क्रिकेट रंगशाला निर्माणमा ‘बाजी मार्ने’ रेणुको तयारी

क्रिकेट रंगशाला निर्माणमा ‘बाजी मार्ने’ रेणुको तयारी


भूकम्पपीडितलाई ठाउँ ठाउँमा वस्ती निर्माण गरिदिएर प्रशंसा कमाएका कलाकार सीताराम कट्टेलले आफू अब अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण अभियानमा लाग्ने घोषणा के गरेका थिए, जग्गा उपलब्ध गराएर सहयोग पुऱ्याउने भन्दै भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल अगाडि आएकी छिन् । अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बन्नुको महत्व मेयर दाहालले स्वयम् बुझेर हुन् वा कसैको सुझाव मानेकी हुन्, भरतपुर महानगरपालिकाले क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेसनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ ।

फाउण्डेसनले क्रिकेट मैदानका लागि जग्गा खोजी गरिरहेका बेला महानगर प्रमुख रेणु दाहालले भरतपुर महानगरले जग्गा उपलब्ध गराउने घोषणा गरेकी हुन् ।

भरतपुर महानगर सबै सम्भावना भएको क्षेत्र भएको दाबी गर्दै रेणुले क्रिकेटका लागि चितवन आउन सम्बद्ध सबैलाई आह्वान गरेकी छिन् । भरतपुर महानगरपालिकाले जनाएअनुसार धुर्मुस–सुन्तली फाउण्डेसनले प्रदेश नं ३ का विभिन्न क्षेत्रमा रंगशालाका लागि जग्गा खोजी गरिरहेको थियो । महानगर प्रमुख दाहालले पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नं २० मा निर्माण हुँदै गरेको रंगशालाको मैदान उपलब्ध गराउन महानगर तयार रहेको जानकारी दिइन् ।

आवश्यक पर्ने आर्थिक र भौतिक सहयोग गर्नसमेत तयार छ भन्दै उनले बोर्ड बैठकबाट अनुमोदन गरेर फाउण्डेसनलाई पत्राचार गरिने बताइन् । चित्रवन रंगशाला भएको ठाउँमा क्षेत्र विस्तार गरेर क्रिकेट रंगशाला बनाउन सकिने महानगर प्रमुख रेणूको तर्क छ ।

तस्बिर रासस