विश्व खेलकुदमा अफगानिस्तानको ठूलो छलाङ

विश्व खेलकुदमा अफगानिस्तानको ठूलो छलाङ


sportआतङ्कवादलाई नजरअन्दाज
दक्षिण एसियाली मुलुक अफगानिस्तानको नाम उच्चारण गर्दा सर्वप्रथम ‘आतङ्कवाद’को तस्बिर मानसपटलमा झल्किन्छ । त्यहाँ आतङ्कवादले यतिसम्म जरा गाडेको छ कि प्रत्येक दिन त्यहाँका जनताले डर, त्रास र सन्त्रासमा बाँच्नुपर्ने बाध्यता छ । बिहान घरबाट निस्किएको व्यक्ति बेलुकी घर फर्कन्छ वा फर्किंदैन त्यसको कुनै टुङ्गो छैन । यस्तो भयभीतको वातावरणमा बाँच्दै आएका अफगानीहरूले खेलकुदमा गरेको प्रगतिले सारा विश्वलाई नै चकित पारेको छ । दक्षिण एसियाली, एसियाली र ओलम्पिक खेलमा पदक जितेर खेलकुदमा आफ्नो उपस्थितिलाई सशक्त बनाएका छन् । एक दशकअघि खेलकुदका भौतिक संरचना आतङ्ककारीले नष्ट पारेपछि अफगानिस्तान उजाड मरभूमिमा परिणत भएको थियो । त्यहाँ खेल्नका लागि खुला आकाशबाहेक केही थिएन । जमिन गोला, बारुद र ग्रिनेटले भरिएको थियो । यस्तो अवस्थामा अफगानिस्तान विश्वबाट मात्र नभई आफैँबाट पनि टाढिँदै गएको थियो । तर, हिम्मत नहारेको अफगानिस्तानले मुलुकको विषम परिस्थितिमा पनि खेलकुदको माध्यमबाट आफूलाई विश्वको समीप मात्र नराखी त्यहाँ उत्कृष्ट प्रदर्शन गरेर सबैको वाहवाही बटुल्न सफल भएको छ ।
अफगानिस्तान आतङ्कवादको चपेटामा पर्दै गएपछि त्यहाँका सम्पूर्ण गतिविधि ठप्प हुन पुगेका थिए । जसमा खेलकुद पनि एउटा थियो । विश्व खेलकुदमा उदीयमान राष्ट्रको रूपमा आफूलाई चिनाइरहेको अवस्थामा अफगानिस्तानले ठूलो बज्रपातको सामना गर्नुपरेको थियो । भएका खेलकुदका सम्पूर्ण संरचनाहरू ध्वस्त भएपछि अफगानिस्तानमा खेलकुद प्रायः ठप्प भएको थियो । अझ त्यसबेला आतङ््््कवादी समूहले आमजनतालाई कैदी बनाएर रंगशालामा ल्याएर गोली ठोक्न थालेपछि त्यहाँको खेलकुदको बचेखुचेको आशामा पनि भोटेताल्चा लागेको थियो । क्रिकेट, फुटबल, बक्सिङ, घोडचढी, शारीरिक सुगठन, बास्केटबल र मार्सल आर्टस्का खेलहरूमा विशेष उपस्थिति जनाएको अफगानिस्तानले त्यसपछि निकै चुनौतीको सामना गर्नुपरेको थियो । अझ मुस्लिम राज्य भएर पनि खेलकुदमा महिलाको पहुँचका लागि योजनाबद्ध तरिकाले लागेको र केही खेलमा महिलाको सहभागिता दिएको र सफलता पाइसकेको अवस्थामा आतङ्कवादको झटारोले महिला खेलाडीको सपनामाथि कुठाराघात गरेको थियो । यस्तो संवेदनशील अवस्थामा अर्थात् मृत्युको भयमा समेत त्यहाँका महिला खेलाडीले अदम्य साहस देखाउँदै खेलकुदमा आफ्नो निरन्तरतालाई कायम राखेका थिए । जुन अहिले विश्व खेलकुदका लागि अद्वितीय उदारहण बनेको छ ।
