सहिद स्मारक फुटबल लिग
दशरथ रंगशालामा सञ्चालन भइरहेको सहिद स्मारक ‘ए’ डिभिजन लिग विदेशी खेलाडीको उपस्थिति र उत्कृष्ट प्रदर्शनले चर्चित बन्न पुगेको छ । क्यामरुन, नाइजेरिया, इथियोपिया, ट्युनिसिया र आइभोरीकोस्टका खेलाडी अहिले लिगमा छाएका छन् । गोलकिपर, मिडफिल्डर, डिफेन्डरदेखि स्ट्राइकरसम्मको महत्वपूर्ण भूमिकामा यिनै विदेशी खेलाडीले आधिपत्य जमाएका छन् । प्रत्येक क्लबको प्लेइङ सेटमा तीनदेखि चारजनासम्म रहने विदेशी खेलाडी नै अहिले लिगको आकर्षण र केन्द्रबिन्दु बनेका छन् । क्लबहरू यिनै खेलाडीको प्रदर्शनमा आत्मनिर्भर भएर विजयको सपना देखिरहेका छन् । त्यस्तै दर्शकहरू पनि उनीहरूको खेलबाट निकै प्रभावित छन् । त्यसैले होला दर्शक विदेशी खेलाडीलाई हौसला प्रदान गर्नुको साथै उनीहरूको सफलतामा खुसी बाँडिरहेका छन् । सञ्चारकर्मीको आँखामा पनि विदेशी खेलाडी नै छाएका छन् । उनीहरूको खेलस्तरको प्रशंसा गर्दै एक सञ्चारकर्मी भन्दै थिए, ‘यदि नेपाली खेलाडीको स्तर पनि यी खेलाडीको जत्तिको पनि भए कति राम्रो हुन्थ्यो होला है ।’
अहिले विभागीय टोलीबाहेक अन्य १३ क्लबले आफ्नो हैसियतअनुसार विदेशी खेलाडी क्लबमा भित्याएका छन् । क्लबले दुईदेखि पाँचजनासम्म खेलाडी भित्याएका छन् । ती खेलाडीको सङ्ख्या अहिले लिगमा ५५ देखि ६० को हराहारीमा रहेको छ । क्लबहरूले यी विदेशी खेलाडीलाई तीन महिनाका लागि एक हजार पाँच सयदेखि दुई हजार डलरसम्म तिरेर भित्याएका हुन् । लिगको घम्साघम्सी बढ्दै गएकोले विदेशी खेलाडीको सङ्ख्या अझ बढ्ने स्पष्ट देखिएको छ । यसअघिका लिगमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले तीनजना विदेशी खेलाडीलाई क्लबमा भित्याउन र खेलाउन पाउने नियम बनाएको थियो । तर, विडम्बना, एन्फाको अदूरदर्शिता र हचुवाको भरमा वर्षैपिच्छे नियम परिवर्तन गर्नाले अहिले लिगमा विदेशी खेलाडीहरूको ज्यादै भीडभाड देखिएको हो । अझ दुवै क्लबका तर्फबाट आठजना विदेशी खेलाडी एकैपटक मैदानमा उत्रिने भएकाले एउटा टिम विदेशीको जस्तै देखिने थालेको छ । जसले गर्दा यो सहिद स्मारक हो कि अफ्रिकी फुटबल लिग– छुट्याउन गाह्रो भएको छ ।
सहिद स्मारक लिगमा विदेशी खेलाडीको चकचकी बढेको र नेपाली खेलाडी ओझेलमा परेको ध्रुवसत्य हो । आफ्नो देशमा नाम नचलेका र कुनै हैसियत र पहिचान नभएका खेलाडी नेपालमा छाउँदा नेपाली खेलाडीको यो दुर्दशा भएको हो । ‘ए’ डिभिजनमा खेल्न खेलाडीको मापडण्ड नतोकिनु र हचुवाको भरमा फुटबल खेल्न जानेकै भरमा टिपेर ल्याउनुले लिगको सर्वोत्कृष्टमा समेत प्रश्नचिह्न लागेको छ । प्रतिष्ठित लिगमा बूढो गोरु जेत्नु खोज्नु र आलाकाँचालाई बढी प्राथमिकता दिनुले पनि लिगको संवेदनशीलतालाई छुन सकेको छैन । लिगको अवधारणा र विशिष्टताप्रति भुत्ते खुकुरीको प्रहार गर्दै आएको एन्फाको अदूरदर्शिताले गर्दा अहिले खेलाडीको बिचल्ली भएको छ । उनीहरू घरेलु मैदानमा समेत कुवाको भ्यागुतो बन्न पुगेका छन् ।
