थारु महिला सभा सप्तरीको दोश्रो अधिवेशन शुरु

थारु महिला सभा सप्तरीको दोश्रो अधिवेशन शुरु


हेमशंकर सिंह

राजविराज । थारु महिला सभा सप्तरीको दोश्रो जिल्ला अधिबेशन सोमबारदेखि शुरु भएको छ । सप्तरीको शम्भुनाथ नगरपालिकास्थित आदिवासी जनजाति महासंघ सप्तरीको सभाहल कठौनामा एक समारोहका बीच उद्घाटन सम्पन्न भएको छ ।

उदघाटन समारोहलाई सम्वोधन गर्दै थारु महिला सभाका केन्द्रिय उपाध्यक्ष भगवती चौधरीले वर्तमान सरकारको कारण गणतन्त्र धरापमा परेको बताइन् । गणतन्त्रको मुल्य र मान्यताविपरीत सरकार अगाडि बढेको बताउँदै चौधरीले संविधान संशोधन गरी उत्पिडीत समुदायको अधिकार सुनिश्चित गनुपर्नेमा जोड दिइन् ।

नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङले सङ्घीय र प्रदेश दुवै सरकार आदिवासी जनजातिप्रति पुर्वग्रही रहेको आरोप लगाए ।

सङ्घीय सरकार आदिवासी जनजातिको अधिकार खोस्न लागिपरेको बताउँदै उनले प्रदेश नम्बर २ का सरकारले पनि आदिवासी जनजातिमाथि भेदभाव गरेको बताए ।

प्रदेश नम्बर २ मा बहुसङ्ख्याक थारु समुदायले प्रमुख चार्डको रुपमा मनाउने माघीको विदाको सिफारिस नगरेर प्रदेश सरकारले समेत थारु, आदिवासीमाथि विभेदकारी व्यहवार प्रस्तुत गरेको अध्यक्ष तामाङले आरोप लगाए ।

थारु कल्याणकारिणी सभा सप्तरीका सभापति अरुण कुमार चौधरीले आदिवासी र थारु आन्दोलनबाट प्राप्त उपलब्धि रक्षाको लागि एकबद्ध भएर आन्दोलन गर्नुपर्नेमा जोड दिए ।

थारु महिला सभा सप्तरीका सभापति लक्ष्मी चौधरीको अध्यक्षतामा सम्पन्न उदघाटन समारोहमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ सप्तरीका अध्यक्ष दिल कुमारी चौधरी, थारु महिला सभा मोरङ्गका सभापति कल्पना चौधरी, थारु भाषा, संस्कृितविद् निर्मला चौधरी लगायतकाले शुभकामाना मनतव्य व्यक्त गरे ।

अधिवेशनवाट थारु महिला सभा सप्तरीको कार्यसमिति र केन्द्रिय प्रतिनिधि चयन गरिने जनाइएको छ । सोमबार नै बन्दसत्र शुरु भएपनि साँझ ७ बजे म्म पनि सहमति नजुटेकोले सहमतिको प्रयास भईरहेको प्रतिनिधि रामवती चौधरीले जानकारी दिइन् ।