मार्सल आर्टस्को फिल्म हेर्दाहेर्दै सानै उमेरमा उहाँको मार्सल आर्टस्सँग साइनो गाँसिएको थियो । बचपनको त्यो चञ्चले स्वभावले नै होला उहाँले नौ वर्षकै उमेरमा गोजुरियो करातेलाई आत्मसात् गर्नुभएको थियो । गोजुरियोमा प्रवेश गर्दा कराते भन्ने थाहा भए पनि त्यसभित्रको कलाबाट उहाँ अनविज्ञ र अपरिचत हुनुहुन्थ्यो । समयको प्रभावसँगै अर्थात् गोजुरियो खेल्न थालेपछि उहाँ यसको रसमा चुर्लुम्म डुब्नुभएको थियो । अझ बुबाआमाले आफ्नो रुचिअनुसार अगाडि बढ्न सुझाब र प्रोत्साहन गरेपछि उहाँको रगतमा कराते मात्र दौडिन पुगेको थियो । यसरी सानै उमेरमा करातेमा हाम फालेर राष्ट्रिय÷अन्तर्राष्ट्रिय सफलता प्राप्त गर्नुको साथै नेपालमा गोजुरियो करातेलाई स्थापना गर्न अहम् भूमिका निभाउनुभएको उहाँ अर्थात् बलराम मित्र (बिआर मित्र) हुनुहुन्थ्यो ।
दक्षिण भारतको चेन्नाईमा सन् १९८९ देखि आफ्नो खेलजीवन शुभारम्भ गर्नुभएका बलराम मित्रले मलेसियन गुरु सिहान के आनन्थन र रविन्द्रनसँग गोजुरियो करातेको प्रशिक्षण लिनुभएको थियो । खेलप्रतिको अगाध आस्था र समर्पणले गर्दा छोटो समयमा नै उहाँ गोजुरियो खेलको चर्चित खेलाडी बन्न सफल हुनुभएको थियो । एक उत्कृष्ट खेलाडीको पहिचान बनाइसकेपछि मित्रले भारतकै प्रतिनिधित्व गरेर थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरी महŒवपूर्ण पदक प्राप्त गरी चर्चाको शिखरमा पुग्न सफल हुनुभएको थियो । मित्रले मलेसिया र भारतमै भारतीय टोलीको प्रतिनिधित्व गरेर सातौँपटकसम्म अन्तर्राष्ट्रिय गोजुरियो करातेमा सहभागिता जनाउँदै थुप्रैपटक वेस्ट फाइटरको उपाधि आफ्नो झोलीमा हाल्नुको साथै भारतको नामसमेत गोजुरियो कराते खेलमार्फत अन्तर्राष्ट्रियस्तरमा रोशन गर्नुभएको थियो । उहाँले धेरैजसो पदक काता र कुमुतेमा जित्नुभएको थियो । यो कुरा उहाँको बायोडाटा हेर्दा पनि सहजै अनुमान लगाउन सकिन्छ ।
बहुमुखी प्रतिभाका धनी बलराम मित्रले प्रवासी रूपमा भारतमा रहँदा गोजुरियो करातेको खेलाडी मात्र नभई अन्य भूमिकामा पनि त्यत्तिकै सफलता हासिल गर्नुभएको थियो । उहाँले सन् १९९६ देखि २००० सम्म अलइन्डिया नेप्लिज स्टुडेन्ट एसोसिएसनको प्रेसिडेन्ट भएर कार्य गर्नुभएको थियो । त्यस्तै उहाँले यहीँ विद्यार्थी सङ्घको केन्द्रीय कार्यसमितिमा भाइस चियरम्यानको भूमिका पनि सफलताका साथ निर्वाह गर्नुभएको थियो । साथै भारतमा रहँदा र खेल्ने क्रममा उहाँ भारतीय गोजुरियो कराते महासङ्घको सदस्यसमेत बन्न सफल हुनुभएको थियो । यसरी सफलताले चुम्दै जाँदा आत्मविश्वासी मित्रको महŒवाकाङ्क्षा बढ्नु पनि स्वाभाविकै थियो । र, उनले यस्तो महŒवाकाङ्क्षा देखाए पनि । तर, एउटा नेपालीले गरेको प्रगतिप्रति भारतीयहरूको सोच र दृष्टिकोणमा आएको परिवर्तनले उहाँको मनलाई निकै कुठाराघात बनायो । त्यसपछि मित्रले भारत बस्नु उचित नसम्झी नेपालमै गोजुरियो करातेको स्थापना र विकास गर्ने सोच बनाएर स्वदेश फर्केका थिए ।