खेलकुदका गतिविधि सञ्चालन हुने ठाउँमा रगतको खोलो बग्न थालेपछि त्यहाँको खेलकुद सदाका लागि समाप्त भएको सबैले अड्कल काटेका थिए । कैदीको नाम दिएर रंगशालाभित्रै जोकसैलाई पनि गोली ठोक्न थालेपछि हतासिएका थुप्रै खेलाडी त्यसपछि छिमेकी मुलुक पाकिस्तान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सतर्फ पलायन भएका थिए । यो अफगानिस्तानका लागि निकै दुःखद् घटनासमेत बन्न पुगेको थियो । युवाशक्ति आत्मसुरक्षाका कारण ज्यान जोगाउन विदेशी शरणार्थी बनेपछि अफगानिस्तानको मेरुडण्ड नै भाँचिएको थियो । आतङ्कवादले अफगानिस्तानलाई नराम्रोसँग गाँजेपछि सास फेर्नबाट समेत वञ्चित बनेका अफगानी नागरिकले त्यसबेला आफ्नो ज्यानलाई मात्र पहिलो प्राथमिकतामा राखेका थिए । त्यसबेला उनीहरूले उठाएको यो कदमलाई अफगानिस्तानको सरकारले पनि सकारात्मक रूपमा लिएको थियो ।
अहिले पनि अफगानिस्तानमा आतङ्वाद निर्मूल भएको छैन । आतङ्कवादका काला बादलहरू अहिले पनि अफगानिस्तानका आकाशमा मडारिराखेका छन् । हरेक दिन दर्जनौँ व्यक्तिको हत्या भइरहेको छ । अफगानिस्तान अहिले पनि आतङ्कवादसँग जुधिरहेको छ । र पनि, पहिलेको भन्दा स्थितिमा केही सहज भने पक्कै भएको छ । त्यहाँका जनताले अलिकति भए पनि राहतको साहस लिन पाएका छन् । पलायन भएका युवाशक्ति पूर्णरूपमा स्वदेश फिर्ता नभए पनि उनीहरूले आफ्नो राष्ट्रका लागि विदेशमै बसेर भए पनि योगदान दिइरहेका छन् । यसमा खेलाडीहरू प्रमुख रूपमा रहेका छन् । खेलाडीले छिमेकी मुलुकमा प्रशिक्षण लिएर आफ्नो मुलुकको अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गरिरहेका छन् ।
विगत तीन–चार वर्षको अवधिमा अफगानिस्तानका खेलाडीले खेलकुदमा गरेको प्रगतिले अहिले विश्वलाई नै चकित पारेको छ । स्वदेशमा प्रशिक्षणका लागि एउटै पनि टे«निङ सेन्टर अथवा कभर्डहल नहुँदासमेत अफगानिस्तानका खेलाडीले खेलकुदमा ठूलो छलाङ मार्न सफल भएका छन् । उनीहरू दक्षिण एसियाली मुलुकमा भारतपछि दोस्रो स्थानमा आउन सफल भएका छन् । बेइजिङ ओलम्पिकमा तेक्वान्दोमा स्वर्ण पदक जितेपछि अफगानिस्तानले आफूलाई चुनौतीको रूपमा प्रस्तुत गर्न सफल भएको छ । खेलकुदमा मार्सल आर्टस् होस् या अन्य अफगानिस्तानले गरेको प्रगति साँच्चिकै इष्र्या गर्ने लायक बनेको छ । आतङ्कवादलाई नजरअन्दाज गर्दै माथि उठेको अफगानिस्तानले विश्व खेलकुद जगत्मा अझै तहल्का मच्चाउने खेल विज्ञहरूले ठोकुवा गरेका छन् ।
