समाजवादी र साम्यवादीमा यस्तो छ भिन्नता

समाजवादी र साम्यवादीमा यस्तो छ भिन्नता


– डा. शोभाकर पराजुली

समाजवादीहरू र साम्यवादीहरूमा रहेको एउटा भिन्नता भनेको राजनीतिक भिन्नता हो । मानिसलाई विवेकशील बनाउने कि पशुजस्तो बन्ने कुराको निर्धारण त्यसले नै गर्दछ । साम्यवादीहरू ‘हामी राम्रो गर्दछौँ, अरू शोषक–सामन्त हुन्’ भन्दछन् र अरूले आफूले भन्दा राम्रो नगर्ने हुँदा अरू विचारलाई निषेध गर्नुपर्छ भन्ने वकालत गर्छन् । अर्काेतर्फ समाजवादीहरूचाहिँ आफूले राम्रो गर्ने, तर आफूभन्दा राम्रो गर्छु भन्ने कुनै अरू छ भने त्यो मौका दिइनुपर्छ, जनताको निर्णयको आधारमा राम्रो गर्छु भन्नेले काम गर्न पाउनुपर्छ भन्ने मान्यता राख्छन् ।

अर्थात्, कम्युनिस्टहरू ‘राम्रो गर्दछौँँ’ भन्छन् तर राम्रो नगरेमा पनि आफू हट्न चाहँदैनन्, उनीहरूलाई हटाउन पाइँदैन । अर्कोतर्फ समाजवादीहरू ‘राम्रो गर्दछौँ’ भन्छन् । सँगसँगै, यदि नराम्रो गरेको अवस्थामा हामीलाई जनताले मतको माध्यमद्वारा हटाएर राम्रो गर्नेलाई ल्याउन पाउनुपर्छ भनी खुलस्त भन्छन् । यसर्थ, समाजवादीहरू प्रस्ट छन् । समाजवादीको विचारमा जनताप्रति आस्था छ । कम्युनिस्टहरू चर्का नारा लगाएर, जनतालाई झुक्याएर सत्तामा जान चाहन्छन् र सत्तामा गएपछि नराम्रो काम गरेमा पनि सत्ताबाट हट्न चाहँदैनन् भन्ने देखिन्छ । यति मात्र हामीले बुझेर प्रस्ट हुन सकेमा पनि हामी सम्भावित पीडाबाट बच्न सक्दछौँ ।

समाजवादीहरू भन्दछन् कि जनताले विवेकशील भएर राजनीतिक निर्णय गर्नुपर्छ । उनीहरूले स्वतन्त्र रूपमा निर्णय गरेपछि पनि चुनावमा पठाएकाहरूले गल्ती गरे भने तिनलाई फेरि मतको माध्यमबाट नै फाल्न पाउनुपर्छ । साथीहरूले यो प्रस्ट भन्न सक्नुपर्छ कि जनताले नराम्रोलाई भन्दा राम्रोलाई छान्ने सम्भावना बढी हुन्छ । जनतालाई ठग्न पनि नराम्रोलाई बढी गाह्रो हुन्छ । ठगे पनि पुनः चुनाव हुँदा जनता सचेत भएर उसलाई हटाउन सक्छन् ।

समाजवादीहरू कहिल्यै पनि जनताको सेवकभन्दा बढी हुन सक्दैनन् । गल्ती गरेमा पनि दलको सदस्यता खुला हुने हुँदा गरिब र जनताको हित गर्नेहरूले समाजवादी दलको सदस्य बनाएर भ्रष्टलाई हटाएर इमानदारहरूको जमातको रूपमा यसलाई विकसित गर्न सकिन्छ । तर कम्युनिस्ट व्यवस्थामा एकदलीय व्यवस्था हुने हुँदा नेताको विरोध गर्नुभन्दा ठूलो अपराध केही पनि हुँदैन ।

