खेलकुद पदाधिकारीबीच पानी बाराबार

खेलकुद पदाधिकारीबीच पानी बाराबार


sportआखिर किन ?
खेलकुद पदाधिकारीबीच देखिएको पानी बाराबारकोे स्थितिले अहिले खेलकुद आक्रान्त बनेको छ । आफ्नै ताल र सुरमा चलेका राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीको ‘मपाइँत्व’ले गर्दा यस्तो स्थितिको सिर्जना भएको हो । राखेप र एनओसीबीच चिसिएको सम्बन्ध यसको कारकतत्व मानिए पनि खेलाडी, प्रशिक्षक र खेलकुदका पदाधिकारीले यसको मार खेप्नुपर्ने बाध्यता भएको छ । आपसी छलफल र सहमतिका साथ समस्याको समाधान निकाल्नुभन्दा एकले अर्कोलाई आरोप र दोषारोपण गर्नुले यो विवाद अझ विकराल बन्दै गएको छ । सर्वोच्च अदालतको फैसलालाई बाहाना बनाएर राखेपले एनओसीलाई बहिष्कार गर्नु र एनओसीले अन्तर्राष्ट्रिय मान्यताका आधारमा राखेपलाई बाइपास गर्नुले समस्या अझ बल्झेर गएको छ । तसर्थ अहिले खेलकुदका यी दुई साँढेको भिडन्त कहिलेसम्म चल्ने हो त्यो चिन्ताको विषय बनेको छ ।
राखेप र एनओसीको विवादमा विजय–पराजयको नतिजा निस्कने सङ्केत अलिकति पनि देखिएको छैन । दुवै पक्ष आफ्नो अडानमा कायम रहनु र सरकारले यो विवादबारे खासै चासो नदिनुले चाँडै यो समस्या समाधान हुने देखिँदैन । अझ प्रधानमन्त्री बाबुराम भट्टराईले ओलम्पिक कमिटीको विवाद अन्तर्राष्ट्रिय भएको प्रस्ट पारेपछि त सरकारको दृष्टिकोण पनि प्रस्ट भइसकेको छ । सरकारले ओलम्पिक विवादको समाधानका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी –आईओसी)लाई पत्राचार गरे पनि राजनीतिक हस्तक्षेप सरकारका लागि प्रत्युत्पादक हुने ठहर गर्दै पछि हटेको थियो । ओलम्पिकको विवादमा आईओसीको निर्णय नै सर्वोपरि हुने कुरा सरकारले राम्रोसँग बुझे पनि राखेपले यसमा बुझपचाई गर्दा ओलम्पिक विवाद चुइगम जसरी तानिन गएको हो । जसलाई खेलकुदको विकास लागि कदापि सकारात्मक कदम मान्न सकिँदैन ।
साँचो रूपमा भन्नुपर्दा राखेपले अहिले समग्र खेलकुदको विकासका लागि दूरदर्शी भएर कदम चाल्नुपर्ने देखिएको छ । एक अभिभावक संस्थाले प्रतिशोधको रणनीति अख्तियार गर्नुको सट्टा विवेक प्रयोग गरेर समस्याको हल निकाल्न सक्नुपर्छ । मिलेर अगाडि जाने कुरामा एनओसीका पदाधिकारीहरू पनि तयार रहेको अवस्थामा राखेपले एक कदम अगाडि बढाएको खण्डमा यहाँ कसैको जित र हारको कुराभन्दा पनि खेलकुदको जित हुने पक्का छ । तर, सर्वोच्चको फैसलालाई नै हतियार बनाएर विपक्षीमाथि धावा बोल्ने हो भने अझ कटुता बढने प्रायः निश्चित छ । यसले समस्याको हल हुने पनि छैन । तसर्थ राखेपले ओलम्पिक विवादको हलको नाममा खेलाडी, प्रशिक्षक र पदाधिकारीहरूको नाकमा रस्सी लगाउन कारबाही गर्न कदापि सुहाउँदैन । यसले खेल भावनामा चोट पु-याउनुको साथै खेलकुदप्रति विक्षिप्तता पैदा गर्नेछ । यस्तो अवस्थामा राखेपले ओलम्पिक विवादमा कुनै राजनीतिक चलखेल नगरी स्वच्छ र प्रस्ट रूपमा आफ्नो भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ । जुन ओलम्पिकको निकासका लागि मात्र नभई समग्र खेलकुदका लागि सकारात्मक पाटो बन्नेमा दुईमत छैन ।
समस्याको समाधान निस्किएपछि अर्थात् ओलम्पिक कमिटीको विवाद समाप्त भइसकेपछि राखेपले ओलम्पिकका विभिन्न मुद्दाहरूमा छानबिन समिति गठन गरेर त्यसको पर्दाफास गर्न सक्छ । एनओसीमा आर्थिक हिनामिना र अपारदर्शिताले शिखर छोएको आरोप लगाइरहेको राखेपले त्यसपछि त्यहाँका क्रियाकलापमा अङ्कुश लगाएर वास्तविक कुरो सार्वजनिक गर्नसक्छ । तर, विडम्बना † राखेपले ओलम्पिक विवादको समाधानको बाटो अर्कै तरिकाले अवलम्बन गर्नु खेलकुदका लागि दुर्भाग्य भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद सङ्घ, ओलम्पियन सङ्घ, राष्ट्रिय खेलकुद परिषद् कर्मचारी सङ्घ र केही सङ्घका पदाधिकारीको बुई चढेर राखेपले ओलम्पिकमाथि विजयको पता फहराउने जुन सपना देखेको छ त्यो सपना मात्रै हुने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले राम्रोसँग बुझेका छन् । तर, यहाँ समस्याको हल त्रिपक्षीय वार्ता र सहमति हो भन्ने जान्दाजान्दै किन ओलम्पिक कमिटीको विवादलाई तन्काउने कार्य भइरहेको छ त्यो बुझिनसक्नु भएको छ ।
