अमेरिका किन त्यस्तो, नेपाल किन यस्तो ? -वीरेन्द्रमणि पौडेल

अमेरिका किन त्यस्तो, नेपाल किन यस्तो ? -वीरेन्द्रमणि पौडेल


अमेरिका † अमेरिका †† अमेरिका ††† आज संसारमा जहाँ जाऊँ सुनिन्छ अमेरिका, देखिन्छ अमेरिका, बुझिन्छ अमेरिका, किन ? आखिर किन यतिबिघ्न चर्चामा रहेको छ अमेरिका ? कसैका लागि डर भएको छ अमेरिका । कसैको लागि दुश्मन भएको छ अमेरिका । कसैका लागि दाता भएको छ अमेरिका । कसैका लागि स्वर्ग भएको छ भने कसैको लागि सुन्दर सपना भएको छ अमेरिका । आखिर के कारणले आज अमेरिका त्यति चर्चामा छ, धनी छ, शक्तिशाली छ र विश्वको राजनीतिलाई एकलौटी प्रत्यक्ष र अप्रत्यक्ष रूपले हाँकिरहन सफल भएको छ ? अमेरिका किन त्यस्तो नेपाल किन यस्तो शीर्षकलाई केन्द्रभागमा राखेर यहाँ चर्चा गरौँ ।
कुनै बेला संयुक्त राज्य अमेरिका बेलायतको उपनिवेश थियो । त्यही भूमिमा जन्मिएका मानिस नभएर अन्यत्रबाट आएका विभिन्न मानिसको बसोबासद्वारा अमेरिका एक देशको रूपमा विकसित भयो । प्रारम्भमा अमेरिका सामाजिक, आर्थिक र राजनीतिक रूपले सक्षम थिएन । अठारौँ शताब्दीको अन्त्यतिर आएपछि अमेरिकीहरूले आर्थिकको बलमा भौतिक प्रगति नगरीकन मुलुक अगाडि बढ्न नसक्ने यथार्थ पत्ता लगाए । त्यसका लागि पहिलो र्सत उत्पादन र उत्पादित वस्तु खपत, त्यसका लागि आन्तरिक र बाह्य बजार विस्तार भन्ने मूल मन्त्र पत्ता लगाए । त्यसैअनुरूप नीति बनाए र निर्माण गरिएको नीतिलाई पूर्णरूपले कार्यान्वयन गर्न प्रतिबद्ध भए । यतिबेला निकै बाठा, चतुर र मिहिनेती कहलिएका अमेरिकीहरूले उत्पादनलाई पहिलो प्राथमिकता दिएअनुरूप सबैभन्दा पहिले अन्न उत्पादनलाई पहिलो प्राथमिकता दिए । सोअनुरूप विश्वका सबै मुलुकमध्ये एक नम्बरमा मकै उत्पादक राष्ट्रको रूपमा चिनिए । युरोप र अन्य छेउछाउका मुलुकहरूमा समेत टनका टन मकै निर्यात गर्न सफल भए । भटमास र जौ पनि त्यही अनुपातमा उत्पादन गरे । अमेरिकीहरूले विभिन्न आकार-प्रकारका हवाईजहाज उत्पादन गरे । यात्रुबाहक जेट-विमान, लडाकु-विमान, सामग्री ओसारपसारका लागि र युद्ध प्रयोजनका लागि हेलिकोप्टर उत्पादन गरे । विश्वभरि निर्यात गरे । संसारका कुनाकाप्चाबाट धन बटुल्न सफल भए अमेरिकीहरू । अमेरिकी अर्को उत्पादन रह्यो लोकप्रिय पेय पदार्थ कोकाकोला । अमेरिकामा उत्पादन भएको कोकाकोला संसारभरि फैलियो । कोकाकोला बिक्रीबाट अमेरिकाले संसारका हरेक मुलुकबाट धन बटुल्यो । हवाईजहाज र कोकाकोलापछि अमेरिकाले कम्प्युटर उत्पादन गर्‍यो र संसारका सबै मुलुकमा निर्यात गर्‍यो । कम्प्युटरको सहायताले संसार नयाँ र सजिलो ढङ्गले चल्न त सफल भयो साथसाथै अमेरिकामा धन जम्मासमेत हुन सक्यो । विश्वबजारमा हिजो आज पनि डरलाग्दो किसिमले खपत भइरहेको अमेरिकी अर्को उत्पादन हो विभिन्न नाम र आकारका अत्याधुनिक हतियार । अमेरिकाले लडाकु प्लेन, बन्दुक, बम, ट्याङ्क, रकेटलगायतका यस्ता अत्याधुनिक हतियारहरू निरन्तर निर्माण गरिरहेको छ र जुन-जुन राष्ट्रले