सेनापति आगमन रहस्यमय-रामहरि पाण्डे

सेनापति आगमन रहस्यमय-रामहरि पाण्डे


नेपालमा चिनियाँ प्रधानसेनापतिको आगमन सनसनीपूर्ण विषय बनेको छ । नेपालको असामान्य अवस्थामा चिनियाँ सैन्यप्रमुखको यसप्रकार हुन लागेको भ्रमणको रहस्यप्रति सर्वत्र चासो प्रकट भएको छ । स्वदेशमा मात्र नभई विदेशी शक्तिराष्ट्रहरूले पनि यस भ्रमणलाई नजिकबाट नियालिरहेका छन् । सरकारले चीनको सैन्य सहयोग स्वीकार गर्ने निर्णय मंगलबार गरेको छ ।
ठीक दस वर्षअघि २०५७ साल ? सन् २०००) मा तत्कालीन राज वीरेन्द्रले ‘कु’ गर्ने तयारी गरिरहेका बेला पनि चिनियाँ सेनापतिको भ्रमण हुनु र अहिले नेपालमा प्रजातन्त्र सङ्कटग्रस्त भएको समयमा पनि हुनु अनौठो संयोग भएको छ । तर, संविधान नबनेको अवस्थामा सेनाको ब्याकिङमा राष्ट्रपतिले शासनभार लिने अनुमान गरिएका बेला चीनले सेनासँगको सम्बन्धमा उच्च महत्त्व दिनुलाई एउटा संयोग मात्र मान्न सकिने अवस्था भने छैन ।
नेपालमा गणतन्त्र आएपछि चिनियाँ सैन्य अधिकारीबाट हुन लागेको यो सबैभन्दा ठूलो भ्रमण हो । यस भ्रमणको नेतृत्व गर्दै चिनियाँ जनमुक्ति सेनाका प्रमुख जनरल चेन विङ्देन आज बुधबार (९ चैत) नेपाल आउन लाग्नुभएको हो । चिनियाँ केन्द्रीय सैन्य आयोगका सदस्यसमेत रहनुभएका सेनाप्रमुख विङ्दे चिनियाँ एयरफोर्सको विशेष विमानबाट एक लेफि्टनेन्ट जनरल र चार मेजर जनरलको साथ १८ सदस्यीय टोलीका साथ आउन लाग्नुभएको हो । उहाँले नेपाललाई चिनियाँ सैन्य टोलीले हालसम्म दिएकामध्य सबैभन्दा ठूलो धनराशिको सहयोगसमेत गर्नुहुने सैनिक जनसर्म्पर्क निर्देशनालय स्रोतको भनाइ छ । नेपालको तीनदिने भ्रमणमा आउन लाग्नुभएका चिनियाँ सेनाप्रमुख विङ्देले वीरेन्द्र सैनिक अस्पताललाई एक अर्बबराबरको उपकरण सहयोगस्वरूप दिनुका साथै ३० करोडबराबरको डोजर, लोडरलगायत विकास निर्माणका सामग्री दिने विषयमा सम्झौता गर्नुहुनेछ । उहाँले राष्ट्रपति डा. रामवरण यदव, प्रध्ाानमन्त्री झलनाथ खनाल, रक्षामन्त्री, प्रधानसेनापतिलगायत उच्चपदस्थ अधिकारीहरूसँग भेट गर्नुहुने भएको छ ।
यसअघि सन् २००० ? २०५७) मा चीनका तत्कालीन सेनाप्रमुख फु क्वानयु नेपाल आउनुभएको थियो । उहाँ नेपाल आउनुअघि जनमुक्ति सेनाका वरिष्ठ कर्नेल वु युझाङको नेतृत्वमा ६ सदस्यीय टोली सोही वर्ष २४ देखि २६ फागुनसम्म अध्ययन भ्रमणका लागि भन्दै आएको थियो । फु क्वानयु सैन्य टोलीले पनि नेपाली सेनालाई सैन्य सामग्री हस्तान्तरण गरेको थियो ।