समाजवादीहरू कहिल्यै पनि जनताको सेवकभन्दा बढी हुन सक्दैनन् । गल्ती गरेमा पनि दलको सदस्यता खुला हुने हुँदा गरिब र जनताको हित गर्नेहरूले समाजवादी दलको सदस्य बनाएर भ्रष्टलाई हटाएर इमानदारहरूको जमातको रूपमा यसलाई विकसित गर्न सकिन्छ । तर कम्युनिस्ट व्यवस्थामा एकदलीय व्यवस्था हुने हुँदा नेताको विरोध गर्नुभन्दा ठूलो अपराध केही पनि हुँदैन । उनीहरूलाई हटाउनु भनेको असम्भव नै हुन्छ ।

समाजवादीहरू र साम्यवादीहरूमा भएको यो भिन्नताले समाजवादीहरूले जनतालाई मालिक मान्ने र साम्यवादीले जनतालाई आफ्नो विचारलाई स्वतन्त्र रूपमा प्रस्तुत गर्न नपाउने दास मान्दछन् भन्ने प्रस्ट नै देखिन्छ ।

कम्युनिस्टहरूमा पार्टीको नाममा केन्द्रीय समितिको, केन्द्रीय समितिको नाममा पोलिटब्युरोको, पोलिटब्युरोको नाममा महासचिव वा अध्यक्षको अधिनायकत्व लाद्ने परम्परा रहेको छ । यसप्रकार कम्युनिस्ट व्यवस्था जनताको व्यवस्था त हुँदै होइन बरु कम्युनिस्टहरूमध्ये पनि देशको सबैभन्दा ठूलो पदमा रहेको नेताको इच्छानुसार चल्ने स्वेच्छाचारी व्यवस्था हो । नेपालजस्ता देशमा कम्युनिस्टहरूले देखाएको लोकतान्त्रिक चरित्र जनता ठग्ने ढोंग मात्र हो भन्ने तथ्य विश्वमा कम्युनिस्ट व्यवस्था स्थापना भएको देशमा कम्युनिस्टहरूले देखाएका व्यवहारबाट प्रस्ट हुन्छ ।

लेनिन र माओ दुवैले भनेका छन् कि मानिसबाट गल्ती हुन्छन्, गल्ती त काम नगर्नेहरूबाट मात्र हुँदैनन् । सुन्दा यो सत्य र मीठो पनि सुनिन्छ । तर, यदि काम गर्नेहरूबाट गल्ती हुन्छ भनी स्वीकार गरिसकेपछि गल्ती गरेमा सुधार गर्ने र त्यसको सजाय पनि पाउने परिपाटी हुन आवश्यक छ, जुन लेकतन्त्रमा मात्र सम्भव हुन्छ । यसकारणले लोकतन्त्रले मात्र गल्ती गर्नेलाई सजिलैसँग हटाउने र सच्याउने अवसर दिन्छ ।

त्यसकारण सिद्धान्त ठीक भएपछि दलले पनि ठीक काम गर्ने सम्भावना बढी हुन्छ । दल भनेको मानिसको समूह हो । मानिसले गल्ती गरेमा लेकतन्त्रमा तिनलाई हटाउन सकिन्छ । उनीहरूको ठाउँमा आफूहरू गएर उनीहरूले गरेका गल्ती सुधार्न सकिन्छ । त्यसो पनि हुन नसके लेकतन्त्रको माध्यमबाट समाजवाद ल्याउने अर्को दललाई साथ दिन सकिन्छ वा दल बनाउन पनि सकिन्छ ।

कम्युनिस्टहरू हामी पनि लोकतन्त्रवादी हौँ भन्छन्, अझ सर्वहारा र पीडितहरूको लोकतन्त्र चाहने हौँ भन्छन् । कम्युनिस्टहरूको लोकतन्त्र वास्तवमा लोकतन्त्र होइन । उनीहरू सर्वहाराको अधिनायकवाद भन्छन् । त्यो लोकतन्त्र हुनै सक्दैन । अधिनायकवाद लोकतन्त्र होइन ।

कम्युनिस्टहरू हामी पनि लोकतन्त्रवादी हौँ भन्छन्, अझ सर्वहारा र पीडितहरूको लोकतन्त्र चाहने हौँ भन्छन् । कम्युनिस्टहरूको लोकतन्त्र वास्तवमा लोकतन्त्र होइन । उनीहरू सर्वहाराको अधिनायकवाद भन्छन् । त्यो लोकतन्त्र हुनै सक्दैन । अधिनायकवाद लोकतन्त्र होइन । उनीहरू गरिबको लोकतन्त्र भन्छन् । राष्ट्रवादीहरूको लोकतन्त्र भन्छन् । यो सबै झुटा नारा हो । लोकतन्त्रका विश्वव्यापी मान्यताहरू छन् । त्यसमा विशेषतः जनतालाई विभिन्न विचारहरूमध्ये राम्रो लागेकोलाई स्वतन्त्र रूपमा छान्ने अधिकार हुन्छ । कम्युनिस्ट व्यवस्थामा त्यो छान्ने अधिकार नै हुँदैन । उनीहरू गरिबको लोकतन्त्र तथा सर्वहाराको लोकतन्त्र भन्छन् । तर, कुन सर्वहाराको हित गर्ने भन्ने छान्ने कसले ? उनीहरूका अनुसार उनीहरूले नै छान्ने हो भने आफूलाई राम्रो त हत्यारा र चोरले पनि भन्दछ । जनताले छान्न पाउने हो भने उनीहरूलाई स्वतन्त्र रूपमा छान्ने अधिकार हुनुपर्छ ।

लक्ष्य राम्रो हुनु सबैभन्दा महत्वपूर्ण हो । लक्ष्य पूरा गर्न सिद्धान्त राम्रो हुनुपर्छ । सिद्धान्त राम्रो भएर मात्र पनि हुँदैन । माध्यम नराम्रो भएको अवस्थामा हामी ग्लोबमा कमिला घुमेकोजस्तो गरेर एकै ठाउँमा घुमिरहेका हुन सक्दछौँ । उत्तर कोरिया र क्युवा अहिले त्यही अवस्थामा छन् । अझ त्यो भनेको प्रतिगमन पनि हो, किनभने हिँडिरहँदा श्रम खर्च हुन्छ, फाइदा हुँदैन । विकासमा लाग्ने श्रम बेकारमा खर्च भएको हुन्छ ।

बहुदलीय व्यवस्था मान्ने भएपछि एकदलीय कम्युनिस्ट व्यवस्थामा जस्तो दलले गल्ती गरेमा पनि जनतालाई ठूलो घाटा हुँदैन किनभने जनताले त्यो दललाई अस्वीकार गर्न सक्छन् । दलको सिद्धान्त ठीक भएमा दलमा इमानदारहरू प्रवेश गरेर गल्ती गर्नेहरूलाई हटाउन सक्छन् । गलत कार्यलाई सजिलैसँग सुधार्न सक्नु महत्वपूर्ण हो । गल्तीलाई सुधार्न पाउने भएपछि गल्ती पनि जानेर गर्ने कार्य हुँदैन र त्यति मात्र होइन, राम्रो र गरिबको हित गर्दछौँ भन्नेले गरेन भने त्यसलाई उनीहरूले समयसमयमा मत दिएर हटाउन पाउनुपर्छ । त्यसका लागि लोकतन्त्र चाहिन्छ । बहुदलीय व्यवस्था चाहिन्छ । यस अर्थमा बहुदलीय व्यवस्था जनताको व्यवस्था र गरिब जनताको व्यवस्था हो, जहाँ परिणाम राम्रो हुन्छ, नराम्रो भएमा पनि सजिलै सुधार्न सकिन्छ ।