्रो चरणको एसियाली महाद्वीपस्तरको आईएचएफ ट्रफीका लागि छनोट हुने ह्यान्डबल सङ्घले जनाएको छ ।

आइबा वल्र्ड सिरिज बक्सिङ मकवानपुरमा
नेपाल बक्सिङ सङ्घको सहयोगमा मकवानपुर जिल्ला बक्सिङ सङ्घले टाटा सुमो गोल्ड आइबा वल्र्ड सिरिज बक्सिङ प्रतियोगिता पुस १२ देखि १४ गतेसम्म मकवानपुरको हेटौंडामा गर्ने भएको छ । प्रतियोगितामा चार टिमको सहभागिता रहने नेपाल बक्सिङ सङ्घका अध्यक्ष राजीव श्रेष्ठले जानकारी गराएका छन् । बक्सिङ सङ्घका महासचिव दीपक गुरुङका अनुसार प्रतिस्पर्धा हुने तौल समूहमा पुरुषको ५१–५४, ६१–६४ र ७०–७१ केजी रहेका छन् । प्रत्येक तौल समूहको विजेताले ३० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार पाउनेछन् । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले प्रतियोगिता सञ्चालन गर्दा प्राविधिक पक्षमा विशेष ध्यान दिनुपर्ने सुझाव दिँदै प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न परिषद्ले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सो अवसरमा खेलकुदमा मनपरी गर्न नपाउने केही मित्रहरूले परिषद् विघटन गर्नुपर्छ भन्ने आफूले सुनेको बताउँदै त्यो सिङ्गो राष्ट्रलाई एकताको सूत्रमा बाँध्ने माध्यम खेलकुद संस्थाप्रति अराजक व्यक्तव्यवाजी गर्ने दुष्प्रयास मात्र हो भनेका थिए । आयोजक जिल्ला सङ्घका सचिव सविन भट्टचार्यले प्रतियोगिताको स्वरूपबारे चर्चा गरेका थिए ।

कृष्ण र मिलनलाई बुद्धिचाल उपाधि
रुसको संविधान दिवसको उपलक्ष्यमा रुसी सांस्कृितक संस्थानले आयोजना गरेको बुद्धिचाल प्रतियोगिताको सिनियर स्पर्धामा कृष्ण थापा पहिलो भएका छन् । थापाले १० खेलमा आठ अङ्क जोडे भने समान आठ अङ्क जोडेका केशव श्रेष्ठ दोस्रो भए । यसैगरी मनीष हमाल तेस्रो भए । प्रतियोगितामा बद्रीलाल नेपाली चौथो भएका थिए ।
प्रतियोगितामा ११ खेलाडीको सहभागिता रहेको थियो । यसै अवसरमा आयोजित जुनियर प्रतियोगितामा अन्नपूर्ण उमाविका मिलन लामा पहिलो भए । ग्रिनल्यान्डका सुसन गौतम दोस्रो तथा सञ्जय श्रेष्ठ तेस्रो भए । मिलनले पाँच अङ्क जोडे भने सुसन र सञ्जयले चार/चार अङ्क जोडेका थिए । प्रतियोगिताका विजेतालाई स्टानिस्लाभ सिमाकोभ र नेपाल बुद्धिचाल सङ्घका उपाध्यक्ष ज्ञानेन्द्र खाइजुले पुरस्कार वितरण गरेका थिए ।