बलरामले ०५३ सालमा गोजुरियो करातेलाई नेपाल भिœयाएका थिए । त्यसबेला राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवमा रुक्मशमशेर राणा हुनुहुन्थ्यो । त्यसबेला मुलुक विषम परिस्थितिमा गुज्रिरहेकोले गोजुरियो करातेले सहजै मान्यता पाउन सकेन । यसका लागि मित्रले निकै पापड बेल्नुपरेको थियो । तत्कालीन समयमा राखेपमा सङ्घ दर्ता गर्न २५ जिल्लामा प्रशिक्षण भएको हुनुपर्ने नियम भएकाले त्यो मापडण्डलाई पूरा गर्न उहाँ खेलाडी र प्रशिक्षक उत्पादन गर्नपट्टि लाग्नुभएको थियो । अझ द्वन्द्वकालले गर्दा सहजै खेलाडी उत्पादन र प्रशिक्षक भेट्टाउन निकै गाह्रो भएको थियो । त्यसपछि उहाँ पुन: भारत गएर नेपाली प्रशिक्षकहरूलाई लिएर खेलाडीलाई प्रशिक्षण दिनुभएको थियो । तँ आँट म पुर्याउँछु भनेझैं सात–आठ वर्षको अथक मिहिमेत र परिश्रमपश्चात् ०६० सालमा गोजुरियोे कराते राखेपमा दर्ता भएर वैधानिक मान्यता
पाएको थियो ।
गोजुरियो करातेलाई वैधानिक मान्यता दिलाएपछि अहिलेसम्म उहाँ यो खेलको समग्र विकासका लागि निरन्तर रूपमा अहोरात्र खटेर लागिरहनुभएको छ । गोजुरियो संस्थापक अध्यक्ष भएर उहाँले चार वर्ष करातेलाई हाँकेपछि अहिले सोही सङ्घको प्रमुख प्रशिक्षक र महासचिव भएर यस खेलको विकासमा आफूलाई होमिरहनुभएको छ । वर्तमान अवस्थामा ब्ल्याकबेल्ट ६ डान प्राप्त गरिसक्नुभएका बलराम अहिले दक्षिण एसियाली गोजुरियो कराते डो फेडेरेसनको प्रेसिडेन्ट पनि हुनुहुन्छ । त्यस्तै एसियन गोजुरियो कराते महासङ्घको महासचिव र रेफ्री पनि हुनुहुन्छ । त्यस्तै उहाँको अर्को उपलब्धिमा एसियन कराते फेडेरेसनको महासचिव र जज कमिटीको जज हुनु पनि हो । कुनै पनि खेलको नेपाली खेल पदाधिकारीले हासिल गरेको यो सबैभन्दा ठूलो उपलब्धि हो । मित्र त्यो उपलब्धि हासिल गर्ने पहिलो व्यक्तित्वको रूपमा चिनिनुहुन्छ । यसैगरी वर्तमान नेपाल कराते सङ्घको कार्यकारी सदस्य रहनुभएको उहाँ मल्टिस्कोप टे«डिङ प्रालिको चियरम्यान पनि हुनुहुन्छ ।
आमा देवकी मित्र र बुबा सीपी अधिकारीको सन्तानका रूपमा जन्मिएका बलराम मित्र आफूले बगाएको पसिना र सुकाएको रगतबाट आज मौलाएको गोजुरियो देख्दा निकै प्रसन्न हुनुहुन्छ । गोजुरियोको बिरुवा रोप्दा व्यहोरेको झमेला र भोगेको उतारचढाव उहाँको मानसपटलमा ताजै भए पनि अहिले गोजुरियोले फल दिन सक्षम भएकोमा उहाँ खुसीले गद्गद् हुनुभएको छ । अहिले उहाँको सपनाको सानो अंश पूरा भएको छ । गोजुरियो करातेको भविष्य निकै उज्ज्वल देख्नुभएका मित्रले छोटो समयमा पाएको सफलता र उपलब्धिले अहिले उहाँको जोस, जाँगर र आत्मविश्वासलाई अझ बढाइदिएको छ । अझ योभन्दा राम्रो गर्नुपर्छ भन्ने सकारात्मक सोचलाई जगाइदिएको छ । मित्र गौरवका साथ भन्नुहुन्छ, ‘छोटो समयमा हामीले दक्षिण एसियामा लिड गर्ने मौका पाएका छौँ ।’ वर्तमान अवस्थामा करातेका हरेक विधाले पाएको सफलतालाई दृष्टिगत गर्ने हो भने भविष्यमा नेपाली कराते विश्वको टपटेनमा आउने उहाँको दाबी छ । मार्सल आर्टस्मा नेपाली खेलाडीको सकारात्मक भावना, जोस, जाँगर र पाएको सफलतालाई मूल्याङ्कन गर्ने हो भने एक दिन नेपाल विश्वमै मार्सल आर्टस्को उर्वरभूमिको रूपमा चर्चित हुने उहाँको विश्वास छ ।
वास्तविक रूपमा भन्नुपर्दा अहिले पनि कारतेको नाम उच्चारण गर्दा जापानको नाम अग्रपङ्तिमा आउँछ । तर, त्यो वास्तविकता होइन । वास्तविकता भनेको विश्व कराते महासङ्घका खेलहरूमा कसले पदक जित्न सक्छ त्यो हो । जसले मुलुकको प्रतिष्ठा र शानलाई प्रत्यक्ष रूपमा प्रभाव पार्छ । नेपाल सानै देश भएर पनि मार्सल आर्टस्प्रतिको यहाँका खेलाडीहरूको सकारात्मक सोच र उत्कृष्ट प्रदर्शनले विश्वमै लिड गर्ने क्षमता राख्छ । जसको प्रत्यक्ष उदाहरणका लागि विगतमा भएको एसियाली गोजुरियो कराते महासङ्घको प्रतियोगितामा नेपालले पाएको सफलतालाई लिन सकिन्छ । उक्त प्रतियोगितामा नेपालले काठमाडौं, मलेसिया, भारत र सिंगापुरमा हासिल गरेको गौरवमय उपलब्धिलाई लिन सकिन्छ । यी प्रतियोगिताहरूमा नेपालले दुईपटक प्रथम र दुईपटक दोस्रो स्थान हासिल गरेको मित्रले बताउनुभयो ।
गोजुरियो करातेलाई नेपालमा स्थापना गराउन बलराम मित्र थुप्रै उकाली, ओराली र देउरालीमा बास बसिसक्नुभएको छ । यसमा उहाँले तीतो–मीठो दुवैको अनुभव गर्ने अवसर पाउनुभएको छ । गोजुरियो विकास र विस्तार गर्ने क्रममा उहाँका थुप्रै अविष्मरणीय क्षण भए पनि त्यसमध्ये मुलुक द्वन्द्वकालमा होमिएको बेलमा उहाँले खेलाडीहरूलाई प्रशिक्षण गराउँदा भागेको पीडा अविष्मरणीय बनेको छ । गोजुरियोलाई राखेपमा दर्ता गर्न २५ जिल्लामा गराउनुपर्ने भएपछि उहाँ खेलाडीहरूलाई प्रशिक्षण दिन दाङको भालुवाङ पुग्नुभएको थियो । राप्ती किनारामा खेलाडीहरूलाई प्रशिक्षण गराइरहेको अवस्थामा चारैतिरबाट पुलिसले घेरेर बन्दुक तेस्र्याउँदा आफ्नो दानापानी करातेमा यति नै रहेछ भनेर निकै विचलित बन्नुभएको थियो । पछि पुलिसले डेढ किलोमिटर पर लगेर सोधपुछ गरेपछि कराते खेलाडी भएको थाहा पाएपछि छोडेको घटना अहिले पनि उनको दिमागमा ताजै छ । यो घटना हुँदा उहाँका समकक्षी गुरु आरसी सुवेदी पनि सँगै हुनुहुन्थ्यो ।