एउटै पनि कभर्डहल नभएको अफगानिस्तानले अहिले दक्षिण एसियाली खेलकुद प्रतियोगिताम (साग) मा आफ्नो उपस्थिति दरिलो रूपमा प्रस्तुत गरिसकेको छ । आफ्नो प्रभाव क्रमिक रूपमा बढाउँदै गएको अफगानिस्तानले बंगलादेशको राजधानी ढाकामा सम्पन्न भएको एघारौँ सागमा गरेको प्रदर्शनले अन्य दक्षिण एसियाली मुलुकका लागि निकै चुनौतीपूर्ण बनेको छ । उक्त सागमा अफगानिस्तान आफूले सहभागिता जनाएका प्रायः सबै खेलमा पदक जित्न सफल भएको थियो । एघारौँ सागमा आठवटा स्वर्ण पदक जितेको अफगानिस्तानले आफूले सहभागिता जनाएका प्रायः सबै खेलमा प्रभावशाली प्रदर्शन गरेको थियो । नेपाल, श्रीलङ्का, बंगलादेश र पाकिस्तानलाई निकै चुनौती दिएर अब भारतपछिको नम्बर आफ्नो हो भन्ने सङ्केत दिइसकेको छ । अन्य दक्षिण एसियाली प्रदर्शन दिनप्रतिदिन खस्किँदै गएको अवस्थामा अफगानिस्तानको बढ्दो प्रभावले भविष्यमा अन्य मुलुकलाई छायामा नपार्ला भन्न सकिँदैन ।
यसरी आतङ्कवादले गाँजेर पनि अफगानिस्तानले खेलकुदमा गरेको प्रगतिले अहिले अन्य राष्ट्रका लागि प्रेरणाको विषय बनेको छ । इच्छा र चाहना भयो भने जे पनि सम्भव हुन्छ भन्ने उखानलाई अफगानिस्तानले चरितार्थ गरेको छ । तर, विडम्बना, दक्षिण एसियाली खेलकुद प्रतियोगिताको शुभारम्भ गर्ने हाम्रो मुलुक भने खेलकुदमा दिनहुँ अधोगतितर्फ लाग्दै गएको छ । राजनीतिक हस्तक्षेप र सरकारको गैरजिम्मेवारीपनले गर्दा खेलकुदको जहिले पनि मानमर्दन हुँदै आएको छ । खेलकुदलाई जहिले पनि सौताको व्यवहार गर्दै आएको सरकारले जबसम्म खेलकुदलाई प्राथमिकतामा राखेर यसको विकासका लागि दूरदर्शी कदम चाल्दैन तबसम्म नेपाली खेलकुद कुवाको भ्यागुतो जस्तै रहने प्रायः निश्चित छ । मुलुकको मान, सम्मान र प्रतिष्ठालाई अन्तराष्ट्रमा पु¥याउन अहम् भूमिका निर्वाह गर्ने खेलकुदलाई समयमै योजनाबद्ध तरिकाले अगाडि बढाए भोलि नेपालको स्थिति भुटानभन्दा पनि कमजोर नहोला भन्न सकिँदैन । तसर्थ मुलुकको विषम परिस्थितिमा पनि खेलकुदको माध्यमबाट विश्वमानचित्रमा आफ्नो सशक्तता प्रदर्शन गरिरहेको अफगानिस्तानको सिको गर्नु नेपालका लागि अनिवार्य भइसकेको छ । अन्यथा भविष्यमा अरूको सशक्तताको अगाडि नेपालीको उपस्थिति सूर्यको अगाडि दियो सावित नहोला भन्न सकिँदैन ।

राष्ट्रव्यापी बुदोकैदो अर्को साता
नेपाल बुदोकैदो फुलकन्ट्याक्ट सङ्घ, चापागाउँ शाखाको आयोजनामा छैटौँ राष्ट्रव्यापी बुदोकैदो फुलकन्ट्याक्ट कराते प्रतियोगिता अर्को साता हुने भएको छ ।