सदस्यसचिव युवराज लामाले ओलम्पिकको विवाद समाधान गर्न एनओसीका अध्यक्ष ध्रुवबहादुर प्रधानसँग हात बढाएकै हुन् । खेलकुदमन्त्रीसहित विदेशको सयर गरेकै हुन् । दशौँपटक एउटै टेबुलमा बसेर गोप्य वार्ता गरेकै हुन् । अब हात मिलाउँदा के फरक पर्छ ? वार्ता र सहमति नै ओलम्पिक विवादको निष्कर्ष र निकास भइरहेको अवस्थामा लामाको कदमले पक्कै पनि सकारात्मक सन्देश दिनेछ । लामाको यो कदमको सर्वपक्षीय रूपमा स्वागतयोग्य मात्र नभई उनी खेलकुदमा के गर्न चाहन्छन् भन्ने पनि पुष्टि हुनेछ । यदि लामा आफ्नो रणनीतिमा सफल भए रातारात ‘हिरो’समेत बन्नेछन् । यो पहल खेलकुदमा उनको कार्यकालको सबैभन्दा अविष्मरणीय बन्ने कुरामा सायदै कसैको दुईमत होला । तर, खेलकुदमा राजनीति गर्नेहरूलाई मूलगेटमै राखेर आउनु भन्ने लामा पछिल्लो समयमा आफ्नो अडान र प्रतिबद्धतामाथि किन खरो उत्रिएनन् त्यो बुझ्न सकिएको छैन । उनको ढुलमुलिएको भूमिकाले खेलकुदलाई समेत अन्योलमा पारेको छ, जुन आफैँमा सोचनीय बनेको छ ।
खेलकुदमा नयाँ सदस्यसचिवसँगै हुने चम्चे दौडबाट लामाको सम्बन्ध निकै टाढाको थियो । उनी खेलकुदमा एउटा मिसन लिएर आएको देखिन्थे । जसको उनले केही समय डटेर प्रतिवाद पनि गरे, त्यसको पुरस्कारस्वरूप राम्रै खप्पी पनि खाए । उनको यस्तो साहस देख्दा खेलकुदमा कायापटक हुने आमखेलप्रेमीमा विश्वास थियो । तर, विडम्बना † राजनीतिक नियुक्तिले व्यक्तिको सोचलाई कसरी परिवर्तन गर्दोरहेछ, त्यसको झझल्को लामाका पछिल्ला क्रियाकलापले छर्लङ्ग पारेको छ । लामाको सोच र पार्टीको सोचमा उनी मझधारमा फसेका छन् । बाध्यतावश उनी खेलकुदका हरेक निकायमा एमाओवादीका कार्यकर्ताको उपस्थिति देखाउन लागिपरेका छन् । यस्तो अवस्थामा उनको सङ्लो छविमाथि जताततै प्रश्न उठेको छ । सूत्रका अनुसार ओलम्पिक विवादको समाधान नहुनु र लामाले मुख बङ्ग्याउनुको कारण पनि राजनीतिक दबाब र एनओसीमा एमाओवादीको उपस्थिति भएको थाहा भएको छ । एमाओवादीले ओलम्पिकमा आफ्ना निकटका पाँचजनालाई भित्याउन ठूलो भाग मागेकाले पनि समस्या ज्युँका त्युँ रहेको सूत्रको दाबी छ ।
यी गम्भीर कुरालाई थाँती राख्दैै विगत केही समयदेखि राष्ट्रिय खेलकुद परिषद्को नयाँ परम्परा अर्थात् एनओसीसँग पानी बाराबार गर्ने निर्णय गरेको छ । यो परम्पराले अहिले खेलाडी, प्रशिक्षक, कर्मचारी र खुद खेलकुद पदाधिकारीहरूले समस्या भोग्नुपरेको छ । आफ्नो स्वार्थ पूरा गर्न राखेपले बेमौसमको चाल चल्नु अहिले प्रायः सबैका लागि पीडादायक बनेको छ । आखिर किन त ? यो अहिले सबैका लागि कुतूहल र चर्चाको विषय बनेको छ । जुन परम्पराको थालनीले खेलकुदमा विग्रह र तनाव उत्पन्न हुन्छ । त्यसतर्फ राखेप किन ह्विप जारी गरेर लागेको हो, त्यो अहिले विडम्बनाको विषय बनेको छ । आपसी दूरी र विवादलाई बढवा दिने यस्ता अदूरदर्शी निर्णय गरेर राखेपले खेलकुदलाई किन भड्खालोमा हाल्न खोजेको हो त्यो अहिले चिन्ताको विषय बनेको छ । तसर्थ राखेपले पानीमा बसेर गोहीसँग दुश्मनी गर्नुभन्दा दूरदर्शी भएर खेलकुदको हितबारे सोचे उपयुक्त होला कि ?