यसरी गोजुरियो करातेको लामो कालखण्डलाई पार गर्दै अहिले पनि यसैमा रमाइरहेका र यसैमा आफ्नो र मुलुकको भविष्य देखिरहेका बलराम मित्रले नेपाली खेलकुदका समग्र विकासका लागि परिवर्तन अपरिहार्य भएको बताउनुभएको छ । व्यवस्था परिवर्तनसँगै नौलो घाम झुल्किने र नौलो आशाका किरणहरू देखिने भएकोले खेलकुदमा पनि यसको प्रत्यक्ष प्रभाव पर्ने उनको दाबी छ । धर्मपत्नी सिर्जना सुवदीसँग लगन गाँठोमा बाँधिनुअघि र छोरा विधान अधिकारी जन्मिँदा जुन परम्परा र परिवर्तनको मित्रले अनुभव गरे त्यस्तै परम्परा जोगुरियोमा पनि दोहोरिने उनको विश्वास छ । एक दिन आफूले छोरा विधान जन्माएझैं गोजुरियो पनि वल्र्ड च्याम्पियन जन्माएर मुलुकको मान, सम्मान र प्रतिष्ठालाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने उहाँको अर्को ठूलो विश्वास छ । हेर्दै जाऊँ जसरी मित्र सिनेमा राम्रा–राम्रा गीत रचना गरेर श्रोताहरूको मन जितिरहेका छन् त्यसरी नै जोगुरियो करातेमा पनि राम्रा–राम्रा खेलाडी उत्पादन गर्नु सकून् ।
ढुङ्गाअड्डामा फिटनेस सेन्टर
राजधानीको ढुङ्गाअड्डास्थित तीनथानामा ‘फिटनेस फस्र्ट’ नामक फिटनेस सेन्टर स्थापना भएको छ । शारीरिक सुगठनका राष्ट्रिय खेलाडी लक्ष्मण भट्ट र विनोद बज्राचार्यले मिलेर खोलेको सेन्टरको नेपाली सेनाका पूर्वब्रिग्रेडियर जनरल डा. मदनमान मल्लले हालै उद्घाटन गरेका हुन् । सेन्टरको उद्घाटन गर्दै मल्लले जवानभन्दा पनि ४० वर्ष भएपछि मानिसलाई व्यायाम जरुरी हुने बताए । व्यायाम नगरेर आमनेपाली रोगी भएको भन्दै निरन्तर व्यायाम गर्न उनले सुझाब दिए । आर्मी अफिसर्स क्लबमा फिजिकल फिटनेस र कार्डियोलोजी सिकाउँदै आएका भट्ट र शारीरिक सुगठनमा रुचि राख्ने बज्राचार्यले नै दैनिक सेन्टरमा आउनेहरूलाई सिकाउनेछन् । २० लाखको लागतमा खोलिएको यो सेन्टरमा जिम, लेडिज फिटनेस, एरोबिक्स, साउना, टुडे मिल्क, साइक्लिङ, हौला हुप र योगालगायतका सुविधा उपलब्ध भएको प्रवद्र्धक लक्ष्मण भट्टले बताए । ‘आधुनिक फिटनेस सेन्टरमा हुने सबै सुविधा हाम्रोमा छ,’ अर्का प्रवद्र्धक विनोदले भने, ‘तीनथाना क्षेत्र आसपासमा अन्य फिटनेस सेन्टर छैन ।’
हिम्सको १८औँ अभिभावक दिवस
जोरपाटीको नारायणटारस्थित हिमालय इन्टरनेसनल मोडेल हायर सेकेन्डरी स्कुल (हिम्स) ले हालै आफ्नो १८औँ अभिभावक दिवस मनाएको छ । सो अवसरमा विद्यार्थीले नर्सरी रायम्स, विभिन्न जातजातिको संस्कृति झल्किने लोकनृत्य, सङ्गीतलगायत प्रस्तुत गरेका थिए । विद्यार्थीले प्रस्तुत गरेको ‘याक एन्ड यती’ नाच कार्यक्रमकै आकर्षणको केन्द्रबिन्दु बनेको थियो । यसअघि पूर्व पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री याङकिला शेर्पाले दीप प्रज्ज्वलन गरी दिवसको विधिवत् उद्घाटन गरेकी थिइन् ।
