नेपाली खेलकुद क्षेत्रमा लामो इतिहास बोकेको नेपाल दक्षिण एसियाली खेलकुद पत्रकार सङ्घको इतिहास पल्टाउँदा यसको स्थापना र उद्देश्यबारे छर्लङ्ग हुन्छ । विशुद्ध खेलकुद विकास, खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय सञ्चारकर्मीहरूमा आपसी भाइचाराको वृद्धि गर्न र प्रत्यक्ष, अप्रत्यक्ष रूपमा विभिन्न सञ्चार निकायमा कार्यरत सञ्चारकर्मीलाई प्रोत्साहन र पुरस्कृत गर्न यो सङ्घको स्थापना भएको हो । स्थापनाकालदेखि नै सङ्घ आफ्नो उद्देश्यमा खरो उत्रिँदै आएको जगजाहेर नै छ । केही समय मुलुकको सङ्क्रमणकालीन अवस्थाको मारमा सङ्घ गुज्रिए पनि सङ्घलाई अहिलेको अवस्थासम्म पुर्याउन ईश्वरमान सिंहले निभाउनुभएको भूमिका सायदै कसैले बिर्सन सक्ला । तन, मन र धन लगाएर सङ्घलाई सदैव डोर्याएका सिंहको योगदानलाई सम्मान र आत्मसात् गर्दै युवा पिँढीले पनि होस्टेमा हैंसे गर्ने प्रतिबद्धता जनाएको हो । जुन भविष्यमा पनि सिंहको परिवारसँग आत्मीयता गाँसेर अगाडि बढ्नेछ ।
नेपाल दक्षिण एसियाली खेलकुद पत्रकार सङ्घले खेलकुद पत्रकारितामा क्रियाशील रहेको चार पत्रकारलाई ईश्वरमान सिंह उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरेको छ । सङ्घले ईश्वरमान सिंह उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोष्टका रोशन राउन र गोरखापत्र दैनिकका फोटो पत्रकार राजेन्द्र चित्रकारलाई पुरस्कृत गरेको हो । सो पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्षहरूमा सो पुरस्कारको राशि जनही १० हजार रुपैयाँ थियो । यसपटकदेखि राष्ट्रिय खेलकुद परिषद्ले १५ हजार रुपैयाँ थप गरिदिएपछि सो पुरस्कार राशि जनही २५ हजार रुपैयाँ भएको हो ।
सङ्घले खेलकुद पत्रकार दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा परिषद्का सदस्यसचिव युवराज लामाले सो पुरस्कार राशिमा १५ हजार थप गरिदिने घोषणा गरेका थिए । यसैगरी अभिलेखकृत खेलकुद पत्रकारिता पुररस्कारबाट नागरिक दैनिकका विनोद पाण्डेलाई पुरस्कृत गरिएको छ । पाँच हजार रुपैयाँ पुरस्कार राशि रहेको सो पुरस्कारको प्रायोजन नेपाल ओलम्पिक सङ्ग्रहालयले गरेको हो । सौर्य दैनिकका मनोज घिमिरेलाई बुद्धिचाल खेलको विकास र विस्तारमा महŒवपूर्ण भूमिका खेलेबाफत नेपाल बुद्धिचाल सङ्घले प्रायोजन गरेको पाँच हजार राशिको पुरस्कार वितरण गरिएको थियो ।
भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठीले सम्मानपत्र र नगद पुरस्कार प्रदान गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै भौतिक योजना तथा निर्माणमन्त्री त्रिपाठीले नेपाली खेलकुदको विकासका लागि सबै क्षेत्र एकजुट हुनुपर्ने बताए । मन्त्री त्रिपाठीले खेलकुदमा राजनीतिक खिचातानी र ध्रुवीकरण रहेको छ भन्दै यो दूरीलाई सर्वप्रथम कम गर्नुपर्ने बताए । वर्तमान अवस्थामा एकजुट हुनुको विकल्प छैन भन्दै खेलकुदका सबै पक्ष संवेदनशील हुनुपर्ने उनले बताए । हरेक क्षेत्रलाई राजनीतिले बिथोलेको र यसबाट खेलकुद पनि अछुतो नरहेको बताउँदै मन्त्री त्रिपाठीले खेलकुदको समग्र विकास र निकासका लागि