युद्ध प्रयोजनका लागि खरिद गर्न चाहन्छन् उनीहरूलाई बिक्री गरिरहेको छ । हतियार बिक्रीबाट समेत अमेरिकाले राम्रो आम्दानी गरेको छ । यसरी हवाईजहाज, कोकाकोला, कम्प्युटर, हतियार गरी मुख्य चारवटा आर्थिक पखेटाबाट अमेरिका प्रगतिको मार्गमा अति नै चर्को रफ्तारमा संसारभरि उडिरहेको छ । यसको अतिरिक्त अमेरिकाले एउटा अति नै महत्त्वपूर्ण र उसका लागि फाइदा हुने सूत्र लागू गरेको छ । त्यो सूत्र हो खुवीवान मानव आयात । अमेरिकाले संसारभरिबाट विभिन्न विषयमा विशेषज्ञता हासिल गरेका मानिसहरूलाई उपल्लो स्तरको सुविधा दिएर आफ्नो राष्ट्रमा राख्ने योजना बनायो । योजनाअनुरूप विश्वका वैज्ञानिक, डाक्टर, इन्जिनियर, कृषि विशेषज्ञलगायत विभिन्न क्षेत्रका योग्य प्राविधिकहरूलाई आफ्नो देशमा सुविधा र सम्मान दिएर राख्यो । यस्ता विभिन्न क्षेत्रका प्राविधिकहरूले अमेरिकाको उत्पादनलगायत विभिन्न क्षेत्रमा अमेरिकालाई अगाडि बढाउन मद्दत गरे । उल्लिखित कारणहरूबाट अमेरिका आर्थिक रूपले सम्पन्न भयो । अर्कोतर्फ अमेरिकीहरूले कानुनी शासनको पूर्णरूपले पालना गरे । हरेक नागरिकले कानुनको पालना गर्ने र पालना नगर्ने जोकोही सजायको भागीदार बन्नुपर्ने स्थिति सिर्जना गरे ।
अमेरिकाले आफ्ना नागरिकलाई यतिबिघ्न सुविधा दियो कि जनताले तिरेको करमा केही थपेर सुविधा दियो । असुविधा भएमा क्षतिपूर्तिको व्यवस्था गरिदियो । अमेरिकी जनताले समयको महत्त्वलाई राम्रैसँग बुझे । कुन काम कहिले कति समयभित्र सिध्याउनुपर्छ हिसाब गरेर मात्रै गरे । काम गर्नुलाई अमेरिकी जनताले कर्तव्य बुझे । हरेक मानिसले भोकलाग्दा खान पाउनुपर्छ । रोगलाग्दा औषधिउपचार पाउनुपर्छ र सुत्नका लागि आवास सुविधा पाउनुपर्छ भन्ने आधारभूत मानवाधिकारको पूर्णरूपले पालना गर्ने संस्कारको विकास गरेे । आम्दानी र खर्चको सन्तुलन मिलाउन सिके, जाने । धनको सदुपयोग गर्न जान्दा सामाजिक जीवन पूर्णरूपले सफल बनाउन सके । इमानदार व्यवहार गर्नु, बोलेको वचन पूरा गर्नु उनीहरूको खास विशेषता बन्न गयो । आफ्नो कर्तव्यपालन गर्ने अरूको रिस डाह नगर्ने, अनावश्यक चासो नलिने संस्कारमा अमेरिकीहरू हर्ुर्किए । यी सबैको अतिरिक्त अमेरिकी राजनीतिज्ञहरू राष्ट्रप्रति अति नै इमानदार भए । सीमित मानिसहरू राजनीतिमा संलग्न भए । कर्मचारीले राजनीतिमा कहिल्यै संलग्नता नदेखाउने अघोषित कानुन बन्यो । जसको जे परिचय छ त्यहीअनुरूप काम गर्ने परिपाटी विकास भयो । प्रहरीले शान्ति सुरक्षा कायम गर्छ । विद्यार्थी पढ्छ । चालकले आफ्नो काम गर्छ अरूको काममा हस्तक्षेप गर्दैन । यस्ता तमाम गतिविधि अमेरिकी नागरिकहरूले गरिरहेका छन् जसको कारण आज विश्वमा अमेरिकाको चर्चा व्यापक भएको छ । अमेरिका यतिबिघ्न शक्तिशाली भएको छ, धनी भएको छ जुन धर्तीमा हरेक देशका मानिस कम्तीमा एकपटक पाइला टेक्न चाहन्छन् । धेरै मानिसको चाहना र सपना त त्यही माटोमा बसेर जीवन बिताउनेसम्मको भएको छ । अब चर्चा गरौँ नेपाल किन यस्तो ?
