आउनु शीर्षस्थ नेताज्यूहरू समाजसेवामा

आउनु शीर्षस्थ नेताज्यूहरू समाजसेवामा


-वसन्तराज कुँवर
नेताहरूको काम जनताको जीवनस्तर माथि उठाउने हो । सिङ्गापुरमा लि क्वान जन्मिएकोले वा तिनी नेता भएकाले त्यो फुच्चे एसियाको देश युरोप र अमेरिकासँग दाँजिने हुन पुग्यो । नजिकै भारतका प्रधानमन्त्री मनमोहन सिंहले पनि त्यत्रो विशाल भारतलाई संसारकै विकसित र शक्तिशाली मुलुकमा पुर्‍याउँदै छन् । अझै नेपालसँग जोडिएको भारतको प्रान्त बिहारको कुरो गर्ने हो भने पनि नितिशकुमार भन्ने एक नेताले त्यो पिछडिएको राज्यको नक्सा बदल्दै छन् । चीनको नेतृत्वले अहिले अकल्पनीय रूपमा विकास गरी संसारलाई छक्कै पार्दै छ । दोस्रो विश्वयुद्धमा ध्वस्त भएको जापानलाई त्यहाँको नेतृत्वले कहाँ पुर्‍याएर देखाइदिए । फिनल्यान्ड, नर्वे, स्वीडेनजस्ता हिउँमा पुरिएर रहने मुलुकहरूलाई संसारका सबैभन्दा बढी प्रतिव्यक्ति आय भएको मुलुकमा त्यहाँका नेताले पुर्‍याए । स्वीजरल्यान्डजस्ता भूपरिवेष्ठित र पहाडी मुलुक पनि आज संसारकै धनी मुलुकमा गनिन्छ । मलेसियाकै कुरा गर्दा डाक्टर महाथिरले त्यो मुलुकको काँचुली फेरिदिए । मिडलइष्टका मुलुकहरूमा जे-जस्ता राजनीतिक अस्थिरता अहिले देखिए पनि सम्पन्न मुलुक हुने प्रक्रियामा उनीहरू अगाडि नै बढेका छन् । संसारमा जताततै विकास छ, समृद्धि बढ्दै छ, उद्योगधन्धा खुल्दै छ, रोजगारका नयाँ-नयाँ बाटाहरू खुल्दै छन् त्यो हुलमा एउटा सगरमाथा, लुम्बिनी, पशुपतिनाथ, अपार जलभण्डार, सुन्दर प्रकृति, दुर्लभ वन्यजन्तु, सम्पन्न संस्कृति र गौरवपूर्ण वीरगाथा भएको नेपाल राज्य भने ढुङ्गेयुगतर्फ र्फकंदै छ । यो मुलुक यस दु:खद् स्थितिमा पुग्नुमा सम्पूर्ण दोष यहाँका नेताहरूले नै लिनुपर्छ । यो मुलुकमा भएका नेताहरू राज्यलाई काँचुली फेर्न सक्ने हैसियतकै भएनन् । नेता कहलिए तर क्षमता भएन । नेता हुन पाए तर ज्ञान भएन । नेता हुन सके तर तिनको नियन्त्रण नै भएन । नेताको जिम्मेवारी पाए तर उत्पादन देखाउन सकेनन् । मलाई लाग्छ यिनले एउटै कुरा गर्न सके, त्यो के भने कुरा गर्न सके, बिगार्न सके, भत्काउन सके, ढाल्न सके, मार्न सके, तर्साउन सके, खोस्न सके, तर रचना गर्न सकेनन् । निर्माण गर्न सकेनन् । त्यसैले एक शब्दमा भन्नुपर्दा यी अहिलेका शीर्षस्थ भनिने नेताहरू नेपाल र नेपालीहरूका लागि असफल अनुहारहरूको भीड मात्र हो जसलाई बाध्यतावश नेपालीले स्वीकार गर्न विवश छन्, पाल्न विवश छन्, नमस्ते गर्न विवश छन् जसरी डन भनिने अपराधीहरूलाई समाजमा काम गरेर खाने ठेकेदारहरूले पूजा गरेर खुसी राख्न बाध्य भएका छन् ।
अहिले नेता भनिने प्रचण्ड, झलनाथ, सुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, माधव नेपाल, केपी ओलीलगायत विजयकुमार गच्छेदार र उपेन्द्र यादव भन्नेसमेतले एकपल्ट आफैंसँग प्रश्न गरून् कि ती नेता भएर नेपालीले कुन क्षेत्रमा सुख पाए ? नेपालीको प्रतिव्यक्ति आय कति बढ्यो ? नेपालमा पुल, नहर, विमानस्थल, बाटाघाटा कति बढे? तिनका प्रयासले कति उद्योग खुले र व्यापारघाटा कति घट्यो ? तिनका प्रयासले कति जङ्गल वा जङ्गली जनावरको सुरक्षा भयो ? कति यातायात व्यवस्थापनमा सुधार आयो ? तिनका कारणले नेपालीको आर्थिक हैसियत र खुसीको स्तर कति बढ्यो ? तिनका प्रयासले कर्मचारीतन्त्रमा कस्तो सुधार आयो ? नक्कली औषधिदेखि मिलावटका खाद्यान्न बिक्रीमा कति नियन्त्रण आयो ? कृषिको उत्पादन कति बढ्यो ? कति कृषिजन्य उत्पादन विदेशमा पुग्यो ? इजरायलजस्तो मरुभूमिको देशले पनि प्लाष्टिकले ढाकेर र्सूयको ताप बचाई तरकारी उमारेर यूरोप पर्ठाई राम्रै आम्दानी गर्दै छ । यिनले कृषिप्रधान देश भनिने हाम्रो देशबाट कति कृषि उत्पादन बाहिर पठाए ?
