लोहनी र भट्टराईले पार्टी एक गराउने

लोहनी र भट्टराईले पार्टी एक गराउने


नेपाली कांग्रेस (विपी) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)बीच एकता हुने भएको छ । एराप्रपा (राष्ट्रवादी)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र कांग्रेस (विपी)का अध्यक्ष हरिबोल भट्टराईले पृथ्वीपथ र समाजवादका माध्यमबाट मुलुकको अखण्डता र जनताको समृद्धि कायम गर्न दुवै दलको एकता गर्न सहमति जनाएका हुन् ।

एराप्रपा (राष्ट्रवादी)ले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्योपदेशलाई आफ्नो आदर्श मानेको छ भने नेका (बीपी)ले प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको समाजवादलाई पछ्याउने नीति अवलम्बन गरेको छ । भ्रष्टाचारमुक्त समाज, सन्तुलित वैदेशिक नीति, स्वदेशी वस्तुको उपभोग गर्ने नीतिलगायत विषय पृथ्वीपथ (पृथ्वीनारायण शाहको दिव्योपदेश)मा छ भने समाजवादमा प्रत्येक कृषकलाई उत्पादनमा सहयोग गर्ने, प्रत्येक नेपालीले गाई पाल्न सक्ने व्यवस्था र उनीहरूले दुई छाक खानपुग्ने चिन्तन छ ।

दुवै पार्टीका अध्यक्ष एकताका लागि सकारात्मक भएपछि आवश्यक विधान एक साताभित्र तयार गर्न राष्ट्रवादीबाट प्रशिक्षण विभाग प्रमुख झनक प्याकुरेल र कांग्रेस (विपी)बाट सहमहामन्त्री पुष्प पराजुलीलाई जिम्मेवारी दिइएको सम्बद्ध पक्षले जनाएको छ ।