खेलकुद पत्रकारको विशेष भूमिका रहने प्रस्ट पारेका थिए । खेलकुदजस्तो रचनात्मक ठाउँमा राजनीतिले गाँज्नु खेलकुदको र मुलुकका लागि दुर्भाग्य भएको बताए । मन्त्री त्रिपाठीले नेपाल ओलम्पिक कमिटीको विवादतर्फ इसारा गर्दै यसको समाधान चाँडै गर्नुपर्ने र त्यसो नगरिए खेलकुदले पनि मुलुककै जस्तै नियति भोग्नुपर्ने बताए । यसको समाधानका लागि सरकार, खेलकुद पदाधिकारी र खेलाडीहरूबीच गम्भीर वार्ता हुनुपर्ने र छिट्टै टुङ्गोमा पुग्नुपर्ने धारणा राखेका थिए ।
अघिल्लो वर्षहरूमा उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कार रहेकोमा यसपटकबाट सो पुरस्कारको नाम सङ्घका संस्थापक अध्यक्ष स्वर्गीय ईश्वनमान सिंह उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कार राखिएको हो । यसभन्दा अघि उक्त पुरस्कारबाट दर्जनौँ खेलकुद पत्रकार सम्मानित र पुरस्कृत भइसकेका छन् । स्वर्गीय ईश्वरमान सिंह ०२१ सालबाट पत्रकारिता क्षेत्रमा लाग्नुभएको हो । सिंहकै सक्रियताका ०५३ सालमा दक्षिण एसियाली खेलकुद पत्रकार सङ्घ स्थापना भएको हो । सो पुरस्कार वितरणको अवसरमा ईश्वरमान सिंहकी धर्मपत्नी विमला सिंहले सङ्घको अक्षय कोषमा एक लाख एक रुपैयाँ प्रदान गर्ने घोषण गरेकी थिइन् । श्रीमती सिंहले आफ्नो श्रीमान् ईश्वरमान सिंहले खेलकुदको विकासका लागि जीवन नै आहूति गरेको बताउँदै अहिले उनको नामबाट खेलकुद पत्रकारहरूलाई पुरस्कार प्रदान गरिएकोमा खुसी प्रकट गरेकी थिइन् । उनले ईश्वरमान खेलकुदका लागि अहोरात्र खटेको र खेलकुदकै लागि घरपरिवारलाई समेत बिर्सने गरेको रहस्योद्घाटन गरेकी थिइन् । श्रीमती सिंहले आज आफूलाई निकै आनन्द र सन्तुष्टि प्राप्त भएको बताउँदै यो कार्यले ईश्वरमानको आत्मालाई शान्ति प्रदान हुने बताइन् । उनको अन्तिम इच्छा पनि यस्तै थियो, त्यसैले एक लाख एक रुपैयाँ अक्षय कोष लागि प्रदान गरेको र भविष्यमा यो राशिको वृद्धिका लागि आफू क्रियाशील रहने प्रस्ट पारिन् । सो अवसरमा श्रीमती सिंहले यो पुण्यकार्य गर्ने आयोजक दक्षिण एसियाली खेलकुद सङ्घलाई धन्यवाद दिएकी थिइन् ।
त्यस्तै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष धु्रव प्रधानले भारतीय ओलम्पिक सङ्घलाई विघटन गरिएको स्मरण गराउँदै अब दक्षिण एसियाली खेलकुद (साग) नेपालमा गर्नका लागि सातै राष्ट्रबाट प्रस्ताव आएको खुलासा गरेका थिए । यो विषयमा सरकार सकारात्मक भए १२औँ साग नेपालमा हुने दाबी गरेका थिए । प्रधानले अहिले सागको बल नेपालको हातमा रहेको बताउँदै आफूले उक्त प्रस्तावबारे सरकारलाई जानकारी गराउने बताए । १२औँ सागको आयोजना नेपाल सरकारको निर्णयमा केन्द्रित रहेकाले सरकारको निर्णय नै सर्वोपरि हुने बताए । प्रधानले एनओसीले पहल मात्रै गर्ने हो भन्दै सरकारले नचाहेमा बल पास गर्नुपर्ने एनओसीको बाध्यता रहनेसमेत प्रस्ट पारेका थिए । स्मरणीय छ, १२औँ साग भारतमा हुने तय भए पनि गत महिना अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले भारतीय ओलम्पिक कमिटीलाई प्रतिबन्ध लगाएपछि यो अवस्थाको सिर्जना भएको हो ।
सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष शिव गाउँलेले पत्रकारको सुरक्षाको विषयमा चिन्ता व्यक्त गर्दै एकजुट भएर आवाज बुलन्द गर्नुपर्ने बताए । गाउँलेले यतिबेला पत्रकारिता पेसा जोखिममा परेको खुलासा गर्दै सरकारले त्यसलाई गम्भीर रूपमा हेर्नुपर्ने धारणा राखेका थिए । त्यस्तै, पत्रकारको सुरक्षाका लागि सम्पूर्ण पत्रकार एक ढिक्का भएर साङ्गठनिक रूपमा लाग्नुपर्ने पनि बताए ।
नेपाल खेलकुद पत्रकार मञ्चका उपाध्यक्ष अजय फुँयालले खेलकुद पत्रकार एकजुट भएर खेलकुद पत्रकारिताको विकासमा क्रियाशील रहनुपर्ने बताए । सङ्घका अध्यक्ष समज्ञ लाकौल र महासचिव राधेश्याम दाहालले पुरस्कारको विषयमा स्पष्ट पारेका थिए ।
पुरस्कृत व्यक्ति
रोशन राउत : उनी विगत दुई दशकदेखि पत्रकारिता पेसामा कार्यरत छन् । साप्ताहिक पत्रिकाबाट पत्रकारिता शुभारम्भ गरेका राउत सन् २००२ देखि वर्तमान अवस्थामा अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकमा स्पोर्टस् ब्युरो चिफका रूपमा कार्यरत छन् । राउतले पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा मास्टर ड्रिगी गरेका छन् ।
राजेन्द्र श्रेष्ठ : ०४६ सालदेखि फोटो पत्रकारितामा क्रियाशील राजेन्द्र हाल गोरखापत्र संस्थानमा कार्यरत छन् । उनी विभिन्न संस्थाबाट खेलकुद फोटो पत्रकारितामा पुर्याएको योगदानबाट सम्मानित भइसकेका छन् ।
विनोद पान्डे : अभिलेखकृत पत्रकारितामा दख्खल राख्ने विनोद ०५६ सालबाट आजको समाचारपत्रबाट पत्रिकारिकता शुभारम्भ गरेका थिए । पछिल्लो चार वर्षदेखि उनी नागरिक राष्ट्रिय दैनिकमा वरिष्ठ संवाददाताका रूपमा कार्यरत छन् ।
मनोज घिमिरे : विगत १५ वर्षदेखि खेलकुद पत्रकारितामा क्रियाशील मनोजले विभिन्न राष्ट्रिय दैनिक र साप्ताहिक, मासिक पत्रिकामा आफ्नो कार्यकुशलता देखाइसकेका छन् । पछिल्लो समयमा सौर्य दैनिकमा कार्यरत मनोज बुद्धिचाल खेलको विकासमा खेलकुद पत्रकारिताबाट विशेष योगदान प्रदान गर्दै फिडे आर्विटरसमेत बन्न सफल भएका छन् ।
नवप्रतिभा खोजीमा तेक्वान्दो डोर टु डोर
तेक्वान्दोका नयाँ प्रतिभावान् खेलाडी खोजी गर्ने उद्देश्यले नेपाल तेक्वान्दो सङ्घले गतसातादेखि नवप्रतिभा खोज कार्यक्रमअन्तर्गत ‘डोर टु डोर’ कार्यक्रम देशव्यापी रूपमा सञ्चालन गरेको छ । जसअन्तर्गत काठमाडौंको उत्तरी क्षेत्रको बालाजुस्थित तरुण मावि, गल्फुटारस्थित सेन्ट जोसेफ स्कुल, कपनस्थित रिलायन्स इन्टरनेसनल एकेडेमी तथा जोरपाटीस्थित द सेलिब्रेसन स्कुलमा छनोट प्रतियोगिता सम्पन्न भएका छन् ।
तरुण माविमा सम्पन्न प्रतियोगितामा विभिन्न १० तौल समूहमा पुरुष र महिला गरी ४० जना सहभागी थिए । पुरुषको ५४ केजीमा बालाजु डोजाङका निरन घले, ५८ केजीमा बालाजुका हिमालयन बुढाथोकी, ६३ केजीमा काभ्रेस्थली डोजाङका हरिशरण भण्डारी तथा ६८ केजीमा क्रेमलिन स्कुलका दीपेन्द्र गुरुङ पहिलो भए । त्यस्तै, महिलाको ४६ केजीमा बालाजुकी निशा जीसी, ४९ केजीमा बालाजुकी अमृता तामाङ, ५७ केजीमा बालाजुकी जानकी तामाङ, ५३ केजीमा कोपिला तामाङ, ६२ केजीमा पृथ्वीनारायण डोजाङकी निशा गजुरेल तथा ७३ केजीमा बालाजुकी लक्ष्मी श्रेष्ठ पहिलो भए ।
