चुनावी समीक्षा र सीघ्र महाधिवेशनको मूल एजेण्डा लिएर शुरु भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बैठक उल्लिखित एजेण्डालाई निचोडमा पुऱ्याउने भन्दा पनि नेताहहरुको व्यक्तिगत गुनासो र गन्थन सुन्ने-सुनाउने चौतारी बन्न पुगेको कांग्रेस नेताकार्यकर्ताहरुले अनुभूति गर्न थालेका छन् । गत चैत ९ गतेदेखि जारी बैठक महिना दिन नाघिसक्दा कुहिरोको काग बन्न पुगेको छ । एकतिर सभापति शेरबहादुर देउवा भरसक कुनै ठोस निचोडविना नै बैठक अन्त्य गर्ने ताकमा रहेका सम्बद्ध कांग्रेसजनहरु बताउँछन् भने शुरुमा बैठक बोलाउन दबाब दिने कथित युवा नेताहरु पनि आफैंमा छिन्नभिन्न भएका भएका छन् । आफैले उठाएका एजेण्डामा उनीहरु अडिग रहन नसकेको लक्षण प्रष्ट देखिएको छ । अडानमा रहेका केही सिनियर नेता पनि विभिन्न कारणले सिथिल देखिन थालेका छन् ।
यसै क्रममा आजको बैठक पनि खास एजेण्डामा छलफल नै नगरी अन्त्य भएको छ । विहान नौ बजे डाकिएको बैठकमा विजय गच्छदार र रामचन्द्र पौडेलले आफ्ना भनाई राखेका थिए । पार्टीमा वरिष्ठ हैसियत रहेका दुवै नेताले आआफ्ना गुनासा र गन्थन सुनाएरै दुई तीन घण्टा गुजारिदिएका भन्दै एक नेताले अफसोच प्रकट गरे । हिजोको बैठकमा पनि गोपालमान श्रेष्ठले घण्टौं व्यक्तिगत बखान एवम् दुखेसो-गुनासो गरेर गुजारिदिएका कारण दिक्क भएका कांग्रेस नेताहरु आजको बैठकमा त्यसैगरी गच्छदारले आफ्नै कुरा गरेर खेर फालिदिएबाट वाक्क बन्न पुगेका बुझिएको छ ।
यसरी, मूल एजेण्डाबाट बरालिएर कांग्रेस बैठक अब गन्थन-चौतारी त बन्न पुगेकै छ, तोकिएको एजेण्डामा ठोस निचोडविना नै बैठक समाप्त भएको घोषणा गरेर सभापति देउवाले आफूलाई थप शक्तिसाली तुल्याउने सम्भावना पनि उत्तिकै बढेको छ ।
कांग्रेस बैठक भोली शनिबार ९ बजे पुन: बस्ने जानकारी दिइएको छ ।

प्रतिक्रिया