लभको कुरै छोडौँ, विवाह गर्ने फुर्सदसमेत मिलेन

लभको कुरै छोडौँ, विवाह गर्ने फुर्सदसमेत मिलेन


sport—शान्ति सिंह (मुख्य प्रशिक्षक)
घरको वातावरण नै खेलकुदमय भएपछि उनी खेलकुदप्रति आकर्षित हुनु स्वाभाविकै थियो । अझ चञ्चले बानी त्यसमाथि कडा स्वभावले गर्दा जानी–अन्जानी उनले खेलकुदमा हामफालेकी थिइन् । कलिलो मस्तिष्क दूरगामी प्रभावबारे अन्योल भए पनि खेलकुदप्रतिको झुकावले गर्दा उनी खेलाडी बन्न पुगेकी थिइन् । १३, १४ वर्षको उमेरमा एथलेटिक्सका विभिन्न विधामा आफ्नो भाग्य जन्माएकी उनले त्यसपछि टेबुलटेनिस, ब्याडमिन्टन हुँदै कबड्डीमा उत्कृष्ट प्रदर्शन गरेर त्यसबेला चर्चाको शिखरमा पुगेकी थिइन् । उनी हुन् बहुमुखी प्रतिभाकी धनी शान्ति सिंह ।
वास्तविक रूपमा भन्नुपर्दा खेलकुदप्रतिको रुचि सानैदेखि भए पनि शान्ति सिंहले स्कुलमा आएर मात्र खेलकुदमा हामफालेकी थिइन् । स्कुलमा हुने विभिन्न प्रतियोगितामध्ये उनले आफ्नो भविष्य एथलेटिक्समा देखेकी थिइन् । अझ आफ्नै दाजु गोवर्धन सिंह र दिदी ज्योति शाही एथलेटिक्सका खेलाडी भएकाले उनको पहिलो रोजाइमा एथलेटिक्स परेको थियो । स्कुले जीवनमा एथलेटिक्सका १०० मिटर, २०० मिटर र लङजम्प खेलेकी शान्तिले वीरेन्द्र सिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ‘वेस्ट प्लेयर’को उपाधिसमेत जित्न सफल भएकी थिइन् । वीरेन्द्र सिल्ड प्रतियोगितामा गरेको उत्कृष्ट प्रदर्शनकै आधारमा ०३१ सालमा नेपालगञ्जमा भएको एथलेटिक्सको राष्ट्रिय प्रतियोगितामा भेरी अञ्चलबाट सहभागितासमेत जनाएकी थिइन् । जुन प्रतियोगिता उनको अनुभवको पाटोसिद्ध भए पनि खेलकुदमा लाग्ने वातावरणलाई भने अझ झङ्ग्याएको थियो । उनीमा नौलो जोस र जाँगर भरिदिएको थियो ।
०३१ सालमा एसएलसी पास गरेपछि उनको दोस्रो अध्यायको शुभारम्म भएको थियो । क्याम्पस पढ्न थालेपछि उनले एथलेटिक्सलाई चटक्कै माया मार्दै क्याम्पसमा भएका खेलहरू टेबुलटेनिस र ब्याडमिन्टन खेल्न थालेकी थिइन् । आफ्नो भविष्य ब्याडमिन्टनमा देखेकी शान्ति ०३१ देखि ०३७ सालसम्म ब्याडमिन्टन खेलेर भेरी अञ्चलकी उत्कृष्ट खेलाडी बन्न सफल भइन् । भेरी अञ्चलमा शान्तिको कुनै प्रतिद्वन्द्वी नभए पनि राष्ट्रियस्तरका प्रतियोगिताहरूमा भने उनले कुनै कमाल देखाउन सकिनन् । राष्ट्रिय प्रतियोगिता उनका लागि अनुभव बटल्नु र सहभागितामै सीमित रहन पुग्यो । राष्ट्रिय प्रतियोगितामा स्थान बनाउन आफूले ठूलो मिहिनेत गरे पनि सफलता पाउन नसक्दाको तीतो अनुभव अहिले पनि उनले आफ्नो मनमा राखेकी छिन् ।