महाराजगञ्जमा भएको प्रतियोगितामा ६ तौल समूहमा ३० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुष ५४ केजीमा टोखा डोजाङका दीपेश डङ्गोल, ५८ केजीमा रिपुमर्दिनी स्कुलका रवीन्द्र मल्ल तथा ६३ केजीमा दीपज्योतिका हनिप भण्डारी पहिलो भए । महिलाको ४६ केजीमा रिपुमर्दिनीकी माया गुरुङ, ४९ केजीमा नेसनल पिस स्कुलकी कविता श्रेष्ठ तथा ५३ केजीमा टोखा डोजाङकी अमृता महर्जन शीर्ष स्थानमा रहेका थिए ।
रिलायन्समा भएको प्रतियोगितामा सात तौल समूहमा ३५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुषको ५४ केजीमा ब्रेन्डल्यान्ड स्कुलका झलकमान तामाङ, ५८ केजीमा ब्रेन्डल्यान्डकै आशीष अधिकारी, ६३ केजीमा बौद्ध चिल्ड्रेन हेभन स्कुलका रविकान्त ठाकुर, ६७ केजीमा बौद्धका राजु तामाङ तथा ७२ केजीमा रिलायन्सका अनिल चौधरी पहिलो स्थानमा रहे । महिलाको ५३ केजीमा गौशाला डोजाङकी मनीषा मगर र ५७ केजीमा रिलायन्सकी आशिका राई पहिलो भए ।
जोरपाटीमा भएको प्रतियोगिता विभिन्न ११ डोजाङका ६० खेलाडी ११ प्रतिस्पर्धामा भिडेका थिए । पुरुषको ५४ केजीमा घन्चेन साम्लिङ स्कुलका सुनील मगर, ५८ केजीमा बालग्राम डोजाङका सरोज श्रेष्ठ, ६३ केजीमा गैरीगाउँ डोजाङका बलराम तामाङ, ६८ केजीमा सेलिब्रेसनका आशीष गुरुङ र ७४ केजीमा गैरीगाउँका कृष्णराम तामाङ पहिलो भए । महिलाको ४६ केजीमा श्रमिक डोजाङकी कञ्चन लामा, ४९ केजीमा श्रमिककै निर्मला डगौरा, ५३ केजीमा श्रमिककै सलिना लामा, ५७ केजीमा सेलिब्रेसनकी छिरिङ लामा, ६२ केजीमा जेनिसेस स्कुलकी प्रतिभा राई तथा ७३ केजीमाथि सन्जिता राउत पहिलो भए । आवश्यक निर्देशन तथा निरीक्षणका लागि तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशमशेर राणा, महासचिव दीपराज गुरुङ, कोषाध्यक्ष रविराज सिंहलगायतका पदाधिकारी प्रतियोगिता भएका स्थानमा गएका थिए ।
करातेका रेफ्री तथा खेलाडी सम्मानित
हङकङमा गत डिसेम्बरमा भएको १३औँ एसिया प्यासिफिक कराते प्रतियोगितामा पदक ल्याउने खेलाडी तथा सेमिनारमा उत्तीर्ण भएका रेफ्रीहरूलाई हालै भक्तपुरमा सम्मान गरिएको छ । भक्तपुर जिल्ला सितेरियो कराते सङ्घद्वारा आयोजित उक्त कार्यक्रममा नेपाल कराते महासङ्घका अध्यक्ष दावा गुरुङले कुमुते रेफ्रीमा ‘बी’ र काटामा ‘ए’ उत्तीर्ण हुन सफल कराते रेफ्री काउन्सिल नेपालका संयोजक एवम् वरिष्ठ कराते प्रशिक्षक प्रकाशमोहन धौभडेललाई खादा ओडाएर सम्मानपत्रले सम्मान गरेका थिए ।
त्यस्तै जज ‘बी’ उत्तीर्ण कराते प्रशिक्षक राधिका देउला र प्रतियोगितामा कुमुतेतर्फ रजत र कातातर्फ कास्य पदक विजेता करातेका अन्तर्राष्ट्रिय खेलाडी मन्डेकाजी श्रेष्ठलाई पनि अध्यक्ष गुरुङले खादा ओडाएर सम्मानपत्रसहित सम्मान गरेका थिए । उक्त अवसरमा अध्यक्ष गुरुङले ओलम्पिक खेलमा कराते खेललाई समावेश गराउने पहल भइरहेकाले सन् २०२० सम्ममा नेपालले पदक ल्याउने उद्देश्यसहित महासङ्घले कार्य गरिरहेको बताए । कार्यक्रममा पुरस्कृत कराते रेफ्री काउन्सिल नेपालका संयोजक प्रकाशमोहन धौभडेलले कराते