प्रधानमन्त्रीले दोहोऱ्याए- ‘भोकै र चिसोले कठ्याङ्ग्रिएर अब नेपाली मर्नुपर्दैन’

प्रधानमन्त्रीले दोहोऱ्याए- ‘भोकै र चिसोले कठ्याङ्ग्रिएर अब नेपाली मर्नुपर्दैन’


चन्द्रकान्त खनाल

रुपन्देही । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ को प्रदेश प्रदेशसभालाई सम्बोधन गरेका छन् । पहिलोपटक प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार, अनियमितता र सिन्डीकेट जस्ता अनुचित कुरामा कसैसँग सम्झौता नगर्ने बताए ।

लोकतन्त्रको स्थापनाका लागि गरिएका आन्दोलनले केही समय देश पछाडि परेको भन्दै उनले अब नागरिकलाई आर्थिक रूपले सम्पन्न तथा देश समृद्ध बनाउन अब कुनै पनि कुरामा अल्झिन नहुने बताए ।

तीनवटै सरकारको ध्यान अब आर्थिक विकास र समृद्धिमा लाग्नुपर्ने प्रम ओलीको भनाई थियो । उनले गौतमबुद्धको जन्मस्थल लुम्बिनी भएका कारण यो प्रदेशमा निकै ठूला अवसर रहेको भन्दै अवसरको उपयोग गर्न आग्रह गरे ।

धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन कृषि, उद्योग, व्यापार लगायतका धेरै सम्भावना प्रदेश ५ मा रहेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले यसको योजनाबद्ध विकासमा लाग्न समेत निर्देशन दिए ।

तत्काल आफ्नो श्रोत र साधनले मात्रै सबैखाले विकास गर्न र आर्थिक समृद्धि गर्न सम्भव नभए छिमेकीको सहयोग र सीपको पनि उपयोग गर्न सकिने उल्लेख गर्दै दुवै समान हैसियत भएको बताए । प्रधानमन्त्रीले संविधानले दिएको तीन तहको सरकार गठन गरेपछिको पहिलोपटक संघीय सरकारको प्रधानमन्त्रीको हैसियतमा सम्बोधन गर्न पाउँदा निकै खुसी लागेको अभिव्यक्ति दिए ।

यो खुशी जनतालाई पनि दिलाउने तरिकाले काम अघिबढेको उनको भनाई छ । संघीय संरचनाअनुसारको प्रदेशसभामा पहिलोपटक सम्बोधन गर्न पाएकोमा आफूलाई गर्व लागेको समेत प्रधानमन्त्रीले बताए । अब कुनै पनि नेपाली खान नपाएर भोकै र चिसोले कठ्याङ्ग्रिएर मर्न नपर्ने दोहोऱ्याए ।

आफ्नो लामो सम्बोधनमा उनले प्रतिपक्षतिर इङ्गित गर्दै भने– ‘केही मानिसले सरकार बलियो भयो, तानासाह भयो भनेर आरोपित गर्ने गरेका छन्, त्यो गलत हो ।’

प्रधानमन्त्री ओलीबाट आजै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा २५६२औं बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा हुने विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले १ घन्टा ४ मिनेट प्रदेशसभालाई सम्बोधन गरेका थिए ।