गाडी कब्जा अभियानमा-शिखर बस्नेत

गाडी कब्जा अभियानमा-शिखर बस्नेत


कम्युनिस्ट भनेका सबैभन्दा साधारण जीवनशैली बिताउने प्राणी हुन् भन्ने पूर्वमान्यता नेपालको सर्न्दर्भमा अब पूर्णत: भङ्ग भएको छ । सामन्ती र पुँजीवादी भनिएका पञ्च, काङ्ग्रेस र अन्य प्रजातन्त्र पक्षधरहरूभन्दा कम्युनिस्ट नेताहरूको जीवनशैली विलासीपूर्ण भएपछि कम्युनिस्टप्रतिको पूर्वधारणा बदलिने स्थिति बनेको हो । विगतमा अर्काले दु:ख गरी कमाएको सम्पत्तिमाथि कब्जा जमाउने र चन्दाका नाममा जबर्जस्ती रकम असुल्ने पहिचान बनाएका कम्युनिस्ट नेताहरूले राज्यको सम्पत्तिमाथि कतिसम्म ब्रह्मलुट गर्न सक्दा रहेछन् भन्ने कुराको दृष्टान्त पनि धेरै राम्रोसँग प्रस्तुत गरिरहेका छन् । आफ्नो पार्टीका निम्ति पार्टीकै निर्देशनमा नेपालीहरूकै विरुद्ध लडेका लडाकुहरूलाई प्रत्येक वर्ष राज्यकै ढुकुटीबाट पाल्न बाध्य पार्ने कम्युनिस्ट नेताहरूमध्ये प्रचण्ड र झलनाथ खनाल सबैभन्दा विलासी र शौखिन मानिनुहुन्छ । प्रचण्ड राम्रा लुगाको मात्र शौखिन हुनुहुन्न, महँगा मदिरा र बनेल र मृगका सुकुटी एवम् लोकल माछाको परिकार तथा अन्य स्वादिष्ट भोजनको पनि त्यत्तिकै शौखिन मानिनुहुन्छ । आफू हिँड्दा राज्यबाट पालिएका सिपाही, प्रहरी र लडाकुहरूको धेरै ठूलो जत्था अघिपछि लगाएर हिँड्न रमाइलो मान्नुहुने गरिब जनताका नेता प्रचण्ड अहिले करिब डेढ करोड मूल्य पर्ने सवारीसाधन प्रयोग गर्ने गर्नुहुन्छ । प्रचण्ड राजनीतिमा नआएको भए उहाँको तीन पुस्ताले निरन्तर परिश्रम गर्दा पनि उक्त गाडी चढ्ने हैसियत बन्न सम्भव थिएन । शेरबहादुर देउवामाथि पाजेरो संस्कृति भित्र्याएको भन्दै तीव्र आलोचना गर्ने कम्युनिस्टका नेता प्रचण्डले खुला राजनीतिमा आउनुभएपछि साइकल या नेपालमा बनेको शर्ेपा नामक गाडी प्रयोग गर्नुहुने हो कि भन्ने ठानिएको थियो । तर, उहाँले त्यसो गर्नु उचित ठान्नुभएन, जनताले कर तिरेर जम्मा भएको पैसाले खरिद गरेको विलासी मोटरमा सरकारी पैसाकै तेलमा सयर गर्नुलाई उपयुक्त ठान्नुभयो । प्रचण्डको जीवनशैलीलाई नजिकबाट नियाल्नेहरूले उहाँले भन्ने गर्नुभएको कम्युनिस्ट क्रान्ति र उहाँको जीवनशैलीका बीचमा आकाश र पातालजत्तिकै अन्तर देख्ने गरेका छन् ।