खेलको विकास र विस्तार गर्न काउन्सिलले देशका पाँच विकास क्षेत्रमा प्रशिक्षक, रेफ्री तथा प्राविधिकहरूको कार्यशाला गर्न लागेको जानकारी दिए । भक्तपुर जिल्ला सितेरियो कराते सङ्घका सचिव एवम् कार्यक्रम संयोजक रामशरण ट्वाटीले कभर्डहलको अभावमा धेरै ठाउँमा जस्तै भक्तपुरमा पनि कराते प्रशिक्षण गर्न समस्या भइरहेको बताए । कार्यक्रममा नेपाल किकबक्सिङ सङ्घका केन्द्रीय सहसचिव, भक्तपुर सितेरियो कराते सङ्घका सदस्य सूर्यबहादुर लामा, रवीन्द्रप्रताप शाह, रविन्स लामालगायतले कराते खेलको विकासका लागि व्यवस्थित र आधुनिक कभर्डहलको व्यवस्था हुनुपर्ने माग गरेका थिए ।
प्रधानमन्त्रीद्वारा ओलम्पियन सेमिकभर्डहलको उद्घाटन
राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘प्रथम ओलम्पियन भूपेन्द्र सिलवाल र गंगाबहादुर थापा स्मृति’ ओलम्पियन सेमिकभर्डहलको हालै उद्घाटन गर्नुभएको छ । त्रिपुरेश्वरस्थित राखेप हातामा रहेको बहुउद्देश्यीय कभर्डहलको पूर्वपट्टिको खाली जग्गामा निर्मित नयाँ ओलम्पियन सेमिकभर्डहलको प्रधानमन्त्री भट्टराईले विधिवत् उद्घाटन गर्नुभएको हो ।
राखेप हातामा रहेको एउटै बहुउद्देश्यीय कभर्डहलले धेरै खेल प्रतियोगिता र प्रशिक्षणको भार थेग्नुपर्ने अवस्थालाई कम गर्ने उद्देश्यले राखेपले उक्त कभर्डहल निर्माण गरेको हो । प्रशिक्षण कार्यका लागि प्रयोग हुने सो कभर्डहलको निर्माणकार्य २७ लाखमा पूरा भएको पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख अरुण उपाध्यायले जानकारी गराएका थिए । कभर्डहलले ६ सय २७ वर्गमिटर क्षेत्रफल ओगटेको छ ।
स्व. भूपेन्द्र र गंगा नेपाली ओलम्पियनमध्येका प्रथम ओलम्पियन हुन् । नेपाल सन् १९६४ मा पहिलोपटक टोकियो ओलम्पिकमा सहभागी हुँदा धावक स्व. भूपेन्द्र र गंगासहित ६ जनाले उक्त ओलम्पिकमा सहभागिता जनाएका थिए । हालसम्म विभिन्न सात खेलका ६४ नेपाली खेलाडीले ओलम्पिकमा सहभागिता जनाइसकेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले सीमित स्रोत र साधनका बाबजुद पनि नेपालमा खेलकुदको विकासका निम्ति सरकारले सक्दो सहयोग गरिरहेको बताउँदै खेलकुद जीवनकै अनिवार्य पाटो भएकाले विद्यालय र कलेजमा खेलकुद अनिवार्य पाठ्यसामग्री बन्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री भट्टराईले मुलुकको अन्य स्थानमा पनि भौतिक पूर्वाधार निर्माणकार्य अगाडि बढिरहेको अवगत गराउँदै सरकारले साग, एसिया र ओलम्पिक खेलकुदका पदक विजेतालाई व्यवस्था गरेको नगद पुरस्कारबाट खेलाडीलाई प्रोत्साहन मिलेको विश्वास व्यक्त गर्नुभयो । उहाँले दलगत भागबण्डाले गर्दा खेलकुदमा नराम्रो प्रवृत्ति बसेको चर्चा गर्नुहुँदै खेलकुद क्षेत्रमा दक्षता राख्नेलाई खेलकुदको विभिन्न निकायमा प्रवेश गराउँदा उचित हुने बताउनुभयो ।
प्रधानमन्त्रीले नेपाल ओलम्पिक कमिटीको विवाद समाधानका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमा पत्राचार गरिसकेको स्मरण गराउँदै खेलाडीलाई आर्थिक रूपमा सुरक्षित पार्न लागिपरेको बताउनुभयो । भट्टराईले भन्नुभयो, ‘यहाँको ओलम्पिक कमिटीको विवादका सम्बन्धमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीलाई लेखेर पठाएका छौँ ।’