यसै सन्दर्भमा चर्चित खेलकुद पत्रकार मनोज घिमिरेले आक्रामक शैलीमा प्रस्तुत हुँदै भने, ‘खुबी नभएपछि यस्तो हुनु स्वाभाविकै हो । जहिले पनि स्याल, बाघ बन्न त बाघजस्तै प्रदर्शन गर्नुपर्यो नि । आफ्नो देशका स्थानीय निकायमा खसी, बोका र कुखुरा कप खेल्ने खेलाडीसमक्ष पनि नेपाली खेलाडी निरीह सावित भएका छन् । साँचो अर्थमा भन्नुपर्दा विदेशी खेलाडीको उत्कृष्ट प्रदर्शनभन्दा पनि नेपाली खेलाडीहरूले स्तरहीन र कमजोर प्रदर्शन गरेका कारणले ओझेलमा परेका हुन् । यो कुरा खेलाडी मात्र नभई एन्फाले पनि बुझ्नुपर्ने आवश्यक भइसकेको छ ।’ त्यस्तै विदेशी खेलाडीको तारिफ गर्दै घिमिरेले भने– खेलकुदको भावनालाई आत्मसात् गर्ने र मर्न नदिने हो भने नेपाली खेलाडीको तुलनामा विदेशी खेलाडी नै उत्कृष्ट देखिएका छन् । तसर्थ यो लिगमा विदेशी खेलाडीको उत्कृष्टताको सम्मान सम्बन्धित निकायले गर्नैपर्छ । तर, एन्फाले फुटबलको नियममा उल्लेखित नभएको र खेलभावनाको विपरीत आन्तरिक सर्कुलर गरेर उनीहरूलाई बाइपास गर्ने रणनीतिको खाका तयार पारेको छ । खेलकुदमा यस्तो हुनु दुर्भाग्य हो । जसले खेलकुदको मर्मलाई मार्ने पक्का छ । तसर्थ एन्फाको यस्तो हरकत र उद्दण्डताले अहिले लिगको उत्कृष्टतामा समेत प्रश्नचिह्न लागेको उनको कथन थियो ।
‘लिग फुटबल’ भनेको फुटबलको मेरुडण्ड हो । लिग गर्नुको उद्देश्य फुटबलको स्तर जाँच्ने मात्र नभई हिरो जन्माउनु पनि हो । तर, यो कुरामा एन्फा गम्भीर भएको देखिँदैन । एन्फाले लिग गर्नुलाई नै सर्वोपरी ठानेको छ । लिगको आयोजना गरे फुटबलको विकास भइहाल्छ भन्ने गलत मानसिकताबाट ग्रस्त छ । डेढ करोड पुरस्कार राशिको लिग सञ्चालन हुँदा एउटा पनि हिरो जन्मिँदैन भने त्यो लिग आयोजना गर्नुको के अर्थ हुन्छ । तिनै पुराना खेलाडी जो विदेशमा गोल गर्न नै जान्दैनन्, तिनीहरूले लिगमा जस्तोसुकै उत्कृष्ट प्रदर्शन गरे पनि के नै आशा गर्न सकिन्छ । यो कुरा एन्फाले बुझेको खै ? तर, एन्फा यसैमा गौरवान्वित हुँदै नाक फुलाएर बसेको छ । जसले गर्दा अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रदर्शन फितलो मात्र नभई सर्मनाक बन्दै गएको छ । यो कुरा दुई दशकदेखि एन्फामा तानाशाही चलाउँदै आएका गणेश थापाले राम्रोसँग बुझ्नुपर्ने हो तर उनले बुझेर पनि बुझपचाउँदा नेपाली फुटबलको यस्तो हरिविजोग भएको हो भन्दा अतिसयोक्ति नहोला ।
लिग फुटबलमा देखिएको नेपाली खेलाडीको खडेरीले विगत डेढ दशकदेखि एन्फा एकेडेमीमार्फत खेलाडी उत्पादन गर्दै आएको एन्फाको पोल नराम्रोसँग खोलेको छ । यो खडेरीले एन्फाले उत्पादन नभई झक मारेको प्रस्ट रूपमा देखिएको छ । अन्यथा १६ क्लबलाई पनि नपुग्ने खेलाडी कहाँ गए त ? यो प्रश्न गम्भीर बनेको छ । एन्फाले पाँच ब्याचमा अहिलेसम्म लगभग तीन सय खेलाडी उत्पादन गरिसकेको छ । तर, लिगमा एन्फाबाट उत्पादन भएका २० प्रतिशत खेलाडी पनि छैनन् । कारण एन्फाको अदूरदर्शिता र झुटको खेतीले यस्तो अवस्थाको सिर्जना भएको हो । खेलाडी उत्पादनको नाममा आफ्नो रोटी सेक्दै आएको एन्फाको त्यो अहिले हात्तीले देखाउने दाँतमा मात्रै परिणत भएको छ । जसले नेपाली फुटबलमा कुनै योगदान र माइलेज दिन नसकेको पुष्टि भएको छ । खेलाडी उत्पादन गर्ने तर तिनीहरूको सही व्यवस्थापन गर्न नसक्ने एन्फाको कमजोरीले अहिले थुप्रै खेलाडीले पलायनको बाटोलाई रोज्न बाध्य भएका छन् । एन्फाको यो गलत रणनीतिले गर्दा फुटबल पनि अधोगतितर्फ उन्मुख भएको कतैबाट छिपेको छैन । फुटबलमा खेलाडीको शासनभन्दा थापाको तानाशाही शासन चलेकोले यसले भविष्यमा पनि निरन्तरता पाउने कुरामा सायदै कसैलाई शङ्का होला । यदि समय र खेलाडीलाई नजरअन्दाज गरेर थापाले यसरी नै फुटबललाई हाँके भने आज जसरी लिगमा विदेशी खेलाडीको प्रभुत्व देखिएको छ भोलि तिनीहरूले नेपाली फुटबलमाथि नै कब्जा नजमाउलान् भन्न सकिँदैन ।
खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडी परिचयपत्र
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितालाई आधार बनाएर विभिन्न खेलका ४५ खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडी परिचयपत्र हालै वितरण गरेको छ । राखेप सदस्यसचिव युवराज लामाले पहिलो चरणअन्तर्गत ११ खेलाडीलाई प्लाटिनम, नौ खेलाडीलाई गोल्ड तथा २५ खेलाडीलाई सिल्भर परिचयपत्र प्रदान गरेका छन् । ओलम्पिकमा सहभागी, एसियाली खेलकुदको पदक विजेता, दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता तथा सिनियर/जुनियर विश्व च्याम्पियनसिप, सिनियर एसियाली च्याम्पियनसिप, युथ ओलम्पिक गेम्स, युथ एसियाली गेम्स तथा पारा ओलम्पिक गेम्सका पदकधारीलाई प्लाटिनम परिचयपत्र प्रदान प्रावधान रहेको राखेपले जनाएको छ ।
सागका रजत र कास्य विजेता, अफिसियल दक्षिण एसियाली च्याम्पियनसिप, बिच गेम्स, जुनियर एसियन च्याम्पियनसिप तथा अन्तर्राष्ट्रिय महासङ्घबाट मान्यता प्राप्त विश्वस्तरीय प्रतियोगिताका पदकविजेतालाई गोल्ड परिचयपत्र दिइनेछ । त्यस्तै एसियाली खेलकुद र साग, सिनियर/जुनियर विश्व च्याम्पियनसिप, युथ ओलम्पिक, पारा ओलम्पिक र युथ ओलम्पिक, सिनियर एसियाली च्याम्पियनसिप र बिच गेम्स, अन्तर्राष्ट्रिय महासङ्घबाट मान्यता प्राप्त विश्वस्तरीय प्रतियोगिता तथा विश्व कप क्वालिफाइङमा सहभागीलाई सिल्भर परिचयपत्र प्रदान गर्ने प्रावधान रहेको छ । कार्यक्रममा सदस्यसचिव लामाले परिचयपत्र पाएका खेलाडीलाई विभिन्न क्षेत्रमा सहुलियत सुविधा उपलब्ध गराउन राखेपले विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
राखेपलाई जग्गा हस्तान्तरण
तनहुँको मासान– ६, चुन्डुटारस्थित माउन्ट स्टार स्पोर्टस् क्लब र चुन्डुटार खेलकुद तथा रंगशाला सम्बद्र्धन समितिले १३ रोपनी ६ आना जग्गा राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई हस्तान्तरण गरेको छ । माउन्ट स्टारका अध्यक्ष गोविन्द दराई तथा सम्बद्र्धन समितिका अध्यक्ष राजेन्द्रकेशरी न्यौपानेले सो जग्गाबराबरको लालपुर्जा राखेप सदस्यसचिव युवराज लामालाई हस्तान्तरण गरेका थिए । सो अवसरमा दुवै संस्थाका अध्यक्षले उक्त जग्गामा खेलकुदको भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने माग अघि सारेका थिए । सदस्यसचिव लामाले स्थानीय निकायले भौतिक पूर्वाधार निर्माण गर्न विशेष पहल गरेमा त्यसमा राखेपले लागत इस्टिमेट तयार गरेर सक्दो सहयोग गर्ने वचनबद्धता व्यक्त गरेका थिए । सो अवसरमा जिल्ला कार्यालयका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