शिक्षक कोर्स लेभल– १ को तेस्रो चरण माघमा
विद्यालय खेलकुद विकास कार्यक्रमअन्तर्गत नेपाल खेलकुद प्रतिष्ठानद्वारा सञ्चालित विद्यालय खेलकुद शिक्षक कोर्स लेभल– १ को तेस्रो चरण माघ २५ गतेदेखि हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्
(राखेप) का सदस्यसचिवसमेत रहनुभएका प्राविधिक कार्यकारी बोर्डका अध्यक्ष युवराज लामाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । पहिलो चरणको कोर्स सकिसकेको छ भने दोस्रो चरण माघ दोस्रो सातासम्म सम्पन्न हुनेछ ।
राष्ट्रव्यापी रूपमा विभिन्न खेलमा संलग्न रही स्वयम्सेवी प्रशिक्षकको रूपमा कार्यरत प्रशिक्षकको पहिचान गरी उनीहरूलाई योजनाबद्ध ढङ्गले परिचालन गर्नलाई आधार निर्माण गर्ने, आधार पूरा गरेका प्रशिक्षकहरूलाई स्वयम्सेवी प्रशिक्षकको परिचयपत्र दिने, राखेपबाट प्राथमिकता
(पी १) निर्धारण गरी खेलकुद मोडालिटी अवलम्बनका लागि छनोट गरिएका खेलहरूमा उच्च अध्ययनका लागि सम्बन्धित खेल विधा तथा खेल विज्ञानसम्बन्धी उच्च अध्ययन एवम् छोटो तथा लामो समयका कोर्स गर्न मित्रराष्ट्रहरूका खेलकुद विश्वविद्यालयमा प्रतिभाशाली तथा जेहेनदार खेलाडी र प्रशिक्षकहरूलाई छात्रवृत्ति अध्ययनमा पठाउने आधार निर्धारण गर्न र उक्त कोर्सहरूको आवश्यक प्रारम्भिक कार्य गर्नका लागि राष्ट्रिय टिम तयारीका निर्देशक हरिहर श्रेष्ठलाई आवश्यक तयारीसम्बन्धी कार्य गर्न जिम्मेवारी दिने, सन् २०१४ को एसियाली खेलकुद तथा २०१६ को ओलम्पिक गेम्सलाई दृष्टिगत गरी उक्त गेम्सहरूमा सहभागिताको तयारी प्रशिक्षणमा सहभागी हुने खेलाडीलाई आगामी बजेटबाट खेलाडी भत्ताका लागि दैनिक भत्ता न्यूनतम दुई सय ५० रुपैयाँका दरले कार्यक्रम स्वीकृत भएको मितिदेखि उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।
त्यस्तै बैठकले प्राविधिकको हकमा तीनदिने स्पोर्टस् मेडिसिन, स्पोर्टस् साइकोलोजी र न्युट्रिसन साइकोथिएरापीसम्बन्धी तालिम र प्रशासनिक कर्मचारीको हकमा दुईदिने खेलकुद व्यवस्थापन तालिम सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकमा १२औँ दक्षिण एसियाली खेलकुद (साग) तथा नेपाल ओलम्पिक कमिटीको गतिविधिका सम्बन्धमा आवश्यक छलफल र समीक्षासमेत गरिएको थियो ।