चीनको सुरक्षा चासो तिब्बतसँग जोडिएको र स्वतन्त्र तिब्बत पक्षधरहरूले बेलाबेलामा नेपालस्थित चिनियाँ दूतावास र कन्सुलर शाखामा प्रदर्शनीसमेत गर्ने गरेका छन् । त्यसैले पनि चिनियाँ सैन्य टोलीले तिब्बतको सुरक्षालाई ध्यान दिँदै नेपाल भ्रमण गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार चीनको सैन्य टोलीले यसअघि पनि गोप्य र अनौपचारिक रूपमा नेपाल भ्रमण गर्दै आएको थियो । तर, पछिल्ला केही वर्षयता आफ्नो भ्रमणलाई खुल्ला रूपमा बढाउँदै लगेको छ । यसरी आफ्नो भ्रमण बढाउनुका कारण सुरक्षाका सम्बन्धमा पनि चीन चनाखो छ भन्ने देखाउनु नेपाली सेनाका एक उच्च अधिकारीको भनाइ छ । भ्रमणले दुई देशबीचको सैन्य सम्बन्धभन्दा पनि राजनीतिक सम्बन्धमा बढी प्रभाव पार्न सक्ने अनुमान गरिएको छ । एक सैनिक अधिकृतले घटना र विचारसँग भन्नुभयो, ‘हरेक देशमा सबैभन्दा पहिले राजनीतिक सम्बन्ध हुन्छ, त्यसपछि मात्र सैन्यलगायत अन्य निकायसँग सम्बन्ध हुन्छ, त्यसर्थ अहिले हुन लागेको चिनियाँ सेनाप्रमुखको नेपाल भ्रमण पनि राजनीतिबाट अछुतो छ भन्न मिल्दैन, त्यसैले उनीहरूले राजनीतिक दलका नेता तथा सरकारका उच्च्ा अधिकारीहरूसँग पनि भेट गर्दै छन् । चिनियाँ सैन्य टोलीको यसप्रकारको भ्रमणलाई नेपाली सेनाले पनि सामान्य रूपमा नलिएको ती अधिकारीको भनाइ थियो । उनको थप भनाइ थियो, ‘भ्रमणबाट सेनालाई गर्ने भनिएको सहयोग एक बहाना मात्र हो, यो सबै राजनीतिक स्वार्थमा केन्द्रित रहेको प्रस्ट देखिन्छ, ऊ स्पष्ट रूपमा भारतीय सहयोगको प्रभावलाई इन्काउन्टर दिन चाहन्छ ।’
सैनिक प्रवक्ता सहायकरथी रमीन्द्र क्षेत्रीले दुई मुलुकबीच सैनिक सम्बन्ध विस्तारमा भ्रमण केन्द्रित रहने जानकारी गराउँदै भन्नुभयो, ‘भ्रमण जुन उद्देश्यबाट भएको भए पनि यो सैन्य सहयोग र नेपाल-चीनबीचको सैन्य सम्बन्धलाई प्रगाढ पार्ने सद्भाव भ्रमण हो, दुई मुलुकका उच्च सैनिक अधिकृतहरूको विगतमा भएको भ्रमणको निरन्तरता दिने कार्य हो र अहिलेको भ्रमणले दुई मुलुकबीच सैन्य सम्बन्ध र ज्ञानको आदान-प्रदान हुनेछ भन्ने हाम्रो विश्वास छ ।’ उहाँले थप्नुभयो, ‘यो भ्रमणलाई नेपाली सेनाले राजनीतिक रूपमा हेर्दैन त्यो राजनीतिक दलका नेताहरूले हेर्ने कुरा हो ।’