०३८ सालमा उनको अर्थात् शान्तिको खेलजीवनले पुन: अर्को मोड लिएको थियो । ब्याडमिन्टनको चर्चित खेलाडी भएर पनि उनले कबड्डीको कप्तान बनेर मैदानमा उत्रिनुपरेको थियो । ०३८ सालमा भएको पहिलो बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला कबड्डी पनि समावेश गरिएकाले एक चर्चित खेलाडीको नाताले उनले कबड्डीको कप्तानको भूमिका निभाउन पाएकी थिइन् । भेरी अञ्चलको कप्तान भएर खेल्ने मौका पाए पनि उक्त प्रतियोगिताका सबैभन्दा सशक्त टिमहरू गण्डकी, कोसी र सगरमाथाका अगाडि उनको टिम सूर्यको अगाडि दियो मात्रै सावित भएको थियो । राष्ट्रियस्तरको प्रतियोगिता र पहिलो सहभागितामा कुनै चमत्कार देखाउन नपाउँदा अलिकति खिन्नता भए पनि खेलको नियम हार र जितलाई शान्तिले सहजै रूपमा स्वीकार गरेकी थिइन् । त्यसपछि ०३९ सालमा नेपालगञ्जमा भएको कबड्डीको राष्ट्रिय प्रतियोगिता र हेटौँडामा भएको पहिलो अन्तरनगर प्रतियोगिता पनि उनले अनुभव र सहभागितामै बिताउनुपरेको थियो । लगभग एकदशक खेलाडीको रूपमा कबड्डीमा बिताउँदा सन् १९८२ मा दिल्लीमा भएको ९औँ एसियाली खेलकुद प्रतियोगितामा शान्तिले सहभागिता जनाउन पाएकी थिइन् । उक्त प्रतियोगितामा महिला र पुरुष कबड्डीलाई प्रदर्शन खेलको रूपमा समावेश गरिएकाले उनले त्यो अवसर प्राप्त गरेकी हुन् ।
१२ वर्षसम्म विभिन्न खेलमा खेलाडीको रूपमा बिताएपछि वि.सं. ०४० सालमा शरदचन्द्र शाह (तत्कालीन सदस्यसचिव) को पहलमा महिलालाई पनि प्रशिक्षक बनाउनुपर्छ भन्ने नीति लागू भएपछि राष्ट्रिय खेलकुद परिषद्ले शान्तिलाई प्रशिक्षकको तालिमका लागि बेङ्ग्लोर पठाएको थियो । त्यहाँ एक वर्षको डिप्लोमा कोर्स गरेर फर्केपछि ०४१ सालदेखि कबड्डी प्रशिक्षकमा नियुक्ति पाइन् । त्यसपछि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विभिन्न जिल्लामा महिला तथा पुरुष खेलाडीलाई प्रशिक्षण दिएकी थिइन् । वर्तमान अवस्थामा उनले कबड्डीको प्रशिक्षकको भूमिका निभाएको २७ वर्ष भइसकेको छ । शान्ति प्रशिक्षकबाट मुख्य प्रशिक्षक बनिसक्दा पनि कबड्डीले भने आफ्नो आकारलाई फैलाउन सकेको छैन । यो खेलमा केही सुधार भए पनि आमचासोको खेल बन्न नसक्दा शान्तिको मन सधँै पोल्ने गरेको छ ।
०१४ सालमा बुबा गोपालबहादुर सिंह र आमा गीतादेवी सिंहको कोखबाट दोस्रो सन्तानको रूपमा जन्मिएकी शान्ति सिंह छोरी भने जेठी हुन् । खेलकुुदमै लागेर विवाह गर्न बिर्सिएकी शान्तिले आफ्नो सारा जीवन खेलकुदमा अर्पित गरे पनि खेलकुदको कार्यशैलीप्रति भने त्यति सन्तुष्ट देखिन्नन् । आफू नेपालको पहिलो महिला मुख्य प्रशिक्षक भएको दाबी गर्ने उनले चिप कोच भएर पनि पुरुष प्रशिक्षककै छत्रछायामा बस्नुपर्ने कुरालाई विडम्बनाको रूपमा लिएकी छिन् । प्रशिक्षण दिँदा आफूले महिला र पुरुष दुवैलाई दिने भए पनि त्यसको फाइदा पुरुष प्रशिक्षकहरूले मात्र लिएको गुनासो पोखिन् । यसमा राखेपले पनि भेदभाव गरेको हुनाले यसबारे राखेपले विशेष रूपमा सोच्नुपर्ने र कार्यदक्षता र योग्यताको आधारमा कुनै भेदभाव नगरी दुवैलाई समान जिम्मेवारी र व्यवहार गर्नुपर्ने बताएकी छिन् ।