ओलम्पियन जोशीलाई मातृशोक
नेपाल ओलम्पियन सङ्घका अध्यक्ष सुनीललाल जोशीलाई मातृशोक परेको छ । भारोत्तोलनका प्रमुख प्रशिक्षकसमेत रहेका जोशीकी माता गुणकेशरीको ७४ वर्षको उमेरमा हृदयाघातका कारण मृत्यु भएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले जनाएको छ ।
गुणकेशरीको नयाँबजारस्थित आफ्नै निवासमा गत सोमबार बिहान निधन भएको हो । गुणकेशरीका दुई छोरा र तीन छोरी छन् । गुणकेशरीको सोमबारै पशुपति आर्यघाटमा दाहसंस्कर गरियो । एटलान्टा ओलम्पिकमा सहभागी सुनीलले पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौँ र सातौँ दक्षिण एसियाली महासङ्घीय खेलकुद (साफ) मा प्रतिस्पर्धा गरेका थिए । ती सबै साफमा उनले कुल १२ पदक जितेका छन् ।

साम्बो महासचिवको निलम्बन फुकुवा
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल साम्बो फेडेरेसनका महासचिव भाइराजा भण्डारीको निलम्बन फुकुवा गरेको छ । परिषद्को गत असोज १९ गतेको निर्णयानुसार खेलकुद विकास नियम २०४९ को परिच्छेद ३(१०) बमोजिम परिषद्को नीति–निर्देशन पालना नगरेको कसुरमा भण्डारीलाई अर्को व्यवस्था नभइन्जेलसम्म महासचिवबाट निलम्बन गरिएको थियो । साम्बोको यही पुस १६ गतेको पत्रबाट अब राखेपको नीति–निर्देशनमा रही कार्य गर्न/गराउने प्रतिबद्धता जनाएपछि भण्डारीको निलम्बन फुकुवा गरिएको हो ।

बास्केटबल टोली ढाकामा
बंगलादेशको ढाकामा हुने प्रथम दक्षिण एसियाली बास्केटबल च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ । सदिश प्रधान कप्तान रहेको टोलीका अन्य खेलाडीमा विक्रम जोशी, युक्तरामभक्त माथेमा, राजीव जोशी, विनोद श्रेष्ठ, विनोद महर्जन, सञ्जय व्यञ्जनकार ‘ए’ र ‘बी’, सुब्रत राजोपाध्याय, सुशील गुरुङ, प्रवेश श्रेष्ठ तथा सुजन पुन छन् । टोली नेतामा नेपाल बास्केटबल सङ्घका अध्यक्ष लामा टेन्डी शेर्पा तथा प्रशिक्षकमा दिनेश नकर्मी र सहायक प्रशिक्षकमा विकास शाही रहेका छन् । प्रतियोगिता जनवरी १७ देखि सुरु हुनेछ ।