सो अवसरमा पूर्वराज्यमन्त्री शेर्पाले हिम्सले विद्यार्थीलाई आफ्नो क्षमता प्रस्फुटन गर्न वातावरण निर्माण गरिरहेको थाहा पाउँदा आफूलाई खुसी लगोको बताइन् । उनले विद्यार्थीलाई सही दिशामा दोहोर्याउन अभिभावकले स्कुलमा मात्र निर्भर नभई अभिभावकले पनि त्यसमा ध्यान दिन आवश्यक रहेको बताएका थिए । हिम्सका प्रिन्सिपल आरसी खनालले विद्यार्थीलाई राम्रो वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्न स्कुल केन्द्रित रहेको बताए ।
नेपालले एसियाली जुनियर टेनिस खेल्ने
यू–१४ आईटीएफ एसियाली जुनियर टेनिस च्याम्पियनसिपमा नेपाली खेलाडीले सहभागिता जनाउने भएका छन् । त्यसका लागि सातदोबाटोस्थित टेनिस कोर्टमा खेलाडी छनोट प्रतियोगिता सुरु भएको छ । ब्वाइजमा पाँच तथा गल्र्समा सात खेलाडी सहभागी रहेका छन् । खेलाडीले राउन्ड रविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । दुवै समूहमा शीर्ष तीन–तीन स्थान हात पार्ने खेलाडी उक्त च्याम्पियनसिपका लागि छानिने टेनिस प्रशिक्षक सूर्यभूषण बज्राचार्यले जनाएका छन् । छनोट हुने खेलाडीको टुङ्गो बिहीबार लाग्नेछ । च्याम्पियनसिप जनवरी १४ देखि २५ तारिखसम्म भियतनामको होचिमिन्हमा हुँदै छ ।
सहयोगी नेपालद्वारा मन्डेकाजी सम्मानित
हङकङमा भएको १३औँ एसियाली प्यासिफिक कराते च्याम्पियनसिपका पदक विजेता मन्डेकाजी श्रेष्ठलाई भक्तपुरस्थित सहयोगी नेपालले सम्मान गरेको छ । मन्डेले उक्त च्याम्पियनसिपको टिम कुमुतेमा रजत तथा टिम कातामा कास्य जितेका थिए । सोही अवसरमा हङकङमै च्याम्पियनसिपका बेला भएको सेमिनारअन्तर्गत कुमुतेतर्फ रेफ्री ‘बी’ र कातामा जज ‘ए’मा उत्तीर्ण प्रकाशमोहन धौभडेल तथा जज ‘बी’ मा उत्तीर्ण भएकी राधिका देउलालाई पनि सम्मान गरिएको थियो । भक्तपुर निवासीत्रयलाई भक्तपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दिलीपकुमार चौधरीले प्रशंसापत्र प्रदान गरी सम्मान गरे । कार्यक्रममा थ्री स्टारका म्यानेजर तथा नेपाल युथ ग्रुपका अध्यक्ष राम बोसले पदकविजेता मन्डेलाई प्रोत्साहनस्वरूप १० हजार नगद पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा सहयोगी नेपालका अध्यक्ष हरिदेव श्रेष्ठ, उपाध्यक्ष रामहरि श्रेष्ठ, नेपाल कराते डो महासङ्घ एवम् नेपाल सितोरियो कराते डो सङ्घका अध्यक्ष दावा गुरुङलगायतको उपस्थिति रहेको थियो । डिसेम्बर १२ देखि १६ तारिखसम्म भएको उक्त च्याम्पियनसिपमा नेपाल २ स्वर्णसहित टिम उपविजेता भएको थियो । च्याम्पियनसिपमा १८ राष्ट्र सहभागी थिए ।
अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा विजित उत्कृष्ट
काठमाडौंमा जारी ‘चेल्सी जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०१२’ प्रतियोगितामा नेपालका विजित थापाले दोहोरो उपाधि प्राप्त गरेका छन् । उनले छात्र यू–१७ को एकल र युगल दुवैतर्फको उपाधि जितेका हुन् । विजितले एकलमा पहिलो सेटमा १२÷२१ ले पछि परे तापनि खेललाई सुधार गर्दै सुमन लिम्बूमाथि २१÷१७ र २१÷१७ को जित निकालेका थिए ।