मलाई विश्वास छ- आजका आफूलाई शीर्षस्थ भन्ने नेताहरूले मुखले जति ट्याउँट्याउँ गरे पनि जति डिङ मारे पनि अन्तरमनबाट उनीहरूलाई पनि थाहा छ कि तिनले नेता भएर वास्तवमै गर्नुपर्ने काम गर्न पटक्कै गर्न सकेका छैनन् । ती केवल प्रजातन्त्र, लोकतन्त्र, सङ्घीय राज्य भन्दै मानिसलाई वेबकुफ बनाइरहेका छन् । सङ्घीयता सिङ्गापुरलगायत धेरै मुलुकलाई विकास गर्न चाहिएन । लोकतन्त्र चीनको विकासमा चाहिएन । साउदी अरब र कुवेतको विकासमा गणतन्त्र वा प्रजातन्त्र चाहिएन । मेरो विचारमा विकास जुनसुकै मोडलमा पनि हुन सक्छ । नेपालमा मोडल छान्न नजानेर विकास नभएको होइन बल्की नेता छान्न नजानेर विकास नभएको हो ।
केही दिनअघि टेलिभिजनमा युवा नेता गगन थापा भन्दै थिए आजका ठूला भन्ने नेताहरूमा विकास र परिवर्तनको कुनै चासो छैन । उनीहरू केवल गुटका लागि काम गर्दै छन् । मलाई पनि लाग्यो उनी ठीक कुरा गर्दै थिए । वास्तवमै यी शीर्षस्थ भनिने नेताहरूले अब जनताको जीवनस्तर माथि उठाउँछु भन्ने झुटा भ्रम छर्न बन्द गर्नुपर्छ र त्यो पेसा छोड्नुपर्छ किनकि उनीहरू विकास गर्ने मामलामा असफल सावित भइसकेका छन् ।
केवल कसैले तपार्इं असफल हुनुभयो त्यसैले राजनीति वा त्यो शीर्षस्थ पद छोडिदिनुस् भनेकै भरमा मलाई थाहा छ कि तपाईंहरू आफ्नो नेता हुने रहर छोड्नुहुन्न । कसैले यो कामबाहेक अर्को व्यवसाय र पेसा नजानेको पनि हुनसक्छ । दुवैथरी सोच राख्ने नेताहरूलाई मेरो सल्लाह छ कि आउनुस् तपाईंहरूका लागि एउटा मिल्दो काम गर्ने ठाउँ छ, त्यो हो समाजसेवा । यो क्षेत्रमा आउनुभो भने तपाईंहरूले पक्कै पनि समाजलाई केही दिन सक्नुहुन्छ जुन अहिले दिन सकिरहनुभएको छैन ।
हो, साँच्चिकै भनेको हो मैले, आउनुस् समाजसेवामा ! मैले प्रत्येक नेताले समाजसेवामा आइहाल्नुभो भने को-कसले कहाँ कस्तो योगदान दिन सक्नुहोला भन्नेबारेमा पनि सोचेको छु । प्रचण्डले दुर्लभ गैंडाको संरक्षणमा राम्रो योगदान दिन सक्नुहुन्छ किनकि उहाँलाई जङ्गल र सिकारी दुवैको ज्ञान छ । सुशील कोइराला आफैं क्यान्सरबाट पीडित हुनुभएकोले क्यान्सर सङ्घमा बसेर अरूको सेवा गर्न सक्नुहुन्छ । माधव नेपाल पशुपति विकास कोषमा वा बाग्मती सफाइ समितिमा बस्न सक्नुहुन्छ । बाग्मती उहाँको घरको नजिकै भएकोले त्यसको व्यथा उहाँलाई राम्रोसँग थाहा छ । झलनाथ खनाल झगडा मिलाउने क्षेत्रमा बस्न सक्नुहुन्छ किनकि उहाँमा धैर्यताका साथ अरूको कुरा सुन्ने क्षमता छ । उहाँ पारपाचुकेको नजिक पुगेका दम्पतीहरूलाई मिलाएर घर फर्काउने काममा राम्रो परामर्शदाता बन्न सक्नुहुन्छ । रामचन्द्र पौडेल ज्योतिष संरक्षणमा लाग्न सक्नुहुन्छ । उहाँको चुनाव क्षेत्रवरिपरि ज्योतिषहरूको ठूलो जन्मथलो छ । केपी ओली नेपाली