कबड्डीबारे विश्लेषण गर्ने क्रममा शान्तिले विगतको कबड्डी उत्कृष्ट भएको बनाएकी छिन् । उनले ०३६ देखि ०४६ सालसम्म कबड्डी निकै स्तरीय भएको बताउँदै त्यसपछि मात्र ओरालो लागेको खुलासा गरेकी छिन् । उनले त्यसबेला प्रशस्त खेलाडी, निरन्तर प्रतियोगिता हुँदा खेलाडीको उत्पादनमा सहज भएको बताउँदै कर्णालीबाहेक सबै अञ्चलका खेलाडीले कबड्डीमा भाग लिने बताइन् । जब मुलुकमा प्रजातन्त्र आयो त्यसपछि मुलुकको खेलकुदसँगै कबड्डी पनि ओरालो गालेको उनको कथन छ । प्रजातन्त्र आएपछि समग्र खेलकुदको विकासमा नयाँ आयाम थपिने विश्वास गरिए पनि खेलकुदमा राजनीति घुसेपछि खेलकुद दलदलमा भासिन पुगेको थियो । यसपछि निरन्तर रूपमा हुँदै आएका प्रतियोगिता बन्द भए, प्रतियोगिता नभएपछि खेलाडी कामको खोजीमा पलायन भए । जसले गर्दा अहिलेसम्म कबड्डीमा खासै सुधार आउन सकेको छैन । ०५५ सालमा नेपालगञ्जमा भएको राष्ट्रिय प्रतियोगिता र ०६४ सालमा कञ्चनपुरमा भएको प्रतियोगिताबाहेक अहिलेसम्म कबड्डी कुनै पनि महत्वपूर्ण प्रतियोगिताको आयोजना भएको छैन ।
शान्ति सिंहले अहिले नेपालका दुवै महिला तथा पुरुष टिमलाई औसतको दर्जा दिएकी छिन् । उनले पुलिस र आर्मीमा भएका खेलाडी मात्रै स्तरीय भएको सुनाउँदै जिल्लाका खेलाडीमा त्यो नभएको बताइन् । उनले वास्तविक रूपमा कबड्डीको विकास गर्ने हो भने सम्पूर्ण खेलाडीलाई विभागीय टिममा राख्नुपर्ने बताएकी छिन् । त्यहाँ दालभात र नोकरी ग्यारेन्टी हुने र नियमित रूपमा प्रशिक्षण हुने भएकाले यो सबैभन्दा उत्तम उपाय भएको प्रस्ट पारेकी छिन् । कबड्डी खेल्ने खेलाडी प्राय: सबै गरिब हुने र सबै खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्ले पाल्न नसक्ने हुँदा यस्तो हुनु आवश्यक भएको बताइन् । यसका लागि सम्बन्धित निकायले समन्वय गरेर अगाडि बढेमा सुस्ताएको–निदाएको कबड्डी पुन: ब्यँुझिने कुरामा दुईमत छैन ।
ढाकामा भएको ११औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा कबड्डी खेलाडीहरू (महिला र पुरुष) ले कास्य पदक जित्न सफल भएको क्षणलाई शान्तिले त्यो छोटो समयको ठूलो उपलब्धि भएको बताएकी छिन् । कबड्डी खेलमा विशेष गरेर दक्षिण एसियाली मुलुकको वर्चश्व रहेकाले पदक जित्न ज्यादै चुनौती हुन्छ र पनि नेपाली खेलाडीले त्यो उपलब्धि हासिल गर्नु चानचुने कुरा होइन । सीमित साधन, स्रोत र छोटो समयको प्रशिक्षणमा पदक भित्याउनु आफैँमा गर्व गर्न लायक कुरा हो । कबड्डीमा ओलम्पिक च्याम्पियन भारतको मुकाबिला कसैले गर्न सक्तैन । अझ पाकिस्तान पनि निकै बलियो भएकाले उसको बराबरी पनि गर्न सकिँदैन । हाम्रो प्रतिस्पर्धा भनेको बंगलादेश र श्रीलङ्कासँग मात्रै हो । यसको अर्थ कास्य पदक नै हाम्रो टारगेट हो । हामीले यसैका लागि तयारी गर्नुपर्छ । अहिले अफगानिस्तान पनि थपिएकाले पुरुष खेलाडीका लागि कास्य पदक पनि जित्नु निकै चुनौतीपूर्ण बनेको छ ।
