भारत भ्रमणमा यसरी बित्नेछ प्रधानमन्त्रीको समय

भारत भ्रमणमा यसरी बित्नेछ प्रधानमन्त्रीको समय


प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिवसीय भारत भ्रमणअन्तर्गत शुक्रबार विहान ९ बजेभित्रै उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन् । १०ः४५ को समयमा उनी नयाँदिल्ली उत्रिसकेका हुनेछन् ।

नयाँदिल्लीमा प्रधानमन्त्री ओलीको कार्यक्रमको शुरुवात भारतीय व्यवसायीसँग भेटसँगै हुनेछ । साढे १२ बजे होटल ताज प्यालेसमा उनले भारत र नेपालका व्यवसायीसँग विजनेस मिटिङ गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्रीको औपचारिक कार्यक्रमचाहिँ पर्सी शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटपछि मात्रै सुरु हुने बताइएको छ । शनिबार एकैदिन प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच तीनपटक भेटघाट हुनेछ ।

शनिबार औपचारिक कार्यक्रममा व्यस्त हुनुपर्ने भएकाले भोली शुक्रबार नै भारतका विभिन्न दलका नेताहरूसँग भेट गर्ने कार्यक्रम तय गरिएको बुझिएको छ । भोलि साँझ साढे सातबजे नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा आयोजना गर्ने रात्रीभोजमा उनी सरिक हुनेछन् । रात्रीभोजपछि नेपाली समुदायसँग प्रधानमन्त्रीले बेग्लै भेटवार्ता गर्नेछन् ।

शनिबार बिहान प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले स्वागत गर्ने कार्यक्रम छ । उनलाई भारत सरकारले गार्ड अफ अनर दिने छ भने त्यसपछि महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुगेर प्रधानमन्त्री ओलीले पुष्पगुच्छा चढाउने छन् । त्यसपछि औपचारिक वार्ता शुरु हुनेछ । भारतीय प्रधानमन्त्री मोदीबाट दिवाभोज दिएपश्चात दुई प्रधानमन्त्रीबीच भेटवार्ता हुनेछ । दिवाभोजपछि नै प्रधानमन्त्री ओलीले भारतका राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति बैंकया नायडुलाई अलग–अलग भेट्नेछन् ।

प्राप्त जानकारीअनुसार दिवाभोजपछि ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको प्रधानमन्त्रीद्वयले संयुक्त रुपमा स्वीच अन गर्ने कार्यक्रम तय भएको छ । स्रोतका अनुसार त्यसपछि हुने छलफलमा प्रधानमन्त्रीले नेपाल र भारतबीच यसअघि भएका सहमति–सम्झौताहरूको कार्यान्वयनबारे कुरा उठाउनेछन् ।

भ्रमणको अन्तिम दिन आइतबार प्रधानमन्त्री ओलीको उत्तराखण्डस्थित डा. गोविन्दबल्लभ कृषि तथा प्रविधि विश्वविद्यालयको दिक्षान्त समारोहमा प्रमुख अतिथिको रुपमा सहभागी हुने कार्यक्रम तय गरिएको छ । ओलीलाई उक्त विश्वविद्यालयले मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्नेछ । आइतबार राती आठ बजे प्रधानमन्त्री ओली स्वदेश फर्किने छन् ।

यो पनि हेर्नुहोस्-
भारत भ्रमण : केपीको अर्कै योजना

https://ghatanarabichar.com/96356