टेबुलटेनिसको विकासमा राज्यको उपस्थिति देखिनु अनिवार्य छ

टेबुलटेनिसको विकासमा राज्यको उपस्थिति देखिनु अनिवार्य छ


sport—कुवेरप्रकाश सिंह (महासचिव टेटे सङ्घ)
छैटौँ राष्ट्रिय प्रतियोगिता गरी अहिलेसम्म कैलालीमा चारवटा टेबुलटेनिसका राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसकेका छन् । टेटेको ऊर्जाभूमिको रूपमा लिइने कैलालीमा पुस २४ देखि २७ गतेसम्म ३५औँ राष्ट्रिय टेटे प्रतियोगिताको आयोजना हुँदै छ । यसैलाई मध्यनजर गरी आफ्नो दुई दशक टेटे खेलाडीको रूपमा बिताएका चर्चित राष्ट्रिय खेलाडी तथा वर्तमान टेटे सङ्घका महासचिव र यस राष्ट्रिय प्रतियोगिताका संयोजक कुवेरप्रकाश सिंहसँग प्रतियोगिताका विभिन्न पक्ष र टेटेको समग्र विकासका लागि कस्तो रणनीति अख्तियार गरिएको छ भन्नेबारे घटना र विचारले गरेको सङ्क्षिप्त कुराकानी :–
० ३५औँ राष्ट्रिय टेबुलटेनिस प्रतियोगिता धनगढीमा आयोजना गर्दै हुनुहुन्छ, यसले सार्थकता पाउने कुरामा कत्तिको विश्वस्त हुनुहुन्छ ?
– टेबुलटेनिसको ऊर्जाभूमिमध्येको सुदूरपश्चिम पनि एक हो । राष्ट्रिय प्रतियोगितामा सेती अञ्चलले दोस्रो स्थान हासिल गरेको इतिहास हाम्रोसामु छ । वर्तमान टेटे सङ्घले सुपका खेलाडी र कैलाली जिल्ला टेटे सङ्घलाई समेत प्रोत्साहन, खेलकौशलमा अभिवृद्धि, ऊर्जा थप्न ३५औँ राष्ट्रिय प्रतियोगिता कैलाली आयोजना गर्न लागेको हो । यो प्रतियोगितापश्चात् नयाँ खेलाडीको उत्पादन र पुराना खेलाडी हौसला बढ्ने कुरामा सङ्घ विश्वस्त छ ।
० आठवटा इभेन्ट समावेश गर्नुभएको छ, यसपटक भेट्रानलाई समावेश गर्नुको अर्थ के हो ?
– आगामी १३औँ सागलाई मध्यनजर गरी राष्ट्रिय खेलकुद परिषद्को निर्देशनअनुसार सातवटा इभेन्ट यो राष्ट्रिय प्रतियोगितामा समावेश गर्ने निर्णय गरिएको हो । विगतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूलाई वर्तमान सङ्घ र वर्तमान खेलाडीसँग निकटतम् सम्बन्ध कायम गर्न उनीहरूलाई यो प्रतियोगितामा समावेश गरिएको हो । ती भेट्रान खेलाडीलाई यो खेलप्रति अभिरुचि बढाउन र टेटेको समग्र विकासमा प्रत्यक्ष र परोक्ष फाइदा लिन भेन्ट्रान इभेन्ट राखिएको हो ।
० २७ जिल्ला र दुई विभागीय टोली मात्र यो प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन्, अन्य जिल्लालाई नसमेटिनुको कारण के हो ?
– हालसम्म टेटे सङ्घमा २७ जिल्ला र विभागीय टोलीका (नेपाल प्रहरी र सशस्त्र प्रहरी)को मात्र आबद्धता रहेकाले यिनै टोलीलाई मात्र प्रतियोगितामा राखिएको हो । आबद्धता नभएका जिल्लाबाट वा आबद्धता प्राप्त गरेको जिल्लाले बढी खेलाडी सहभागी गराउन चाहेमा आफ्नै खर्चमा सहभागिता दिनुपर्ने हुन्छ ।
० राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा आर्थिक रूपमा सबल हुनुपर्छ, तपाईंले कसरी चाँजो मिलाउनुभएको छ ?