उखानटुक्का र भाषा व्याकरण संरक्षणमा लाग्न सक्नुहुन्छ । विजय गच्छेदार नेत्रदान सङ्घमा लाग्न सक्नुहुन्छ । उपेन्द्र यादव पशुहरूको संरक्षणमा लाग्न सक्नुहुन्छ त्यहाँमाथि पनि गाई, भैंसीहरूको संरक्षणमा उहाँ लाग्नुभयो भने अझ राम्रो होला किनकि यादव र पशुहरूबीच हजारौँ वर्षको सम्बन्ध छ । बाबुराम भट्टराई नागरिक समाजमा आउन सक्नुहुन्छ भने मोहन वैद्य र नारायणकाजी उपभोक्ता सङ्घमा आउन सक्नुहुन्छ किनकि उहाँहरूले छुच्चो तरिकाले नागरिकहरूलाई ठगिएको कुरामा विरोध गर्न सक्नुहुन्छ । लोकेन्द्रबहादुर चन्द पश्चिम क्षेत्रको संस्कृति संरक्षणमा बस्न सक्नुहुन्छ । र्सूयबहादुर थापा वातावरण संरक्षणमा लाग्न सक्नुहुन्छ किनकि विगतमा जङ्गल मासी उहाँले कमाएका पाप रूख बचाई पखाल्न सक्नुहुन्छ । कमल थापा हिन्दू राज्य अभियानमै ठीक होलान् । चित्रबहादुर केसी र नारायण बिजुक्छेलाई भने अहिले उहाँहरूले जनताका भलाइमा खासै केही गर्न नसके पनि राष्ट्रिय मुद्दामा कुरो उठाइरहने हुँदा राजनीतिमै बसिरहँदा रामै्र होलाझैं लाग्छ ।
म पनि प्रहरीमा काम गर्दथेँ । अहिले ड्रग्सको रोकथाममा सामाजिक काम गर्दै छु । वास्तवमै मैले अहिले जनताको करबाट उठेको रकम लिएर काम गरेको छैन । सरकारसँग रकम मागेको पनि छैन । आफ्ना बुताले जति सकिन्छ त्यति ड्रग्सविरुद्ध काम गर्दै छु । अहिले मलाई हिजोझैं गृह मन्त्रालय गएर पदोन्नतिको भिख माग्नुपरेको छैन । सरुवाका लागि नेता-नेताहरूको घर धाउनुपरेको छैन । कृष्ण सिटौलाजस्ता नालायक मन्त्रीहरूलाई घरमा पुगेर सलाम गर्नुपरेको पनि छैन । म स्वतन्त्र अनुभव गर्दछु । शीर्षस्थ भनिएका नेताहरूलाई पनि मेरो सल्लाह छ कि बाहिरबाट जे देखिए पनि तपाईंहरू त्यहाँ दु:खी हुनुहुन्छ । कहिले सांसद किन्नुपर्छ, कहिले लुकाउनुपर्छ, आफ्ना गुटहरूलाई पाल्न हुने-नहुने काम गर्नुपर्छ । मन नपरेका दलहरूसँग पनि सत्ताका लागि मिल्नुपर्छ । वास्तवमै त्यहाँ बसेर मौका पाउँदा पनि तपाईंहरूले जनताका लागि केही गर्न सक्नुभएन वा गर्ने वातावरण पाउनुहुने छैन, हेर्दाहेर्दै तपाईंहरूको जिन्दगी यत्तिकै बित्न सक्छ । किशुनजीलाई मरेपछि खुवै तारिफ गरिएझैं तपाईंहरूलेे पनि प्राण त्यागिसकेपछि आजका विरोधीहरूले गरेका राम्रा कुराले खासै अर्थ राख्दैन । म भन्छु- शीर्षस्थ नेताज्यूहरू अहिले समय छ, त्यसैले राजनीति त्यागी सामाजिक सेवामा आउनुुस् । राजनीति गरेर त्यसका माध्यमबाट नेपाललाई पुल, विमानस्थल, नहर, उद्योग, व्यापार दिन कोही अरू आउनेछन् । तपाईंहरू तिनलाई ठाउँ छोडिदिनुस् र छिटोभन्दा छिटो समाजसेवाको यस क्षेत्रमा आउनुहोस् । के बेर यहाँ तपाईंलाई झन् ठूलो सन्तुष्टि प्राप्त हुने पो हो कि ? आउनुस् शीर्षस्थ नेताज्यूहरू समाजसेवामा !!