लैनचौर डोजो टिम च्याम्पियन
लैनचौर डोजोले १२औँ बागमती अञ्चलस्तरीय अन्तरडोजो कराते प्रतियोगिताको उपाधि जितेको छ । लैनचौरले तीन स्वर्ण, तीन रजत र चार कास्य जित्यो । आयोजक नेपाल सितोरियो कराते डो सङ्घ, शाखा डोजो नक्साल तीन स्वर्ण, दुई रजत र दुई कास्यसहित दोस्रो भयो । तेस्रो स्थानमा रहेको भक्तपुरले तीन स्वर्ण र एक कास्य हात पारेको थियो ।
पुरुषमा नक्सालका आशीष पाल तथा महिलामा लैनचौरकी शर्मिला श्रेष्ठ उत्कृष्ट खेलाडी चुनिए । केएमसी स्कुल मार्चपासमा उत्कृष्ट ठहरियो भने गोठाटारले अनुशासित टिमको उपाधि चुम्यो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामा, नेपाल कराते डो महासङ्घ एवम् नेपाल सितोरियो कराते डो सङ्घका अध्यक्ष दावा गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए । एक दिने प्रतियोगितामा तीन सय ३० खेलाडीले १७ स्वर्णका लागि प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ ।

सानो गौचरणमा गोरु जुध्ने
नेपाल ओलम्पिक सङ्ग्रहालयको आयोजनामा प्रथम गोरुजुधाइ प्रतियोगिता माघमा हुने भएको छ । सानो गौचरणमा माघ १९ र २० मा हुने सो कार्यक्रम हुने पत्रकार सम्मेलनमा सङ्ग्रहालयका अध्यक्ष क्षितिजअरुण श्रेष्ठले जानकारी गराएका हुन् । प्रतियोगितामा आठ गोरुको सहभागिता रहनेछ । दुई–दुई गोरुबीच प्रतिस्पर्धा गराइनेछ । जसअन्तर्गत चार खेलका प्रत्येक विजेताले २५ हजार तथा उपविजेताले १५ हजार नगद पुरस्कार पाउनेछन् ।

हप्किदो सेमिनार तथा प्रशिक्षण सुरु
अखिल नेपाल तेक्वान्दो सङ्घ (एन्टा) तथा नेपाल फ्युजन मार्सल आर्टस्को आयोजना र चोई क्वान दोको सहयोगमा दुईदिने ‘तेस्रो तेक्वान्दो तथा हम्किदो सेमिनार तथा प्रशिक्षण’ आइतबारदेखि काठमाडौंमा सुरु भएको छ । दक्षिण कोरियाका ग्रान्ड मास्टर लि देव ह्युनले प्रशिक्षण प्रदान गर्नुहुने कार्यक्रममा ४० प्रशिक्षक र ६० खेलाडीको सहभागिता रहनेछ । ग्रान्ड मास्टरको सहयोगीको रूपमा अखिल भारतीय हप्किदोका मास्टर सुरत लामा रहेका छन् ।
नेपाली काङग्रेसका महामन्त्री एवम् संविधान सभाका पूर्वसभासद् प्रकाशमान सिंहले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नुहुँदै पञ्चायतीकालमा पुलिस र सेनामा मात्र सीमित मार्सल आर्टस् खेल ०४६ सालको प्रजातन्त्रपश्चात् सर्वसाधारणका लागि खुला हुनुका साथै विदेशमा नेपालको नाम पहिचान गराउन सफल भएको बताउनुभएको थियो । उहाँले यस्ता प्रशिक्षणले आफ्नो आत्मसुरक्षामा सहयोग पुग्नाका साथै सुलभ रूपमा स्वदेशमै ज्ञान हासिल गर्न पाउनाले खेलाडीलाई फाइदा पुग्ने भन्दै कार्यक्रमको प्रशंसा गर्नुभयो ।
आत्मसुरक्षाका लागि तेक्वान्दोसहित कराते, कुङफु, उसुसहितको खेलको सम्मिश्रण गरी बनेको यो हप्किदो खेल दक्षिण कोरिया र अमेरिकी सेनाहरूमा अनिवार्य गरिएको कार्यक्रममा बताइएको थियो । विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएको एन्टाले हालसम्म तेक्वान्दोको मात्र प्रशिक्षण प्रदान गर्दै आइरहेकोमा विदेशी प्रशिक्षणमा खर्चिलो पर्ने यो खेललाई नेपालीहरूलाई सहज र सुलभ होस् भन्ने उद्देश्यले नेपालमा नै आयोजना गर्न लागिएको अखिल नेपाल तेक्वान्दो सङ्घका महासचिव तथा नेपाल फ्युजन मार्सल आर्टस्का अध्यक्ष एवम् प्रमुख प्रशिक्षक अनुयाज गौतमले जानकारी गराए ।