– राष्ट्रिय खेलकुद परिषद्बाट प्राप्त हुने अनुदान र प्रायोजक, सहप्रायोजक र विभिन्न दाताले आर्थिक सहयोग गरेका छन् । राष्ट्रिय प्रतियोगिताका लागि मूल प्रायोजकबाट पाँच लाख, प्रायोजकबाट तीन लाख, सहप्रायोजकबाट दुई लाख र प्रत्येक ब्यानरबाट ५० हजार उठाउने लक्ष्य लिएका छौँ । प्रतियोगिताको अनुमानित खर्च २१ लाख रहेकाले यसैलाई लक्ष्य बनाएर प्रतियोगिता सञ्चालन गर्ने हो ।
० जिल्लामा राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा हुने विभिन्न कठिनाइलाई कसरी हेर्नुभएको छ, यसका लागि कस–कसको र कस्तो सहयोग प्राप्त भइरहेको छ ?
– सफलतापूर्वक सम्पन्न भएको छैटौँ राष्ट्रिय खेलकुदलाई दृष्टिगत गर्ने हो भने बसोबास, खेलस्थल, यातायात, अतिथि सत्कार, प्रचारप्रसारमध्येको कैलाली एक सक्षम जिल्ला हो । प्राविधिक पक्षमा केन्द्रबाट दक्ष व्यक्ति, राष्ट्रिय निर्णायक तथा अर्थ सङ्कलनमा कैकाली जिल्ला टेटे सङ्घले नै उचित कदम चाल्नुपर्छ ।
० यो प्रतियोगितासँगै राष्ट्रिय टेटे खेलाडीको छनोट भएको पनि थाहा भएको छ, के यो प्रतियोगितापश्चात् टेटेमा हिरो जन्मिने ठोकुवा गर्न सक्नुहुन्छ ?
– वर्तमान अवस्थामा टेबुलटेनिस खेलमा अधिकतम् युवा खेलाडीको नै वर्चश्व रहेको छ । यी युवा खेलाडीले हालै पुराना खेलाडीलाई विस्थाफित गर्दै आफ्नो स्थान टप १६ मा पारेका हुन् । तसर्थ ३५औँ राष्ट्रिय टेटेमा पनि यिनैै खेलाडीको वर्चश्व रहने तथा र्‍याङकिङमा साधारण हेरफेर हुने मात्र देखिन्छ ।
० तपाईं विगतका टेटेका खेलाडी र अहिलेकालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ? इतिहास पल्टाउँदा त पहिलेका खेलाडी अन्तर्राष्ट्रियस्तरमा बढी सफल देखिन्छन् नि ?
– मैले यसलाई दुई पाटोका रूपमा हेरेको छु, त्यो भनेको महिला र पुरुष हो । महिला खेलाडीको सन्दर्भमा अन्तर्राष्ट्रिय खेलाडी सिजरिन शाह र गीता क्षेत्री टेटेका उत्कृष्ट खेलाडी हुन् । यी खेलाडीले १९९१ श्रीलंकामा सम्पन्न साग गेममा महिला टिम इभेन्टमा स्वर्ण पदक दिलाएका थिए । वर्तमान अवस्थामा १२औँ सागमा मुना वासुकलाले १९ वर्षपछि महिला सिङ्गलमा कास्य पदक प्राप्त गरेकी थिइन् । तसर्थ अन्तर्राष्ट्रिय प्रतियोगितामा महिलातर्फ फरक देखिए तापनि पुरुषतर्फ भने सामान्यता बराबरी नै देखिन्छ । वास्तविक रूपमा भन्नुपर्दा भारतलाई छोडेर अन्य दक्षिण एसियाली मुलुकका खेलाडी र हाम्रा खेलाडीको स्तर समान छ । यो खेलको नियमित र सुविधासम्पन्न तरिकाले प्रशिक्षण गर्ने हो भने भारतपछिको दोस्रो शक्ति नेपाल होभन्दा अतिसयोक्ति नहोला ।
० राष्ट्रिय टेटेमा सुदूरपश्चिमका खेलाडीको प्रदर्शन कस्तो रहला, के उनीहरू पनि राष्ट्रिय च्याम्पियन बन्ने स्तरका छन् ?