जुडोमा पदक जित्ने खेलाडी सम्मानित
बंगलादेशको ढाकामा हालै सम्पन्न दोस्रो दक्षिण एसियाली क्याडेट जुडो च्याम्पियनसिपमा पदक जित्न सफल इचङ्गु गाविसको रानीवनस्थित बाल विकास माध्यमिक विद्यालयका खेलाडीलाई हालै सम्मान गरिएको छ । उक्त प्रतियोगिताको ३२ केजीमुनि देवकीमाया श्रेष्ठ, २६ केजीमुनि सुबोध मण्डल तथा ४० केजीमुनि इन्द्रबहादुर श्रेष्ठले स्वर्ण जितेका थिए । ५२ केजीमुनि मनिता प्रधानले रजत हात पारेकी थिइन् । सबै पदकविजेता खेलाडीले पाम्सको प्रतिनिधित्व गरी च्याम्पियनसिपमा सहभागिता जनाएका थिए । कार्यक्रममा नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यले १० सेकेन्डभित्र प्रतिद्वन्द्वीलाई चित पार्ने देवकी मायाबाट भविष्यमा सङ्घले धेरै आशा गरेको बताउँदै प्रतिभावान् खेलाडी उत्पादन गरेकोमा पाम्स र बाल विकास विद्यालयप्रति आभार प्रकट गरेका थिए । पाम्सका अध्यक्ष सूर्यनारायण श्रेष्ठले खेलाडी राष्ट्रको भएकाले
यस्ता प्रतिभावान् खेलाडीलाई चिनेर राज्यले लगानी गर्नुपर्ने विचार राखका थिए ।
जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन हुने
काठमाडौं जिल्ला ब्याडमिन्टन सङ्घ र बंगलादेशको टिम निखिल एकेडेमीको संयुक्त आयोजना तथा नेपाल ब्याडमिन्टन सङ्घको सहयोगमा डिसेम्बर २५ देखि २७ तारिखसम्म काठमाडौंमा ‘चेल्सी इन्टरनेसनल एकेडेमी जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०१२’ आयोजना हुने भएको छ ।
प्रतियोगितामा महिला र पुरुषको यू–१५ र यू–१७ नेपाललगायत भारत र बंगलादेशका करिब ३२ खेलाडीले सहभागिता जनाउनेछन् । भारत र बंगलादेशका पुरुष चार र महिला चार खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगितालाई बानेश्वरस्थित चेल्सी इन्टरनेसनल एकेडेमीले मुख्य प्रायोजन गर्ने भएको छ । प्रतियोगिताको कुल लागत २५ लाख रहेको काठमाडौं जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष दीपक थापाले जानकारी गराए । उक्त अवसरमा बोल्दै अध्यक्ष थापाले यो प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न सहयोग हुने बताए । उनले नेपालमा ब्याडमिन्टनको लोकप्रियता वृद्धि भइरहेकोले ब्याडमिन्टन खेलको विकास गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको बताएका थिए ।
ब्याडमिन्टन खेलको विकास गर्ने उद्देश्यले नेपाललगायत भारत र बंगलादेशमा इंग्ल्यान्डका प्रशिक्षक टिम मावेरले एकेडेमी स्थापना गरेको र त्यसबाट उत्पादित खेलाडीको स्तर वृद्धि गर्न इन्टर एक्चेन्ज प्रतियोगिताहरू आयोजना गरिने जानकारी गराइयो ।
