निर्वाचनको समीक्षा गर्न भन्दै गत चैत ९ मा शुरु गरिएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक भन्डै एक महिनापछि आइतबार सकिएको छ । बैठकले जिल्ला सभापति भेला एवं गाउँ र नगरपालिका तहसम्मको पार्टीको सांगठनिक संरचना तथा भातृ र शुभेच्छुक संस्थाहरुमार्फत राय सुझाव संकलन गरी पार्टीको विधानलाई आवश्यक परिमार्जन एवं संशोधनलगायत कार्यको तयारी गरी महासमितिको बैठक आयोजना गर्ने निर्णय लिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।
जिल्ला सभापति भेला आगामी जेठ अन्तिम सातामा आयोजना गर्ने निर्णय बैठकले गरेको छ भने निर्वाचनमा लज्जास्पद हारका लागि सभापति शेरबहादुर देउवाको कार्यशैली नै मूल जिम्मेवार रहेको भन्दै आएकोमा कांग्रेस केन्द्रिय समिति बैठकले संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन सम्पन्न गर्न सफल गराएको भन्दै सभापति देउवा र उनको नेतृत्वको ततकालीन सरकारलाई धन्यवाद दिएको छ । साथै, अन्ततः नेपाल (एमाले) नेकपा (माओवादी केन्द्र) बीचको चुनावी तालमेलले गर्दा पार्टीले हार बेहोर्नुपरेको कांग्रेस बैठकले निष्कर्ष निकालेको छ ।
निर्वाचनका बेला पार्टीले उम्मेदवारी चयन प्रक्रियालाई प्रयाप्त गृहकार्य गरी समयमा टुंगो लगाउन नसक्नु, स्थानीय, प्रदेश र केन्द्रीय तहमा पार्टीले दिएको उम्मेदवारको पक्षमा कतिपय स्थानमा निष्क्रियता, असहयोग र अन्तर्घातजस्ता अनुशासनहीन क्रियाकलापले पनि पार्टी पराजयको कारणका रुपमा बैठकले औँल्याएको छ । यस्तै पार्टीको संरचनालाई पूर्णता दिई पार्टीको संगठनात्मक गतिविधिलाई तीव्रता दिन आवश्यक आन्तरिक व्यवस्थापनमा कमजोरी देखिनु, निर्वाचनमा जनमत सिर्जना गर्न सामाजिक सञ्जाल र सञ्चार माध्यमको प्रभावकारी ढंगबाट प्रयोग गर्न नसक्नुलाई पनि पराजयको कारण मानिएको छ ।
स्वतन्त्र न्यायपालिका तथा अन्य संवैधानिक अंगहरुको अधिकारमाथि अतिक्रमण गर्ने वर्तमान सरकारको कार्यशैलीप्रति बैठकले आपत्ति जनाएको बताइएको छ ।
तस्बिर रासस
प्रतिक्रिया