– चन्द्रकान्त खनाल
प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले संघीय सरकारले अबको ६ महिनासम्म कर्मचारी नपाठाए केन्द्रिय कर्मचारी नस्वीकार्ने चेतावनी दिएका छन् । संक्रमणकाल सधैँ नरहने उल्लेख गर्दै उनले नयाँ कर्मचारी भर्ना गरेर जनतालाई सेवा दिने बताए ।
स्थानीय तहमा स्वास्थ्यसम्बन्धी दुईदिने अभिमुखिकरण तथा छलफल कार्यक्रमको समापन समारोहमा बोल्दै मुख्यमन्त्री पोखरेलले सेवा विकेन्द्रीकरण भएको अबस्थामा पनि कर्मचारी केन्द्रमा मात्र रहने र प्रदेशमा जाँदैन भन्नु गलत भएको तर्क गरे ।
संघीय सरकारले कर्मचारी केन्द्रमा थुपार्ने भनेको कर्मचारीलाई मानसिक रोगी बनाउनु हो भन्ने मुख्यमन्त्री पोखरेलको तर्क छ । केन्द्रमा काम केहि छैन, काम नभएपछि कर्मचारी मानसिक रोगी हुने उनको भनाई थियो । मुख्यमन्त्री पोखरेलले पहिलेको तुलनामा स्वास्थ्य क्षेत्र केही परिवर्तन भए पनि समयअनुसार बदलिन नसकेको बताए ।
प्रदेशमा रहेका क्षेत्रिय, अञ्चल र जिल्ला अस्पतालले सेवा विशिष्टीकरण गर्दै खर्च मात्र गर्ने होइन आम्दानी गरेर आफैमा निर्भर हुने तरिकारले काम गर्नुपर्नै उनको सुझाव छ । मुख्यमन्त्री पोखरेलले लुम्बिनी अञ्चल अस्पताललाई राम्रो बनाउन सके यस क्षेत्रका जनता वीर एवम् अन्य महँगा अस्पताल धाउनु नपर्ने बरु अन्यत्रका बिरामी उपचार सेवा लिन यस क्षेत्रमा आउने वातावरण श्रृजना गर्नेतिर लाग्नुपर्ने बताए ।
जेठ महिनापछि सङ्क्रमणकाल अन्त्य भई प्रदेश नयाँ ढंगले अघि बढ्ने उनको दाबी छ ।

सोही अवसरमा प्रदेश नं ५ का सामाजिक मन्त्री सुदर्शन बरालले स्थानीय तहका जनप्रतिनिधिहरुले सेवाभन्दा पनि पुर्वाधारलाई बढी प्राथामिकता दिएको कारण सेवामा समस्या देखिएको औंल्याए । उनले प्रदेश नं ५ का १२ जिल्लामा रहेको स्वास्थ्य संस्थामा पुर्वाधार जनशक्ति र औषधी अभाव हुन नदिने तरिकाले काम गरेको जानकारी दिए ।
प्रदेश नं ५ मा थारु समुदाको बाहुल्यता रहेको र उनीहरुमा वंशाणुरोग जस्तै भएर रहेको सिकलसेल, एनिमियाको निवारणका लागि यस वर्ष विशेष नीति तर्जुमा गरी काम गरिने प्रतिबद्धता जनाए । स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक चुडामणि भन्डारीले प्रदेश नं ५ का पाँच जिल्लामा कुष्टरोग ठुलो समस्या भएको बताए ।
कार्यक्रममा संघीय सांसद सुनिता शाक्य, प्रदेश स्वास्थ्य महाशाखा प्रमुख डा. उमासंकर चौधरी, लुम्बिनी अञ्चल अस्पताल बुटबलका प्रमुख मेडिकल सुपरिन्टेन्डेण्ट डा. कृष्ण खनाल, जिल्ला जनस्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख जनस्वास्थ्य प्रशासक केयर सिह गोदार, जिल्ला जनस्वास्थ कार्यालय बाँकेका जनस्वास्थ्य प्रमुख खिमबहादुर खड्का जनस्वास्थ्य निरीक्षक गणेश भट्टराई लगायतले मन्तव्य दिएका थिए ।
प्रतिक्रिया