झलनाथ खनालको जीवनशैली पनि संसारका कुनै पनि धनी मानिहरूको भन्दा कमजोर मानिँदैन । लाखौँको सुट र हजारौँ रुपैयाँको र्टाई प्रयोग गरेका कारण धेरै अघि नै चर्चामा आउनुभएका खनालको बंग्ला पनि कुनै धनी नेपालीको भन्दा कम छैन । आफूले प्रयोग गर्ने गरेको गाडी पदबाट हटेपछि पनि जीवनभर आफैंले प्रयोग गर्न पाउने परम्परा बसेपछि खनालले दुई करोडभन्दा बढी मूल्य पर्ने गाडी -रेञ्जरोभर जिप) झिकाउन लाग्नुभएको छ । उक्त गाडी प्रयोगमा आएपछि झलनाथ खनालले नेपालमा सबभन्दा महँगो गाडी चढ्ने नेताको पहिचान बनाउनुहुनेछ । नेपाली जनताको जीवनस्तर दिन प्रतिदिन थप कष्टप्रद हुँदै जाँदा प्रधानमन्त्रीका रूपमा खनालले दुई करोडभन्दा बढी मूल्यको गाडी प्रयोग गर्न रहर गर्नुले नेपाली राजनीतिकर्मीहरूको नियत र चरित्र मात्र उदाङ्ग बनाएको छैन, कम्युनिस्ट भनेका कस्ता हुन्छन् भन्ने प्रश्नको जवाफ पनि उपलब्ध गराएको छ ।
भ्रष्टाचारविरोधी र अपेक्षाकृत साधारण जीवनशैलीका नेता भनेर चिनिनुहुने माधव नेपालले पनि सवा करोड मूल्यबराबरको प्राडो -प्रचण्डले प्रयोग गरेजस्तैै) गाडी लिएर जानुभएको छ । उहाँ आफू भ्रष्टाचारको मामिलामा बद्नाम नभए पनि एसियाको सबैभन्दा भ्रष्ट मुलुकको रर्ेकर्डचाहिँ नेपालले उहाँकै कार्यकालमा बनाएको हो । माधव नेपालले पनि महँगो सरकारी गाडी लिएर जानुलाई जनस्तरमा कसैले पनि उचित मानेका छैनन् । प्रचण्डले लगेको गाडी फिर्ता लिन पहल गराउनुपर्नेमा आफूले समेत उस्तै गाडी लिएर जानुभएपछि माधव नेपालको साधारण जीवनशैली र कम्युनिस्ट चरित्रमाथि पनि प्रश्न रामै्रसँग उठेको छ । त्यसैगरी माधव नेपाल प्रधानमन्त्री रहँदाका गृहमन्त्री भीम रावलले पनि डेढ करोड मूल्यको गाडी नै कब्जा गरे । पदमुक्त भइसकेपछि पनि प्रयोग गर्न पाउने भएपछि रावलले करिब डेढ करोड मूल्य पर्ने प्राडो खरिद गर्न सरकारलाई बाध्य पारेका थिए । अलिक भिन्न चरित्रका भीमबहादुर रावललाई खाँटी कम्युनिस्ट नमानिए पनि कम्युनिस्ट पार्टी नामको सङ्गठनमा आबद्ध रहेकाले उनलाई पनि मानिसहरूले कम्युनिस्ट नै भन्ने गरेका छन् । रावलले डकैतीको शैलीमा सबैभन्दा नयाँ मोडलको प्राडो कब्जा गर्नुले कम्युनिस्टहरूको गाडीमोहको थप उजागर गरेको छ । सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको नेपालमा राजनीतिक स्थिरताको सम्भावना तत्काल देखिएको छैन । केही महिनाको अन्तरालमा सरकार बदलिइरहेको नेपाली परिप्रेक्ष्यमा राज्यले अरू कति नेताजीहरूलाई करोडौँ मूल्यका गाडी उपहार चढाउँदै जानुपर्ने हो त्यो अनुमान गर्न पनि मुस्किल भएको छ ।
शेरबहादुर देउवाजस्ता केही नेताले महँगो गाडी चढ्न बसाएको परम्परालाई कम्युनिस्ट नेताहरूले थप उचाइमा पुर्‍याउन प्रयत्न गर्नुले उनीहरूको ‘कथनी र करनी’का बीचमा कति ठूलो अन्तर हुन्छ भन्ने स्पष्ट गरेको छ ।