राखेप उपाध्यक्ष पीताम्बर तिम्सिनाले खेलकुदको विकासका लागि परिषद्ले अघि सारेको प्रास्तावमा प्रधानमन्त्रीले समर्थन जनाउँदै आइरहनुभएकोमा आभार प्रकट गर्दै हाम्रो होइन राम्रो मान्छेको खोजी गरेर राखेप अगाडि बढिरहेको बताए । राखेप कोषाध्यक्ष इन्द्रबहादुर थिङले पूर्वाधारबिना खेलकुदको विकासमा बाधा पुग्ने भएकाले राखेपले यहाँ मात्र नभई देशको विभिन्न २५ स्थानमा भौतिक पूर्वाधार निर्माणको प्रक्रिया अगाडि बढाइरहेको जानकारी गराए ।
एसियाली फुटबल महासङ्घका उपाध्यक्ष एवम् अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष गणेश थापाले निर्वाचित सङ्घलाई हचुवाका भरमा नभई कुनै गल्ती गरे विविधत् प्रक्रियाबाट मात्र विघटन गर्नुपर्ने बताउँदै ओलम्पिकको विवादले खेलाडीको बिचल्ली भइरहेको बताए । अध्यक्ष थापाले सबै सङ्घलाई भौतिक पूर्वाधारको आवश्यकता रहेको, विभिन्न सङ्घलाई अनुदान दिँदा सङ्घको कार्यक्रमका आधारमा निश्चित बजेट छुट्याइनुपर्ने प्रधानमन्त्री भट्टराईसमक्ष आग्रह गरेका थिए ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष ओलम्पियन दीपक विष्टले खेलाडीको नाममा कभर्डहल बनेकोमा खुसी व्यक्त गर्दै साँच्चै नै खेलाडीको सम्मान हुन थालेको महसुस भएको बताए । विष्टले मुलुकको ओलम्पिक विवाद लाजमर्दो विषय भइरहेको बताउँदै यसलाई राष्ट्रिय मुद्दा बनाएर चाँडोभन्दा चाँडो टुङ्ग्याउन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए ।
माउन्टेनबाइकको उपाधि नारायणलाई
दोस्रो माउन्टेनबाइक प्रतियोगिताको उपाधि नारायणगोपाल महर्जनले जितेका छन् । १९.५ किलोमिटर दूरी नारायणले एक घन्टा एक मिनेट १५ सेकेन्डमा पूरा गरेका थिए । उक्त प्रतियोगितामा राजकुमार श्रेष्ठ दोस्रो तथा राजन भण्डारी तेस्रो भए । निर्धारित दूरी पूरा गर्न राजकुमारले एक घन्टा ५ मिनेट तथा राजनले एक घन्टा १६ मिनेट खर्चेका थिए । शीर्ष तीन स्थान हात पार्नेले क्रमश: २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे । विजेतालाई ललितपुर जिल्ला साइक्लिङ सङ्घका अध्यक्ष उपेन्द्रशमशेर जबरा र सल्लाहकार राज केसीले पुरस्कृत गरेका थिए । यसअघि प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । ब्ल्याक हक इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित प्रतियोगिता लुभुदेखि सुरु भई लाकुरीभञ्ज्याङ हुँदै पुन: लुभुमै आएर सकिएको थियो । ७० जनाले प्रतिस्पर्धा गरेका थिए ।
बागमती अञ्चल कराते हुने
नेपाल सितोरियो कराते डो सङ्घ, शाखा डोजो नक्सालको आयोजनामा १२औँ बागमती अञ्चलस्तरीय अन्तरडोजो कराते प्रतियोगिता पुस अन्तिम साता हुने भएको छ । प्रतियोगितामा पुरुष र महिला गरी कुल १७ स्वर्णका लागि प्रतिस्पर्धा हुने डोजोप्रमुख ईश्वर थापाले जनाएका छन् । खेल नक्सालस्थित स्टार भेन्यु पार्टी प्यालेसमा हुनेछ । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब तीन लाख ७५ हजार रुपैयाँ खर्च हुनेछ ।
प्रतिक्रिया