शुक्रबार स्थगित नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पुनः बस्दै छ । आजको बैठकमा महामन्त्री शशांक कोइरालाले पार्टीको आगामी प्रतिवेशन प्रस्ताव पेश गर्ने जनाइएको छ ।
सरकारलाई हेर्ने दृष्टिकोणदेखि महासमिति बैठकको मिति तयसम्मका विषयलाई महामन्त्रीले प्रस्तुत गर्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन् । उनका अनुसार, मित्रराष्ट्रका कुरा, सरकारलाई कांग्रेसले हेर्ने दृष्टिकोण र अरु दलसँग कसरी प्रस्तुत हुने भन्ने एजेन्डामाथि महामन्त्रीले धारणा राख्नेछन् ।
शशांकको प्रस्तावपछि सभापति शेरबहादुर देउवाले बैठकको समीक्षा अवधिभर उठेका सवालको जवाफ दिने कार्यक्रम तय भएको नेताहरुले बताएका छन् । पार्टीको शीर्ष नेतृत्वमा रहेका देउवाविरूद्ध अनेक प्रश्न बैठकमा उठेका छन् ।
महामन्त्री कोइरालाको प्रस्ताव प्रतिवेदनलाई अन्तिम रुप दिन ढिलाइ भएकै कारणले हिजोको बैठक स्थगित भएको थियो । सभापति देउवाकै कारण निर्वाचनमा कांग्रेसले हार व्यहोरेको अधिकांश केन्द्रीय सदस्यको आरोप छ । देउवाकै नेतृत्वमा तीनै तहको निर्वाचन हुँदा पनि कांग्रेसको लज्जास्पद हार भएकोले यसको जिम्मा सभापतिले नै लिनुपर्ने उनीहरूको आरोप छ ।
साथै युवा नेताहरूले चाँडै महासमितिको बैठक डाक्न र विशेष महाधिवेशन बोलाउन समेत माग गरिएको छ ।
प्रतिक्रिया