नेपालमा ३० मङ्सिर २०६६ मा जनमुक्ति सेनाको मेजर जनरल जिया जियाओनिङको नेतृत्वमा सात सदस्यीय टोली नेपाल भ्रमणमा आएको थियो । प्रधानसेनापति छत्रमानसिंह गुरुङ भारत भ्रमणमा रहनुभएका बेलामा आएको सो टोलीले नेपाली सेनालाई ३० करोड ८० लाखबराबरको सैन्य सहयोग हस्तान्तरण गरेको थियो । राष्ट्रिय सुरक्षा मन्त्रालयको परराष्ट्र मामिला कार्यालयका उपप्रमुखसमेत रहनुभएका जियाको नेतृत्व टोलीमा जनमुक्ति सेनाको सुरक्षा विभाग तथा मुख्यालयका राजनीतिक मामिला उपप्रमुख मेजर जनरल साइमैती मेमेतीलगायतका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो । सैनिक स्रोतका अनुसार सो सैन्य टोलीले राजनीतिक भेटघाटलाई महत्त्व दिएको थियो । त्यसअघि चिनियाँ जनमुक्ति सेनाका लेफि्टनेन्ट जनरल तथा तिब्बत स्वायत्त परिषद्का सैन्यप्रमुख सु युताईको नेतृत्वको एक सैन्य टोलीले गत मङ्सिर १९ देखि २३ सम्म नेपाल भ्रमण गरेको थियो ।
यसैगरी २१ मङ्सिर २०६५ मा चिनियाँ जनमुक्ति सेनाका उपप्रमुख लेफि्टनेन्ट जनरल जेइसनले नेपालको चारदिने भ्रमण गर्नुभएको थियो भने २० करोडबराबरको सैन्य सामग्री सहयोगस्वरूप सेनालाई दिइएको थियो । जेइसनको भ्रमण टोलीमा पनि पाँच मेजर जनरल, एक सिनियर कर्र्णोल र दुई कर्र्णोलको सहभागिता रहेको थियो । त्यसको दुई साताअघि मात्र ४ मङ्सिर २०६५ मा नै मेजर जनरल आई हुजेङ पाँचदिने भ्रमणमा आउनुभएको थियो । उक्त भ्रमण टोलीलाई अध्ययन भ्रमण टोलीको नाम दिएको थियो । यसरी नेपाल भ्रमणमा आएका चिनियाँ सैन्य टोलीले नेपालमा कुनै न कुनै सैन्य सहयोग गरेका छन् । प्रवक्ता क्षेत्रीले भन्नुभयो, ‘चीनले नेपाली सेनाका लागि सञ्चारलगायतका उपकरण र विकास निर्माणका सामग्री सहयोगस्वरूप दिँदै आएको छ र अहिले आउन लागेको टोलीले पनि महत्त्वपूर्ण सहयोग गर्नेछ ।’
नेपाली र भारतीय सेनाबीच एक-अर्को मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको उपाधि दिने परम्परा छ । त्यही परम्परालाई निरन्तरता दिन गत वर्ष भारतीय सेनाप्रमुख दीपक कपुर र यस वर्ष अर्का प्रमुख विजयकुमार सिंह नेपाल आउनुभएको थियो । त्यसबाहेक भारतीय सेनाप्रमुखले नेपालको औपचारिक भ्रमण गरेका छैनन् । तर, यसबाहेक पनि भारतका अन्य सैनिक अधिकारीहरूले अनौपचारिक रूपमा नेपाल भ्रमण गर्ने गरेका छन् । ती भ्रमण अनौचपारिक हुने भएकोले गोप्यजस्तै हुने गरेको सैनिक अधिकारीको भनाइ छ । तर, चिनियाँ सैन्य अधिकारीहरूबाट निरन्तरजस्तै भएको यसप्रकारको नेपाल भ्रमणलाई भारतले भने निकै अर्थपूर्ण रूपमा लिएको एक सैनिक अधिकारीको भनाइ छ ।