कबड्डी विशेष गरेर निम्न वर्गका गरिब खेलाडीले खेल्ने भएकाले जबसम्म उनीहरूको गाँस, बास र कपासको व्यवस्था हुँदैन तबसम्म यो खेलको विकास नहुने ठोकुवा गरेकी छिन् शािन्तले । कबड्डी खेलको समग्र विकासको जिम्मा लिएको नेपाल कबड्डी सङ्घ जबसम्म दूरदर्शी योजना बनाएर सक्रिय रूपमा यसको विकासमा लाग्दैन तबसम्म कबड्डीबारे सोच्नु मूर्खता हुनेछ । साथै परिषद्ले पनि सङ्घले काम गरेको–नगरेको कुरालाई निगरानी गर्नुप-यो र प्रतियोगिता आयोजना हुन थालेपछि प्रशिक्षकहरू स्वत: काममा लाग्ने भएकाले सङ्घले आफ्नो उत्तरदायित्वलाई हाम्रो सङ्घ भनेर बुझ्नुप-यो । अहिले पनि कबड्डीमा सिनियर खेलाडी काम नपाएर रोएर बसेको अवस्था भएकाले उनीहरूलाई समेत रोजगारको व्यवस्था गरी कबड्डी खेलको विकासमा लगाउनुपर्ने सिंहको राय छ ।
‘म विवाह नगरेर पनि खुसी छु, कुनै पछुुतो लागेको छैन’ भन्ने शान्तिले आफूलाई मन पराउने कोही नभएको दाबी गरिन् । मन पराउने भए चिठ्ठी लेख्थ्यो, कसैले लेखेन । म खेलकुदमा व्यस्त भए पनि लभसभको त कुरै छोडौँ विवाह गर्नेबारेमा सोच्नेसमेत फुर्सद भएन । त्यो समयमा कसैले अफर पनि गरेन । सबैभन्दा रमाइलो कुरा त बुबाआमाले छोरी तँ कहिले विवाह गर्ने भनेर सोध्नु पनि भएन, कर गर्नु पनि भएन । यसरी मेरो विवाह गर्ने उमेर कहिले ढल्कियो मैले पत्तै पाइनँ । उमेर बढी भइसकेपछि मात्रै मैले अविवाहित भएको महसुस गरेकी थिएँ । त्यसपछि आफ्नो विवाह खेलकुदसँग भएकोमा चित्त बुझाउँदै यसैलाई सबथोक ठानेर अघि बढिरहेकी छु ।
खेलकुदमा उनको त्यस्तो कुनै अविष्मरणीय क्षण छैन, जसलाई उनी आँसु चुहाएर, अनुहार मलीन पारेर होस् या खित्का छोडेर हाँस्दै भन्न सकून् । उनको खेलकुदप्रति गुनासो मात्रै छ । म खेलकुदमा लागेर अहिलेसम्म खुसी छैन । महिला प्रशिक्षकलाई कुनै सम्मान र व्यवस्था छैन । जहिले पनि पुरुष प्रशिक्षकको छायामा पर्नुपर्छ । राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा जाँदा जहिले पनि भेदभाव हुन्छ । हामीले महिला र पुरुष दुवैलाई प्रशिक्षण दिनुपर्ने तर विदेश जाँदा पुरुष मात्रै जाने गर्छन् । म मुख्य प्रशिक्षक भएपछि मात्र पाकिस्तान, श्रीलङ्का र बंगलादेश जान पाएकी छु । मेरो त यस्तो अवस्था छ भने अरूको के होला ? तसर्थ सुखको कुरै छैन, सबै दु:खैदु:ख मात्र छ । यति हुँदाहुँदै पनि आफ्नो अगुवाइ र आफ्नै नजरको अगाडि ११औँ सागमा महिला तथा पुरुष खेलाडीले ऐतिहासिक कास्य पदक जित्दा उनले राहतको महसुस गरेकी छिन् । मनको एक कुनामा त्यसले सधँै सन्तुष्टि दिइरहेको सुनाइन् ।

दोस्रो यू–१४ अन्तरविद्यालय बास्केटबल
नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले रामकुमार बस्नेतको स्मृतिमा फागुन ८ देखि १५ गतेसम्म ‘दोस्रो यू– अन्तरविद्यालय बास्केटबल च्यामिपयनसिप– २०६९’ हुने भएको छ । नेपाल बास्केटबल सङ्घले आयोजना गर्न लागेको च्याम्पियनसिपमा छात्र र छात्रातर्फ १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपमा तीन विभागीय नेपाल प्रहरी, नेपाली सेना र सशस्त्रका यू– १४ स्कुल टोली सीधै फाइनल चरणमा सहभागी हुनेछन् । छनोट चरण पार गरेका काभ्रे, सुनसरी र कास्कीका प्रथम स्थान हात पार्ने टिमले फाइनल चरणमा सहभागिता जनाउनेछ । उपत्यकाको हकमा काठमाडांै र ललितपुरका स्कुललाई चार क्षेत्रमा वर्गीकरण गरी छनोट खेल खेलाइने र उक्त छनोट खेलमा प्रथम र दोस्रो हुने टोली फाइनल चरणमा सहभागी हुनेछन् ।
हाल विभिन्न स्कुलले जुनियर ब्वाइज (पाँच फिट र त्यसभन्दा मुनिको) र सिनियर ब्वाइज (यू– १६) मात्र प्रतियोगिता गर्दै आइरहेको छ । त्यसले यू– १४ भित्र रहेको सम्भावना बोकेका खेलाडी ती दुवैमा सहभागी हुन नपाउने भएका कारण यो प्रतियोगिता आयोजना गर्न लागिएको र यो यू– १६ टोलीको ब्याक अपको रूपमा रहने प्रेस विज्ञप्तिमा जनाइएको छ । पाँच लाख ८० हजार अनुमानित खर्च लाग्ने च्याम्पियनसिपको छनोट चरण माघ २२ प्रारम्भ भएको थियो ।

थ्री स्टारलाई आहा–रारा गोल्डकप
हालै पोखरामा सम्पन्न ११औँ आहा–रारा गोल्डकप फुटबलको उपाधि थ्री स्टार क्लबले जितेको छ । थ्री स्टारले फाइनलमा आयोजक सहारा क्लबलाई १–० गोलको अन्तरले पराजित गरेको थियो । प्रतियोगितामा विजय हासिल गरेसँगै थ्री स्टारले तीन लाख ५१ हजार तथा उपविजेता सहारा क्लबले दुई लाख एक हजार हात पारेका थिए । थ्री स्टारको आहा–रारा कपमा यो तेस्रो विजय हो । एघार वर्षमा पहिलोपटक फाइनलमा पुगेको आयोजक टोली सहाराले फाइनलमा उत्कृष्ट प्रदर्शन गरे पनि इतिहास रच्नबाट चुकेको थियो ।

टग अफ वारमा रिब्सले मा-यो बाजी
काठमाडौं जिल्लास्तरीय अन्तरस्कुल छात्र टग अफ वार प्रतियोगितामा रिब्स विजयी भएको छ । महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी तालिम केन्द्रमा भएको प्रतिस्पर्धामा रिब्सले एलआरआईलाई २–० अन्तरले पराजित गरेको थियो । नेपाल राष्ट्रिय टग अफ वार सङ्घद्वारा आयोजित प्रतियोगितामा डल्लु आवासीय माविले ओपल स्कुललाई २–० ले हराई तेस्रो स्थान प्राप्त गरेको थियो । एकदिने प्रतियोगिताको उद्घाटन सङ्घका अध्यक्ष राजनसिंह भण्डारीले गरेका थिए । ३२ टिम सहभागी प्रतियोगितामा पाथफाइन्डर स्कुलले फेयर प्ले पुरस्कार, ओपल इन्टरनेसनल स्कुलले अपकमिङ टिम पुरस्कार, विनायक इङ्ग्लिस स्कुलले वेस्ट ड्रेस पुरस्कार र बौद्ध चिल्ड्रेन हेभन स्कुलले उत्कृष्ट खेल भावना भएको टिम पुरस्कार पाएका थिए । विजेतालाई नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक भीष्म प्रसाईंले पुरस्कार वितरण गरेका थिए ।

राष्ट्रिय कबड्डी प्रतियोगिता सुरु