– यो प्रतियोगितामा सुपका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने कुरामा दुईमत छैन । र पनि, यो राष्ट्रिय प्रतियोगितामा मुलुककै उत्कृष्ट खेलाडीको सहभागिता रहने भएकाले उनीहरूले सफलता पाउन फलामकै चिउरा चपाउनुपर्ने हुन्छ । प्रतियोगितामा सहभागी अन्य उत्कृष्ट खेलाडी र प्रशिक्षकबाट सिक्ने र आगामी दिनमा आफूलाई सोअनुरूप तयार गर्नु उनीहरूको बुद्धिमानी ठहर्नेछ । यो प्रतियोगितामा सुपले उत्साहपूर्वक सहभागिता जनाउने हो, निरन्तर सहभागितापछि भविष्यमा सफलता निश्चित छ ।
० नेपालमा टेबुलटेनिसको स्थिति कस्तो देख्नुभएको छ, यसलाई अझ स्तरीय र अन्तर्राष्ट्रिस्तरमा सफलता पाउन के गर्नुपर्ला जस्तो लाग्छ ?
– समग्रमा भन्ने हो भने नेपालमा टेबुलटेनिसको स्थान निकै राम्रो छ । पारिवारिक खेल र सामाजिक खेलको पहिचानको काम गरेकाले यो खेल नेपालको ७५ जिल्लाका टोलटोलमा खेल्ने गरिन्छ । अझ स्कुल, कलेजमा र सरकारी कार्यालयहरूमा पनि यो खेल अत्यधिक लोकप्रिय छ । तसर्थ खेलकुदको मेरुडण्ड विद्यालय भएको हुँदा यो खेललाई समायोजन र प्लानिङ गरी राज्यले यो खेलको विकास र उत्थानमा अग्रणी भूमिका निभाउनुपर्छ भन्ने मेरो मान्यता छ । यदि राज्यको सकारात्मक सोच राखेर यो खेलको वृद्धि विकासमा कदम चाल्यो भने यो खेलले अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट प्रदर्शन गर्ने कुरामा म विश्वस्त छु ।
० दक्षिण एसियाली मुलुकमा नेपालको स्थान गुम्दै गएकोमा तपाईंको के राय छ, स्वर्ण पदक जितिसकेको मुलुक यसरी अधोगतितर्फ लाग्नुलाई के भन्नुहुन्छ ?
– सीमित साधन र स्रोतको उपयोग गरी खेलेको हाम्रो देशमा उत्कृष्ट खेलाडी एकपटक मात्र जन्मिन्छन् । र, सोही समयमा राज्यको प्राप्त सहयोगमा खेलाडीले स्वर्ण पदक जितेका हुन् । वर्तमान टेबुलटेनिसका खेलाडीलाई पनि विगतको टेटेको कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय प्रशिक्षण र प्रतियोगितामा सहभागी गराई उनीहरूको प्रदर्शनको मूल्याङ्कन गर्दै लैजाने हो भने वर्तमान खेलाडीमा पनि विगतका खेलाडीको उत्कृष्टता देखिन्छ । यसको पहल र जिम्मेवारी हामी सबैको हो भने यसमा राज्यको विशेष सहयोग र उपस्थिति देखिनु अनिवार्य छ ।
० अन्त्यमा टेटेको समग्र विकासका लागि सङ्घले कस्तो रणनीति बनाएर अघि बढेको छ ?
