आगामी सोमबार बुद्ध पूर्णिमा । एकतिर संसारभर शान्तिको प्रकाश छर्ने भगवान बुद्धको सम्झना र सम्मानमा मनाइने बुद्धपूर्णिमालाई शान्ति–समृद्धिको उत्सवका रूपमा मनाउने तयारी गरिँदैछ, अर्कोतिर बुद्धपूर्णिमासँगै मुलुक अशान्ति, द्वन्द्व, मुठभेडतर्फ धकेलिने सम्भावना बढेको अनुभूति हुँदैछ ।
वर्तमान संविधान, शासक र शासनव्यवस्थाले देशप्रति न्याय गर्न नसक्ने भन्दै विद्रोही–आन्दोलन सञ्चालन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी सरकारविरुद्ध कठोर रूपले उत्रिने तयारी गरिरहेको छ । सो पार्टीले आज एक विज्ञप्ति प्रकाशित गरी यसको सङ्केत दिएको छ ।
नेकपाका महासचिव विप्लवद्वारा जारी विज्ञप्तिका अनुसार यही वैशाख २२ गते सो पार्टीले नेपाल बन्द गर्ने भएको छ । बन्दको तयारीका लागि वैशाख १९ गते देशैभरी प्रदर्शन, वैशाख २० गते कोण सभाहरू, वैशाख २१ गते साँझ मसाल जुलुस र वैशाख २२ गते नेपाल बन्द गरिने छ ।
विप्लव नेतृत्वको नेकपाले वर्तमान सरकारलाई ‘केपी–पीके गठबन्धन सरकार’को संज्ञा दिँदै यो सरकार दिनदिनै फासिस्ट बन्दै गइरहेको दाबी गरेको छ ।
महासचिव विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘… आफूलाई कम्युनिस्ट भनेर जनतामा भ्रम छरिरहेको यो सरकारले जनताको संघर्षबाट प्राप्त सीमित अधिकारहरू पनि खोस्दै गइराखेको छ । विचार राख्ने, सभाजुलुस गर्ने अधिकारमाथि पनि प्रतिबन्ध लगाउँदै गएको छ भने भ्रष्टाचारी, कालोबजारी, राष्ट्रघातीहरूको संरक्षण गरिरहेको छ । भ्रष्टाचार, कालोबजारी, राष्ट्रघातको विरोध गर्ने जनता हाम्रो पार्टीका नेता र कार्यकर्ताहरूलाई घरमा बसिरहेको, सांगठनिक काममा लागेको बेला, भेला सम्मेलन गर्दा गिरफ्तार गरेर बेपत्तासम्म पार्ने काम यो सरकारले गरिराखेको छ । सरकारका यस्ता रवैयाको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ– ‘केपी सरकार बनेदेखि हाम्रो पार्टी, जनवर्गीय संगठनमाथि व्यापक दमन गरिरहेको छ । भ्रष्टाचारीलाई कारबाही गर्नुको साटो उल्टै उनीहरूलाई संरक्षण गरिरहेको छ । देशमा राष्ट्रघात भैराखेको छ । गत बुधबार मात्र पनि कञ्चनपुरको बिचफाँटामा भारतीय एसएसबीले नेपाली जमिन अतिक्रमण गरिरहेको छ । त्यसप्रति सरकार एक शब्द बोल्दैन ।’
‘केपी सरकार बनेदेखि संकटकाललाई बिर्साउँदै १२ जनाभन्दा बढि हाम्रा कार्यकर्तालाई बेपत्ता पारेको छ । हाम्रो पार्टीका केन्द्रीय सदस्य किरण राई, युवा संगठनका अध्यक्ष बाबुराम राई, महिला संगठनका महासचिव धिरेन्द्र उपाध्याय, जिल्लाका प्रमुखहरू, यहाँसम्म कि पढाइरहेका शिक्षकहरूलाई समेत गिरफ्तार गरेर मुद्दा लगाएको छ । राज्यको यी हर्कतहरूका विरुद्ध प्रतिरोध अनिवार्य हुन गएको छ । त्यसैले यही वैशाख २२ गते नेपाल बन्दको आयोजना गरिएको छ ।’
विप्लवले भनेका छन्– ‘विगतमा जस्तै यसपटकको बन्दमा पनि नेपाल कम्युनिष्ट पार्टी सबै न्यायप्रेमी, देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिहरूमा सहयोग, समर्थन, ऐक्यबद्धताको अपेक्षा राख्दछ ।’

प्रतिक्रिया