प्रतियोगिता माघ ११ र १२ मा हुने आयोजकका प्रमुख जय देसारले जानकारी गराएका छन । पुरुषतर्फ ३० केजीमुनि, ४० केजीमुनि, ५० केजीमुनि र खुला तौल समूहमा प्रतिस्पर्धा हुनेछ । महिलामा खुला तौल समूहमा मात्र खेल हुनेछ । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब सात लाख ३१ हजार पाँच सय खर्च हुनेछ । खेल चापागाउँस्थित बज्रबाराहीमा हुनेछ । पत्रकार सम्मेलनमा बुदोकैदोका केन्द्रीय अध्यक्ष काजीमान श्रेष्ठ र उपाध्यक्ष केदारमान स्थापित, आयोजकका संरक्षक प्रेम देसारलगायतको उपस्थिति रहेको थियो ।

आहा–रारा गोल्डकपमा १२ टोली भिड्ने
आहा–रारा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको एघारौँ संस्करण हुने भएको छ । पोखरा रंगशालामा माघ १० गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा स्वदेशी र विदेशी गरी १२ टिमको सहभागिता रहने आयोजक कमिटीले बताएको छ । १२ दिनसम्म सञ्चालन हुने यो प्रतियोगितामा आयोजक सहारा क्लब, ए डिभिजनका क्लब, दुई विदेशी र पूर्वाञ्चलको धरान फुटबल क्लबको सहभागिता रहनेछ । प्रतियोगितामा विजयी टोलीले तीन लाख ५१ हजार र उपविजेताले २ लाख एक हजार पाउने सहारा क्लबका अध्यक्ष विक्रम थकालीले जानकारी गराएका छन् । थकालीले यसपटक सहारा क्लबलाई फाइनलसम्म पु¥याउने बताउँदै प्रतियोगितामा उत्कृष्टता हासिल गर्ने सबै खेलाडीलाई जनही १० हजार प्रदान गरिने जानकारी गराएका थिए ।

आयोजक टेरेसालाई दोहोरो उपाधि
आयोजक टेरेसा एकेडेमीले चौथो टेरेसा कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा दोहोरो उपाधि जितेको छ । प्रतियोगितामा समावेश चार स्पर्धामध्ये टेरेसाले सिनियर गल्र्स र ब्वाइजको थ्री अन थ्रीको उपाधि जितेको हो । जुनियर ब्वाइजमा गौरीशङ्कर पहिलो भयो भने स्टाफको थ्री अन थ्रीको उपाधिमाथि ज्ञाननिकेतनले कब्जा जमाएको थियो । विजेतालाई नेपाली काङ्ग्रेसका युवा नेता मनीष कोइरालालगायतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिताको सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान ७–७, सिनियर ब्वाइजमा १० तथा स्टाफमा नौ टिमले प्रतिस्पर्धा गरेका थिए ।

सफ्ट टेनिस प्रशिक्षण सम्पन्न
नयाँ युवा खेलाडीलाई लक्षित गरी नेपाल सफ्ट टेनिस सङ्घले सञ्चालन गरेको प्रशिक्षण सम्पन्न भएको छ । पुस १८ गतेदेखि सुरु प्रशिक्षणमा ३६ जना सहभागी थिए । जसमा २२ पुरुष र १४ महिला थिए । सहभागीलाई नीरा कायस्थ, सोहन धौभडेल तथा मनोज सुब्बाले प्रशिक्षण दिएका थिए । अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासङ्घका उपाध्यक्ष, एसियाली सफ्ट टेनिस महासङ्घका काउन्सिल सदस्य तथा नेपाल सफ्ट टेनिस सङ्घका अध्यक्ष विनयविक्रम शाहले सहभागीलाई प्रमाणपत्र प्रदान गरेका थिए । सो अवसरमा गल्फुटार बहुउद्देश्यीय खेल मैदानलाई सङ्घले चार ¥याकेट र एक दर्जन बल प्रदान गरेको थियो ।