अखिल नेपाल कबड्डी सङ्घको आयोजनामा १३औँ महिला तथा १९औँ पुरुष राष्ट्रिय प्रतियोगिता सञ्चालन हुने भएको छ । उक्त प्रतियोगितामा पाँच विकास क्षेत्रका पाँच र विभागीय टोलीहरूमा आर्मी, पुलिस र विश्वविद्यालय गरी १६ टिमले प्रतिस्पर्धा गर्ने सङ्घको अध्यक्ष लालकुमार लामाले जानकारी दिएका छन् । प्रतियोगितामा आठ महिला र आठ पुरुष टिम रहनेछन् । २४ देखि २६ गते तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले गर्ने आयोजक कमिटीले बताएको छ ।

जेएसकेए अन्तर्राष्ट्रिय कराते हुने
सोतोकान कराते डो सङ्घ नेपालको आयोजनामा प्रथम जेएसकेए खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता माघ २५ गतेदेखि हुने भएको छ । प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलङ्का र भारतका करिब पाँच सय खेलाडीको सहभागिता रहने आयोजकका महासचिव जुगबहादुर लामाले जनाएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा तीन दिनसम्म चल्ने प्रतियोगितामा ६० स्वर्ण, ६० रजत र एक सय २० कास्यका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताअघि माघ २३ र २४ मा सेमिनार तथा ग्रेडिङ हुने बताइएको छ । उक्त कार्यक्रम लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । त्यसका लागि जापान कराते डो महासङ्घका चिफ इन्स्ट्रक्टर सेन्सई तोसिकी नामिकी नेपाल आउने महासचिव लामाले बताए ।

सिमरा गोल्डकपमा बाह्र क्लब
म्याजिक मोमेन्ट चौथो सिमरा गोल्ड कप माघ २३ गतेदेखि सञ्चालन भएको छ । फागुन ५ गतेसम्म चल्ने उक्त प्रतियोगितामा नेपालका १२ टिमको सहभागिता रहेको छ । आयोजक तथा नवजनजागृति युवा क्लबका अध्यक्ष शम्भुसिंह ठकुरीले प्रतियोगितामा ‘ए’ डिभिजनका पुलिस क्लब, मनाङमस्र्याङ्दी, सङ्कटा, हिमालयन शेर्पा, जावलाखेल युथ, फ्रेन्ड्स क्लबको सहभागिता रहने बताए । रोलिङ रिभ डिस्ट्रिलर्स प्रालि चितवनको प्रायोजनमा हुन लागेको यो मोफसलको सबैभन्दा ठूलो पुरस्कार राशिको प्रतियोगिता हो । यो प्रतियोगितामा विजेताले चार लाख र उपविजेताले दुई लाख रुपैयाँ पाउनेछन् ।

सुनिता र निहाललाई स्वर्ण
हिसान खेलकुद तथा अतिरिक्त क्रियाकलापअन्तर्गत टेबलटेनिसको एकल स्पर्धाको महिलामा प्राइमकी सुनिता लामा र पुरुषमा प्राइमकै निहाल श्रेष्ठले स्वर्ण जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा सुनिताले प्राइमकै एरिका महर्जनलाई २–११, ११–७, ९–११, १३–११ र ११–८ को सेटमा पराजित गरिन् । निहालले गिनिजका पीयुष अवाललाई ११–९, ८–११, १२ १० र ११–७ को सेटमा पाखा लगाएका थिए । हिसानद्वारा आयोजित प्रतियोगितामा गिनिजका पीयुष अवाल र अविन प्रजापतिको जोडीले निष्टका विश्वास बस्नेत र लुइसको जोडीलाई ११–७, ११–४ र ११–९ को सोझो सेटमा पाखा लगाउँदै पुरुष डबल च्याम्पियन बनेका थिए । मिक्स डबल्समा प्राइमका निहाल श्रेष्ठ र नोर्डेन तथा महिला डबल्समा प्राइमकै सुनिता लामा र एरिका महर्जनको जोडी पहिलो स्थानमा रहेका थिए ।