त्यस्तै उनले युगलतर्फको खेलमा तीर्थ मल्लसँग मिलेर सुमन लिम्बू र सन्तोष खड्काको जोडीमाथि पहिलो सेटमा १७÷२१ ले पछि परे तापनि खेललाई उल्टाउँदै आफ्नो पक्षमा पार्न सफल भएका थिए । मल्ल र थापाको जोडीले दोस्रो सेटमा २१÷१३ र तेस्रोमा २१÷१६ को विजय निकालेका थिए ।
काठमाडौं जिल्ला ब्याडमिन्टन सङ्घको आयोजना टिमनिखिल एकेडेमी बंगलादेशको सहआयोजना तथा चेल्सी इन्टरनेसनल एकेडेमीको प्रायोजनामा आयोजित प्रतियोगिताको छात्र यू– १५ को प्रतियोगितामा नीराजन देवकोटाले आफ्नै देश नेपालका रियाज अन्सारीमाथि २१÷१४, २१÷१८ ले पराजित गर्दै हालै कञ्चनपुरमा भएको प्रतियोगिताको हारलाई बिर्साएका छन् । कञ्चनपुरमा रियाजले देवकोटालाई पराजित गर्दै दोस्रो स्थानमा चित्त बुझाउन बाध्य पारेका थिए । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताकोे यू–१७ छात्रा एकलतर्फको उपाधि भारत झारखण्ड ब्याडमिन्टन एकेडेमीकी मनीषा रानी तिर्केले प्राप्त गरेकी छिन् । उनले बिहीबार सम्पन्न फाइनल खेलमा नेपालकी शिक्षा श्रेष्ठलाई २१÷१०, २१÷१४ को सोझो सेटमा पराजित गरेकी थिइन् । उक्त समूहमा झारखण्डकी सौम्या दास र नेपालकी श्रेया प्रधानले तृतीय स्थान प्राप्त गरे । छात्रातर्फकै यू– १५ को प्रतिस्पर्धामा भारत झारखण्ड ब्याडमिन्टन एकेडेमीकी मनीषा रानी तिर्केले सोही स्थानकी सौम्य दासलाई २१÷११, २१÷९ ले सहजै पाखा लगाइन् । नेपालकी जेसिका गुरुङ र मेघा चन्दले तृतीय स्थानमा चित्त बुझाए । सो अवसरमा पूर्व वरिष्ठ खेलाडी त्रिरत्न मानन्धरको नाममा ब्याडमिन्टन खेलका लागि चार लाखको अक्षयकोष खडा गर्ने उद्घोष गरिएको थियोे । उक्त अक्षयकोषबाट प्राप्त ब्याजबाट प्रत्येक वर्ष आयोजना गरिने प्रतियोगितामा ४० हजारबराबरको पुरस्कार वितरण गरिनेछ । विजेताहरूले ट्रफी, मेडल तथा खेलकुद सामग्री प्राप्त गरेका थिए । चाइनाको खेलकुद सामग्री उत्पादक कम्पनी लिनिङ र खेलसामग्री विक्रेता स्पोर्टस् सप, बानेश्वरका अरुण पोखरेलले विजेता खेलाडीका लागि खेलकुद सामग्री प्रायोजन गरेका थिए ।
कार्यक्रममा नेपालमा ब्याडमिन्टन खेलको विकास र विस्तार गर्नुका साथै ब्याडमिन्टनको उच्च संस्था ब्याडमिन्टन एसिया कन्फेडेरेसनको कार्यकारी सदस्यजस्तो पदमा पुग्न सफल भएकोमा उनलाई कदर पत्रद्वारा सम्मान गरिएको थियो । विजेता खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद नेपाल, ब्याडमिन्टन एसिया कन्फेडेरेसनका कार्यकारी सदस्य प्रकाशबहादुर शाही, नेपाल ब्याडमिन्टन सङ्घका निमित्त अध्यक्ष ध्रुवकुमार श्रेष्ठ, चेल्सी इन्टरनेसनल एकेडेमीका संस्थापक प्रिन्सिपल सुधीर झालगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतिक्रिया