उक्त अवसरमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवम् नेपाल ब्याडमिन्टन सङ्घका उपाध्यक्ष पीताम्बर तिम्सिनाले राष्ट्रिय खेलकुद परिषद्को राष्ट्रव्यापी खेल महोत्सव आयोजना गर्ने उद्देश्य रहेको र त्यसैअनुरूप यो प्रतियोगिता पनि हुन लागेको भन्दै प्रतियोगितालाई परिषद्ले सम्पूर्ण रूपले सहयोग गर्ने बताए ।
नेपाल ब्याडमिन्टन सङ्घका पूर्वअध्यक्ष, ब्याडमिन्टन एसिया कन्फेरेडेसन (बीएसी)का कार्यकारी सदस्य एवम् ल एन्ड अर्डरका अध्यक्ष प्रकाशबहादुर शाहीले बीएसीबाट प्रतियोगितालाई सहयोग हुने बताउँदै २०१३ मा नेपालमा अन्तर्राष्ट्रिय सिरिज ब्याडमिन्टन हुने बताए । प्रायोजक संस्था चेल्सी इन्टरनेसनल एकेडेमीका प्रिन्सिपल सुधीर झाले खेल विद्यार्थीको र अन्य व्यक्तिहरूको पनि मानसिक तनाव हटाउन सहयोग पुग्ने भएकोले सबैले अन्य क्षेत्रमा मात्र लगानी गरिरहेको अवस्थामा चेल्सीले ब्याडमिन्टन खेलमा प्रायोजन गरेको बताए । सो अवसरमा नेपाल ब्याडमिन्टन सङ्घका महासचिव रामजीबहादुर श्रेष्ठले प्रतियोगितामा नेपाल ब्याडमिन्टन सङ्घले पूर्र्ण रूपमा सहयोग गर्ने भन्दै शुभकामना व्यक्त गरेका थिए ।
निहोन सोतोकानमा ईश्वर निर्विरोध
नेपाल निहोन सोतोकान कराते डो सङ्घको प्रथम साधारणसभाले ईश्वरबहादुर गुरुङको अध्यक्षतामा २१ सदस्यीय कार्यसमितिको निर्विरोध चयन गरेको छ ।
सङ्घको उपाध्यक्षहरूमा मोहनकुमार कार्की, युगल मुखिया, भुवनलाल श्रेष्ठ, जनार्जन केसी, महासचिवमा भीमसेन केसी, उपमहासचिवमा सञ्जय लामा, कोषाध्यक्षमा रमेश शाक्य, सचिवमा अभय मोक्तान रहेका छन् । त्यस्तै सदस्यहरूमा सानुभाइ बज्राचार्य, सत्यनारायण श्रेष्ठ, धर्मरत्न खाइतु, नवराज गुरुङ, विनितामैया नकर्मी, गंगाकुमारी थापा, पुनम तुलाधर, नीरू ढकाल,
जगतबहादुर श्रेष्ठ र रमेश राना छन् । उक्त साधारणसभाको उद्घाटन सदस्यसचिव युवराज लामाले गरेका थिए । साधारणसभामा नेपाल कराते महासङ्घका अध्यक्ष दावा गुरुङ एवम् निहोन सोतोकान कराते अन्तर्राष्ट्रिय महासङ्घ जापान, हेडक्वार्टरका प्रमुख प्रशिक्षक सिहान पेम्बा तामाङको विशेष आतिथ्यता रहेको थियो । सङ्घका केन्द्रीय अध्यक्ष ईश्वरबहादुर गुरुङको सभापतित्वमा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि लामाले सङ्घको प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।
अन्तरविद्यालय नमुना भलिबल लुभुमा
नमुना इंग्लिस स्कुल, लुभु र नमुना शैक्षिक तथा खेलकुद समाजको संयुक्त आयोजनामा नवौँ उपत्यकाव्यापी अन्तरविद्यालय नमुना कप भलिबल प्रतियोगिता पुस पहिलो साता हुने भएको छ । साताव्यापी प्रतियोगिता पुस २ गतेदेखि लुभुस्थित आयोजककै कोर्टमा सञ्चाल हुने नमुनाका भलिबल प्रशिक्षक चन्द्रबहादुर महर्जनले जनाएका छन् । प्रतियोगितामा जुनियर ब्वाइज, सिनियर ब्वाइज र गल्र्समा समान ८–८ टिमको सहभागिता रहनेछ । त्यस्तै नमुना शैक्षिक तथा खेलकुद समाजको स्थापना वर्षको उपलक्ष्यमा यस वर्षदेखि यू–१९ उमेर समूहमा कलेज र क्लबका टिम समावेश गराई छुट्टै स्पर्धामा पनि प्रतिस्पर्धा हुने प्रशिक्षक महर्जनले जानकारी गराए । त्यसमा पनि आठ टिमले भाग लिने बताइएको छ ।
प्रतिक्रिया