– सङ्घ टेटेको समग्र विकासका लागि दूरदर्शी र योजनाबद्ध रूपमा लागेको छ । जसका लागि वार्षिक क्यालेन्डर बनाएको छ । सो क्यालेन्डरअनुरूप सङ्घले टेटेका प्रतियोगिता आयोजना गर्दै आएको छ । यो राष्ट्रिय प्रतियोगिता पनि सङ्घकै क्यालेन्डरको एउटा महत्वपूर्ण अंश हो । जसबाट हामीले राष्ट्रिय प्रतियोगिता मात्र नभई खेलाडी पनि छनोट गर्नेछौँ । त्यस्तै टेटे सङ्घमा काम गर्ने वातावरण र काम गर्नेको मूल्याङ्कन गर्ने परिपाटीको सिर्जना विकास गरिनेछ । टेटेलाई राजनीातिबाट टाढा राखेर खेल भावनाले ओतप्रोत भएर मिलेर काम गर्ने र नराम्रो काम गर्नेलाई कारबाही गरिनेछ ।

दिदी अश्लेषा लिसानेविच र भाइ आइभन होले ११औँ जयकर स्मृति जुनियर राष्ट्रिय खुला टेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् । अश्लेषाले यू– १६ गल्र्स सिंगल्स तथा आइभनले यू–१४ ब्वाइज सिंगल्समा स्वर्ण जितेका हुन् । सातदोबाटोस्थित टेनिसकोर्टमा भएको फाइनलमा अश्लेषाले विभूति कार्कीलाई सीधा सेटमा ६–२ र ६–२ ले पराजित गरेकी थिइन् । आइभनले अभय गौचनबाट वाकओभर पाए । काँधमा चोटका कारण अभयले फाइनल गुमाउनुपरेको थियो । आइभन यू–१६ को पनि विजेता हुन् । आइभन प्रतियोगितामा दोहोरो स्वर्ण जित्ने एक्लो खेलाडी बने । मनजयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको यू–१२ गल्र्स सिंगल्समा मायाका राणा तथा यू–१० ब्वाइज सिंगल्समा सम्यकभूषण बज्राचार्य च्याम्पियन बने । आठदिने प्रतियोगितामा ब्वाइज र गल्र्समा समान ५–५ गरी १० सिंगल्स स्पर्धा समावेश थियो । एक सय १२ ब्वाइज र ६५ गल्र्सले प्रतिस्पर्धा गरेका थिए । हरेक स्पर्धामा नगद पुरस्कार राखिएको थियो ।

अब म रियल च्याम्पियन बनेँ : घले
लामो समयदेखि टेनिस खेलमा सक्रिय रहेर टेनिस खेलको विकास र विस्तारमा योगदान पुर्‍याएबापत टेनिस प्रशिक्षक कृष्ण घलेलाई मनजयकर टेनिस एकेडेमीले सम्मान गरेको छ । मेजर जनरल पवनबहादुर पाण्डेले घलेलाई सम्मानपत्र प्रदान गरी दोसल्ला ओढाई सम्मान गरे । ३५ वर्ष टेनिसमा संलग्न घलेले १९८६ को सिओल एसियाड र १९९० को बेइजिङ एसियाड खेलेका थिए । सिओल एसियाडमा उनी सम्मिलित नेपाली पुरुष टिम क्वाटरफाइनलमा पुगेका थियो । घलेले १९९३ को ढाका साग र १९९५ को मद्रास सागमा पनि सहभागिता जनाएका थिए । उनले दोस्रो र तेस्रो राष्ट्रिय खेलकुदमा रजत जितेका थिए । मलाई यो सम्मानका लागि योग्य ठानेर मेरो नाम मनोनयन गर्‍यो सबैलाई धन्यवाद दिन चाहन्छु । सम्मानित भएपछि खुसी हुँदै ५२ वर्षीय घलेले भने, ‘वास्तवमा आज म रियल च्याम्पियन बनेको छु ।’

हातेमालोबाट हरिशरण सम्मानित
नेपाल कराते डो महासङ्घका महासचिव एवम् बादोरियो कराते प्रमुख प्रशिक्षक हरिशरण केसीलाई हातेमालो अभियान, नेपालले सम्मान गरेको छ । खेलकुदको माध्यमबाट राष्ट्रको गौरव बढाउने कार्यमा योगदान पुर्‍याएको भन्दै अभियानले केसीलाई राष्ट्रिय सम्मान– २०६९ द्वारा सम्मान गरेको हो । जमलस्थित नाचघरमा आयोजित कार्यक्रममा प्राध्यापक मदनकुमार दाहालले केसीलाई सम्मानपत्र प्रदान गरेका थिए । सो अवसरमा लोकगायिका कोमल ओलीसँगै विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई पनि सम्मान गरिएको थियो ।