पशुपति अब ब्याडमिन्टन प्रशिक्षक बन्ने
पूर्व राष्ट्रिय ब्याडमिन्टन च्याम्पियन पशुपति पनेरूले हालै खेलाडी जीवनबाट सन्न्यासको घोषणा गरेका छन् । पनेरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलजीवनबाट औपचारिक रूपमा सन्न्याय लिएको जानकारी पत्रकार सम्मेलनमार्फत गराएका थिए । सन्न्यास घोषणा कार्यक्रममा पनेरूले खेलाडीजीवनबाट सन्न्याय लिए पनि ब्याडमिन्टनमै संलग्न रहने बताए । उनले अब अमेरिकामै रहेको बोस्टन र मुगास ब्याडमिन्टन क्लबमा प्रशिक्षकका रूपमा कार्यरत रहने जानकारी गराएका थिए ।
पनेरूले नेपाली ब्याडमिन्टनको स्तर अझ माथि उठाउन सम्बन्धित निकायले पहल गर्नुपर्नेमा जोड दिँदै वर्षमा कम्तीमा चार मुख्य प्रतियोगिता हुनुपर्ने आवश्यकता औँल्याएका थिए । पनेरूले ब्याडमिन्टनमा लागेकोमा सन्तुष्टि जनाउँदै भने, ‘ब्याडमिन्टनले मलाई धेरै दिएको छ । छुट्टीमा नेपाल आएको बेला पनि मैले सिकेको कुरा यहाँ आएर बाँड्नेछु ।’ पनेरू सन् २००८ देखि अमेरिका बस्दै आएका छन् । सन् २०१० मा नेपाल आएको बेला उनले पाँचौँ कृष्णमोहन स्मृति राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगिता खेलेका थिए । त्यसमा उनले पुरुष एकलको उपाधिसमेत जितेका थिए । त्यो नै उनको अन्तिम प्रतियोगिता थियो ।
त्यसअघि उनले कृष्ण स्मृति ब्याडमिन्टनको चारै संस्करणको एकल स्पर्धासमेत खेलेका थिए । दोस्रोमा उपविजेता हुनुबाहेक सबैमा विजेता बनेका थिए ।
उनले २८ देखि ३०औँ र ३२औँ गरी चार राष्ट्रिय ब्याडमिन्टनमा प्रतिस्पर्धा गरेका थिए । २८औँमा डबल्स खेलेका पशुपतिले अन्यमा भने एकल स्पर्धा खेलेका थिए । २९औँमा बाहेक पशुपति सबैमा दोस्रो स्थानमा सीमित भएका थिए । २९औँमा पनेरूले राष्ट्रिय च्याम्पियन बन्न सफल भए । राष्ट्रियस्तरको विभिन्न आठ प्रतियोगिताको एकल स्पर्धामा भने पनेरूले सबैमा बाजी मारेका थिए ।
पाकिस्तानको ९औँ तथा श्रीलङ्का १०औँ दक्षिण एसियाली खेलकुदमा पनेरूले टिम स्पर्धामा नेपाललाई कास्य दिलाएका थिए । नेपालमै भएको नेपाल इन्टरनेसनल सिरिजमा उनले पुरुष डबल्समा पनि कास्य हात पारेका थिए । यसबाहेक उनले विभिन्न स्थानमा भएका साढे एक दर्जन अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए । अमेरिका रहँदा पनेरूले दुई फरक न्युयोर्क ओपनको एकलमा पहिलो र दोस्रो, सीटी ओपनको एकलमा पहिलो तथा मिड एटलान्टिक ओपनको मिक्स स्पर्धामा पहिलो स्थान हात पारेका थिए ।