अमेरिकाको तुलनामा १,४७,१८१ वर्गकिलोमिटर मात्रै क्षेत्रफल भएको नेपालले उसको जस्तो विभिन्नखाले उत्पादनमार्फत विकास नीति लागू गर्न सकेन मात्रै होइन भौतिक विकासका लागि आवश्यक पूर्वाधारसमेत खडा गर्न सकेन । नेपालमा कृषियोग्य जमिनमार्फत सबै खालको उपाय अपनाएर धान, मकै, गहुँ उत्पादन गर्न सकिन्थ्यो । जनसङ्ख्या वृद्धिलाई कानुनी रूपमै नियन्त्रण गर्न सकिन्थ्यो र मुलुकभित्रका जनतालाई पालनपोषणको व्यवस्था गरेर बाँकी रहेको अन्न विदेशमा निर्यात गर्न सकिन्थ्यो । नेपालमा यो उपाय अपनाइएन । खेतीयोग्य जमिनमा घर निर्माण कार्यलाई तीव्रता दिइयो । खेतीयोग्य जमिन क्रमिक रूपमा घटाइयो । कृषि पेसामा लागेकाहरूलाई सम्मान दिइएन मात्रै होइन अपमानै गरियो । कृषिमार्फत मुलुक अगाडि बढ्न सक्ने अवस्थालाई सम्पूर्ण रूपले छेकबार लगाइयो । पछिल्ला दिनमा सरकारी तवरबाटै साउदी अरेबियाले दस किलोमिटर लम्बाइ र त्यहीबराबरको चौडाइ भएको खेतीयोग्य जमिन नेपाल सरकारसँग ठेक्कामा माग्यो । कर तिर्ने, नेपालीलाई रोजगारी दिने, सस्तोमा नेपाललाई उत्पादित अन्न दिने र त्यसपछि मात्रै अन्य देशमा निर्यात गरी नाफा कमाउने प्रस्ताव थियो । के कारणले दिएन नेपाल सरकार आफैं जानोस्, तर त्यो प्रस्ताव नेपालले स्वीकार गरेको भए धेरै हदसम्म नेपाल लाभान्वित हुने थियो । यो मौका गुम्यो । नेपालले पर्यटन व्यवसायलाई प्राथमिकता दिएर आर्थिक उन्नति गर्न सक्थ्यो । नेपालका मन्दिरहरू, विभिन्न स्थानमा रहेका तालहरू, नदीहरू, हिमाल र जङ्गली जनावरहरूलाई कमाइको स्रोत बनाउन सकिन्थ्यो । यसतर्फ कसैको ध्यान गएन । संरक्षण अभावका कारण तालहरू सुक्न थाले । मन्दिरहरू जीर्णोद्धारसम्म पनि गरिएनन् । जङ्गली जनावर संरक्षण गर्न सकिएन । धर्तीबाट लोप हुने अवस्थामा पुगिसकेको एकसिङ्गे गैंडा प्रदर्शनीबाट पनि मनग्गे धन कमाउन सकिन्थ्यो । तस्करहरूले गैंडा मारेर सिध्याउन लागे तैपनि नेपाल सरकार मौनधारण गरेर बस्यो । हिमाल देखाएर मात्रै पनि नेपालले ठूलो धनराशि आर्जन गर्न सक्थ्यो तर यसतर्फ पनि कसैको ध्यान गएन । सिर्फझारा टार्ने काम मात्रै गरियो । संसारका अन्य मुलुकहरूमध्ये कुनै मुलुकमा जङ्गल धेरै छ । कुनै देशमा पानी मात्रै छ । कतै मरुभूमि मात्रै छ । कतै घाँसेमैदानमात्रै छ । तर, संसारमा नेपालमात्रै एउटा यस्तो देश हो जहाँ जङ्ल, पानी, हिमाल, खेतीयोग्य जमिन, विभिन्न जातका जनावर र चराचुरुङ्गी छन् । व्यवस्थापन गर्न सके संसारमा नेपालजत्तिको सुन्दर देश अरू हुनै सक्तैन । तर दुर्भाग्य † प्रकृतिले नेपाललाई सुन्दर र सबै कुरामा धनी बनाइदियो तर हामी नेपालीले खुवी प्रदर्शन गर्न सकेनौँ । नेपाललाई न सुन्दर बनाउन सक्यौँ न त धनी हुन सक्यौँ । सबैभन्दा कमजोरी पक्ष नेपालको राजनीतिमा देखियो । राजनीतिक नेतृत्वमा दूरदर्शिता देखिएन । नेपाली नागरिकले आम्दानी र खर्चको व्यवस्थापन ठीक ढङ्गले गर्न सकेनन् । कति कमाउने, केका लागि कमाउने, खर्च कति गर्ने, कसरी गर्ने भन्ने तालमेल मिलाउनै सकेनन् । अरूको रिस गर्नु एकप्रकारको राष्ट्रिय चरित्रजस्तै महसुस गरियो । काम नगरेर बसी-बसी वा सुती-सुती खान पाउनुलाई सुखी र भाग्यमानी भनी व्याख्या गरियो । त्यसैलाई बहुसङ्ख्यक नेपालीले पत्याए । लोभ गर्न हुँदैन भन्ने किताबमा पढाउने गरियो तर व्यवहारमा ठीक त्यसको उल्टो गरियो । एकता नभई विकास हुन सक्दैन । शान्ति हुन सक्दैन । तर दुर्भाग्य † एउटा घरको दाजुभाइबीच एकता छैन । दिदीबहिनीबीच एकता छैन । डाक्टर-डाक्टरबीच, शिक्षक-शिक्षकबीच, राजनीतिक दलभित्रका नेता-नेताबीच मात्रै होइन हरेक पक्ष र व्यक्ति-व्यक्तिबीच एकता छैन नेपालमा । यतिले नपुगेर बनाउनभन्दा भत्काउन सजिलो र रमाइलो मान्ने नेपाली चरित्र देखियो । राजनीतिज्ञहरू सबै बेइमान नभए पनि बहुमत बेइमानजस्ता महसुस गरिए । कानुनको पालना शक्तिशालीहरूले गरेनन् । शक्तिशालीलाई कानुनले नछुने र कमजोरलाई कानुनको फन्दामा पार्ने स्थिति खडा गरियो । देश र जनताका लागि अत्यावश्यक प्राविधिक र अन्य खालका बौद्धिक नागरिकहरूलाई मुलुकभित्र बस्न सक्ने वातावरण सिर्जना गर्न नसक्दा महत्त्वपूर्ण र अत्यावश्यक नागरिक विदेश पलायन भए । खुवी भएकाहरू बिदेसिने, कमजोर, मूर्ख, बालबालिका र वृद्धवृद्धाको सङ्ख्या मात्र स्वदेशमा रहने स्थिति देखापर्‍यो । यसबाट पनि मुलुकलाई धक्का पुग्यो । यी सबैको अतिरिक्त संसारमा शासन चल्छ धर्मको आडमा वा कानुनको आडमा । तर, नेपालमा न त धर्म वा नैतिकताको आधारमा शासन चल्यो न कानुनको आधारमा । यसरी आज नेपाल संसारमा प्रकृतिले सबै चिज दिएर पनि हरेक कोणबाट कङ्कालको कङ्कालै भएको छ । अमेरिका प्राकृतिक रूपले नेपालजस्तो सुन्दर र सक्षम नभए पनि त्यहाँका मानिस नै आज योग्य र दूरदर्शी सावित भए । अमेरिकीहरूले अरूको राम्रो कामकुराको सिको गरे । हामी नेपालीले अन्यत्रबाट राम्रोभन्दा नराम्रो र नकारात्मक कुरामात्रै सिक्यौँ । त्यसैको परिणाम हो भन्न सकिन्छ आज अमेरिका त्यस्तो सक्षम हाम्रो नेपाल यस्तो कमजोर, अस्तव्यस्त, ख्याउटे र असक्षम ।