सोतोकानको राष्ट्रिय प्रतियोगिता बाह्रबिसेमा
नेपाल सोतोकान कराते सङ्घ (जेएसकेए) को आयोजनामा सातौँ राष्ट्रिय सोतोकान कराते प्रतियोगिता माघ ११ देखि १३ गतेसम्म सिन्धुपाल्चोकको बाह्रबिसेमा हुने भएको छ । प्रतियोगितामा पाँच विकास क्षेत्रका पुरुष र महिला गरी कुल एक सय १० खेलाडीले १८ स्वर्णका लागि प्रतिस्पर्धा गर्ने सङ्घका महासचिव श्याम शेर्पाले जानकारी गराएका छन् । प्रतियोगिता आगामी जेठ ६ देखि १० गतेसम्म राजधानीमा हुने सातौँ एनएसकेए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपका लागि खेलाडी छनोटको आधारसमेत हुने सङ्घका अध्यक्ष विष्णुबहादुर कार्कीले बताए । अनुमानित बजेट सात लाख रुपैयाँ रहेको बताइएको छ । सोही अवसरमा सङ्घका उपाध्यक्ष गंगा पाण्डे नेपाल प्रहरीको प्रहरी अत्तिरिक्त महानिरीक्षकमा बढुवा भएकोमा सङ्घले ताम्रापत्रसहित सम्मान गरेको थियो ।

इन्टाको सहयोगमा तेक्वान्दो फक्रिने
अन्तर्राष्ट्रिय नेप्लिज तेक्वान्दो सङ्घको आयोजना तथा प्रायोजनमा तेक्वान्दो खेलसामग्री वितरण तथा सम्मान कार्यक्रमको आयोजना गरिएको छ । मूलपानी तेक्वान्दो डोजाङको संयोजनमा भएको सो कार्यक्रममा तेक्वान्दो खेलको विकासमा सहयोग पुर्‍याउन तेक्वान्दो खेलाडी सुरजविक्रम शाहलाई नगद दश हजार तथा प्रमाणपत्रले सम्मान गरिएको थियो । त्यसैगरी बारा जिल्ला तेक्वान्दो कार्यसमितिले विगत लामो समयदेखि तेक्वान्दो खेललाई नेपालमा विकसित रूप दिन सक्दो प्रयास गरेकाले तेक्वान्दो खेल विकासका लागि प्रोत्साहनस्वरूप इन्टाले खेलसामग्री प्रदान गरेको हो । त्यसैगरी सीएनएन हिरो २०१२ की सुश्री पुष्पा बस्नेतले नेपालको नाम विश्वमा उचो राख्नमा ठूलो मद्दत पुर्‍याएका कारण उहाँले सञ्चालन गरेको अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टरका तेक्वान्दो खेलाडीका लागि पनि तेक्वान्दो खेलसामग्री प्रदान गरिएको थियो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाको प्रमुख आतिथ्यमा सम्पन्न खेलकुदसामग्री वितरण तथा सम्मान कार्यक्रममा पूर्व जिल्ला न्यायाधीश रामहरि शर्मा (फुँयाल), सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दुर्जकुमार राई, नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर फुँयाल, ओलम्पियन दीपक विष्ट, वरिष्ठ तेक्वान्दो प्रशिक्षकहरू धु्रवबहादुर गुरुङ, मीनबहादुर थापालगायतका महानुभावहरूको उपस्थिति रहेको थियो ।
राजधानीको मूलपानीस्थित नर्लिङ रिसोर्टमा आयोजना भएको सो कार्यक्रममा तेक्वान्दोको डेमो शोदेखि लिएर विभिन्न सांस्कृतिक कार्यक्रम पनि राखिएको थियो । कार्यक्रममा तेक्वान्दो खेलाडीले घैँटो फुटाउनुको साथै मूलपानी तेक्वान्दो डोजाङका प्रमुख तथा कार्यक्रमका संयोजक अशोक खड्काले पेटमा मोटरसाइकल कुदाएका थिए ।
सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि युवराज लामाले तेक्वान्दो खेलकुदको मेरुदण्डको रूपमा रहेको चर्चा गरेका थिए । मुलुकको मान सम्मान र प्रतिष्ठा अन्तराष्ट्रमा बढाउन अग्रस्थानमा रहेको र आगामी दिनमा पनि यसले राम्रो नतिजा प्रदान गर्ने विषयलाई प्रस्ट्याएका थिए । खेलकुदको क्षेत्रमा तेक्वान्दो खेलसँग सहकार्य गर्दै राष्ट्रिय खेलकुद परिषद्ले यसको विकासका लागि कुनै कसर बाँकी नराख्ने विचार व्यक्त गरेका थिए । खेल क्षेत्रमा स्वयम्सेवक प्रशिक्षकका रूपमा खेल क्षेत्रको विकासका लागि लागिपर्नुहुने दक्ष तथा ऊर्जाशील खेलाडी तथा कोचहरूका लागि राष्ट्रिय खेलकुद परिषद्ले मूल्याङ्कन गर्न थालिसकेको र आगामी दिनमा उनीहरूको लगनशीलतालाई मध्यनजर गर्दै सहयोग पुर्‍याउने बताए ।
कार्यक्रममा इन्टाका महासचिव नारायण गुरुङले आगामी दिनमा पनि यस्ता सहयोग गरी नेपालमा तेक्वान्दो खेलको विकास र अन्तर्राष्ट्रियस्तरमा पदक ल्याउन भरपूर मद्दत गर्ने बताएका थिए । ओलम्पियन दीपक विष्टले आफ्नो मन्तव्य राख्दै अन्तर्राष्ट्रिय तेक्वान्दो सङ्घले गरेको यस कार्यको प्रशंसा गरेका थिए । नेपालमा विगतमा पनि इन्टाले यस्ता सहयोगहरू पुर्‍याइरहेकोमा विशेष धन्यवाद दिएका थिए । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य रामेश्वर फुँयालले नेपालको विश्वविद्यालयस्तरीय विषयवस्तुमा खेलकुदलाई पनि राख्नुपर्ने धारणा व्यक्त गरेका थिए । विदेशमा रहेका नेपाली प्रशिक्षकले देखाएको यो सहयोग र सम्मानले नेपाली तेक्वान्दो खेलाडीको हौसला वृद्धि मात्र नभई नेपालमा तेक्वान्दो खेलमा लागिपर्नुहुने सम्पूर्ण महानुभावलाई पनि ऊर्जा हुने बताएका थिए ।
कार्यक्रममा खेलसामग्री वितरण गर्नुहुँदै सदस्यसचिव युवराज लामा तथा इन्टा महासचिव गुरुङले यस्ता किसिमका सहयोगले खेलाडीमा थप ऊर्जा दिने कुरा व्यक्त गरे । इन्टाले वितरण गरेको खेलसामग्री पुष्पा बस्नेत सीएनएन हिरोका तर्फबाट उनको संस्था अर्ली चाइल्डहुड सेन्टरका प्रतिनिधिले तथा बारा जिल्ला तेक्वान्दो कार्यसमितिको तर्फबाट कार्यसमितिका अध्यक्ष गुरुप्रसाद गौतम तथा उपाध्यक्ष कृष्णमुरारी खड्काले संयुक्त रूपमा ग्रहण गरेका थिए ।

काठमाडौं भ्याली र टेरेसालाई उपाधि
दोस्रो नेरिक–जेनिथ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा काठमाडौं भ्याली स्कुल, सिनियर गल्र्समा टेरेसा एकेडेमी र जुनियर ब्वाइजमा इनोभेटिभ च्याम्पियन बनेका छन् । शंखमूलस्थित आयोजक नेरिक एकेडेमीको कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा काठमाडौं भ्यालीले इनोभेटिभमाथि ३७–३६ को रोमाञ्चक जित हात पार्‍यो । विजेताका हिमालले १२ अङ्क जोडे । सिनियर गल्र्सको उपाधि भिडन्तमा टेरेसाले भ्याली पब्लिकलाई २६–१९ ले निराश पार्‍यो । विजेताकी सरिता थापाले १० स्कोर गरिन् ।
जुनियर ब्वाइजको उपाधि जितेको इनोभेटिभले आयोजक नेरिक ‘ए’लाई २५–२० ले पाखा लगायो । विजयी टिमका लागि भूपेन्द्र रोकाले १० अङ्क बटुले । सिनियर गल्र्समा टेरेसाकी सरिता थापा, सिनियर ब्वाइजमा काठमाडौं भ्यालीका आङ छिरिङ शेर्पा तथा जुनियर ब्वाइजमा इनोभेटिभका राकेश राउत ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर गल्र्समा माउन्ट कैलाश, सिनियर ब्वाइजमा बौद्ध चिल्ड्रेन हेभन तथा जुनियर ब्वाइजमा दिव्यज्ञान अनुशासित टिम ठहरिए । विजेतालाई ओलम्पियन दीपक विष्ट, नेरिकका अध्यक्ष प्रशान्त ढकाल तथा जेनिथ रेमिटका निर्देशक मेघ केसीले पुरस्कार वितरण गरेका थिए ।